ओलीको टिप्पणी : सुशीला सरकार नाग पञ्चमीमा गोबरले टाँसेको नागको फोटो जस्तै हो
सारांश
- केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा सर्वसम्मत नेतृत्वको पक्षमा रहेको बताए।
- ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारीलाई रोक्न नचाहेको र स्वस्थ प्रतिस्पर्धाको स्वागत गर्ने बताए।
- ओलीले वर्तमान सरकारको आलोचना गर्दै आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनबाट आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा सम्पादकहरूसँग गरेको अन्तर्क्रियामा उनले सर्वसम्मत नेतृत्वको प्रयास गर्नु लोकतान्त्रिक अभ्यास विपरीत नहुने बताए ।
'हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो। सर्वसम्मतको प्रयास गर्नु लोकतान्त्रिक अभ्यास विपरीत होइन,’ ओलीले भने, 'तर सहमति भएन भने र प्रतिनिधिहरूले इच्छा गरेनन् भने म पनि हट्नुपर्ने हुन सक्छ। म थपिनेमा पर्दिनँ, निर्वाचित हुनेमा पर्छु।’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेको सन्दर्भमा ओलीले कसैको उम्मेदवारीलाई रोक्न वा दबाब दिन नचाहेको स्पष्ट पारे। 'सहमति भनेको करकाप होइन। कसैले म लड्छु भन्छ भने उसलाई रोक्ने कुरा भएन। लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धालाई म स्वागत गर्छु,’ उनले भने ।
पार्टी विभाजनका बेला माधव नेपालको साथ छाडेर एमालेमै रहेका (१० बुँदे सहमति पक्षधर) नेताहरूप्रति ओली अलि नरम तर व्यङ्ग्यात्मक रूपमा प्रस्तुत भए। उनले ती नेताहरूलाई पार्टीमा कुनै भेदभाव नगरिने तर उनीहरूको स्थान महाधिवेशनका प्रतिनिधिले निर्धारण गर्ने बताए ।
'उहाँहरू एमाले नै हुनुहुन्छ। पार्टीको विधान र प्रक्रिया अनुसार उहाँहरूले पनि आफ्नो दाबी प्रस्तुत गर्न सक्नुहुन्छ,’ ओलीले भने, 'तर, बाहिर–बाहिर उम्मेदवारी घोषणा गरेर मात्र हुँदैन, हलमा आएर प्रतिनिधिहरूको मन जित्न सक्नुपर्यो।’
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार र गठबन्धनप्रति कडा आक्रोश पोखे। जेनजी विद्रोहपछि बनेको सरकारले देशलाई सङ्कटतर्फ धकेलेको उनले आरोप लगाए ।
सरकारको आलोचना गर्दै ओलीले भने, 'यो सरकार त नाग पञ्चमीमा गोबरले टाँसेको नागको फोटो जस्तै हो। कसले ल्याएर टाँसिदियो, थाहा छैन तर यसको कुनै भविष्य छैन ।’
पार्टी विभाजनपछि एमाले कमजोर भयो भन्ने विश्लेषणलाई ओलीले अस्वीकार गरे। उनले आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।
'फुटेर गएका केही तत्त्वहरूले एमाले सकियो भनेर हल्ला फिँजाएका छन्। तर एमाले सूर्य ग्रहण लागे जस्तो एकछिन छायामा परेको मात्र हो, भोलि फेरि उज्यालो भएर आउँछ,’ ओलीले भने। उनले देशभर एमालेको जनलहर देखिएको र अन्य पार्टीहरू एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा पुगेको दाबी गरे ।
छिमेकी मुलुकहरूसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा ओलीले एमालेको नीति राष्ट्रिय हित र असंलग्नतामा आधारित रहेको बताए ।
उनले वर्तमान सरकारले परराष्ट्र नीतिमा असन्तुलन ल्याएको आरोप लगाउँदै एमालेले सधैँ भारत र चीन दुवैसँग सन्तुलित र मित्रवत् सम्बन्ध राख्ने प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण