बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन एमाले भक्तपुरको अपिल

शुक्रबार, २६ मङ्सिर २०८२, १७ : १९
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • भक्तपुरमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनको लागि सार्वजनिक अपिल जारी गरिएको छ।
  • महाधिवेशनमा देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक आउने भएकाले सवारी चाप बढ्ने अनुमान गरिएको छ।
  • अध्यक्ष देउजाले महाधिवेशन देश निर्माणको साझा अभियान भएको र भक्तपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

भक्तपुर । नेकपा एमाले भक्तपुरले भोलि उद्घाटन हुने ११ औँ राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक रूपमा अपिल गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमाले भक्तपुरले अपिल गरेको हो ।

पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको छ। नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्गठन, युवायुवती तथा जेनजी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। 

जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ। विशेषगरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। 

यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।

शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि जिल्लाको अपिलमा उल्लेख गरिएको छ। महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेको लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ।

अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभुसा र सम्पदालाई झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा गरिएको छ।

597986210_2292427914516484_7715191275462694997_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप