बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलाली –५ : कांग्रेसले आरजु रोज्दा एमालेले कसलाई उठाउने गर्दै छ तयारी ?

बिहीबार, २५ मङ्सिर २०८२, १२ : ५४
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • कैलाली क्षेत्र नम्बर ५ मा आगामी निर्वाचनका लागि विभिन्न दलहरूले उम्मेदवार छान्ने कसरत गर्दैछन्।
  • नेपाली कांग्रेसबाट आरजु राणा र एमालेबाट नारदमुनि रानाको चर्चा चलेको छ, तर टुंगो लागेको छैन।
  • एमालेभित्र आधा दर्जनभन्दा बढी नेताहरू उम्मेदवारका लागि आकांक्षी देखिएका छन्, प्रतिस्पर्धा तीव्र छ।

धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कैलाली क्षेत्र नम्बर ५ मा कुन दलले कसलाई उम्मेदवार बनाउला भन्ने चासो अहिले बढेको छ ।

यहाँ सम्भवतः २०७४ सालका उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसबाट आरजु राणा र एमालेबाट नारदमुनि रानाले प्रतिस्पर्धा गर्ने चर्चा पनि चलेको छ, तर उम्मेदवारको टुंगो भने लागेको छैन ।

जेनजी समूहबाट यहाँ नयाँ अनुहार देखिने सम्भावना पनि उत्तिकै छ । 

नेपाली कांग्रेसले यहाँ उम्मेदवारका लागि आरजु राणासहितको नाम सिफारिस गरेको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टीले नयाँ अनुहारलाई अघि सार्ने संकेत दिएको छ । पार्टीले यहाँ नरबहादुर शाह (निर्मल) लाई उम्मेदवार बनाउने चर्चा छ । यसैगरी एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने चर्चा छ । 

उम्मेदवारका लागि एमालेबाट आधा दर्जनभन्दा बढी नेताहरू आकांक्षी देखिएका छन् । स्रोतका अनुसार एमालेबाट पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री नारदमुनि राना, एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्द, प्रदेश सचिवालय सदस्य नेपालु चौधरी, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना तथा हालका प्रदेशसभा सदस्य धर्मराज पाठक उम्मेदवारको लाइनमा छन् । 

यीमध्ये रानाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसकी आरजु राणा देउवालाई पराजित गर्दै जित दर्ता गराएका थिए । त्यसपछि उनी वन तथा वातावरण मन्त्रीसमेत बने । २०७९ को निर्वाचनमा भने उनी कांग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका थिए । यसअघि २०६४ सालमा समानुपातिक सांसद बनेका राना धनगढी नगरपालिकाका पूर्व उपमेयरसमेत हुन् । अनुभव र संगठनात्मक आधारका कारण यसपटक पनि उनलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । 

यस्तै एमाले प्रदेश कमिटी सचिव रहेका रणबहादुर चन्दलाई एमालेभित्र सालिन, भद्र र सबैसँग समन्वय गर्न सक्ने नेताका रूपमा चिनिन्छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजय भोगेका थिए । तर पार्टीभित्र उनको संगठनात्मक पकड र सामाजिक सम्बन्ध राम्रो रहेको नेताहरू बताउँछन् । यसकारण पनि उनी यसपटक प्रतिनिधिसभाको टिकट पाउने दौडमा अगाडि छन् । 

प्रदेश सचिवालय सदस्य नेपालु चौधरी पनि प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चामा छन् । उनी २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ मा पराजित बने । कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा २ बाट उनी सो बेला निर्वाचित भएका थिए । पार्टी संगठनमा लामो अनुभव भएका चौधरी पुनः संघीय राजनीतिमा फर्किने तयारीमा रहेको बताइन्छ । 

कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना जनाधार राम्रो भएका नेताका रूपमा चिनिन्छन् । सबै क्षेत्र र समुदायसँग राम्रो सम्बन्ध बनाएका ढुंगाना संगठन विस्तारमा सक्रिय छन् । यसकारण एमालेभित्र उनी पनि बलियो उम्मेदवारका रूपमा हेरिन थालेका छन् । 

हाल प्रदेशसभा सदस्य रहेका धर्मराज पाठकको नाम पनि संघीय निर्वाचनका लागि चर्चामा आएको छ । यद्यपि उनको प्रदेशसभा कार्यकाल अझै बाँकी रहेकाले उनले हालसम्म औपचारिक रूपमा संघीय निर्वाचन लड्ने वा नलड्ने स्पष्ट गरेका छैनन् । तर पार्टीबाट टिकट निश्चित भए उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिन सक्ने स्रोतको दाबी छ । 

एमालेभित्र कैलाली क्षेत्र नम्बर ५ को टिकटका लागि आन्तरिक प्रतिस्पर्धा दिन प्रतिदिन तीव्र बन्दै गएको छ । एकातिर अनुभवी नेताहरू पुनः अवसर खोजिरहेका छन् भने अर्कोतर्फ संगठनमा सक्रिय नेताहरूले नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वले स्थानीय संगठन, चुनावी सम्भावना, जनआधार र विगतको परिणामलाई आधार मानेर टिकट वितरण गर्ने बताइएको छ । युवा पक्ष भने पार्टीले पुरानै अनुहार दोहोर्‍याउन खोजेको भन्दै असन्तुष्ट देखिएको छ । अहिले देशको अवस्था अनुसार पार्टीले जेनजी पुस्तालाई अवसर दिए पनि केही बिग्रने थिएन भन्ने तर्क उनीहरूको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप