कांग्रेसको 'जय नेपाल' : विकास कि सिद्धान्त ?
सारांश
- नेपाली कांग्रेसको अभिवादन 'जय नेपाल' को प्रयोग र यसको ऐतिहासिक महत्वबारे चर्चा गरिएको छ।
- लेखमा 'जय नेपाल' नाराको उत्पत्ति, विभिन्न राजनीतिक घटनाक्रम र विकासका लागि यसको महत्वलाई जोड दिइएको छ।
- विकास र एकताको आवश्यकतामा जोड दिँदै, 'जय नेपाल' लाई बिर्सनु नहुने र कार्यान्वयनमा जोड दिनुपर्ने कुरा उल्लेख छ।
‘जय नेपाल !’
यो शब्द नेपाली कांग्रेसको अभिवादनमा प्रयोग हुन्छ । नेपाली कांग्रेसमा इतिहासदेखि वर्तमानसम्म यो अभिवादन प्रयोग हुँदै आएको छ र अहिलेसम्मको स्थितिमा भविष्यमा पनि 'जय नेपाल' नै प्रयोग हुने देखिन्छ ।
वास्तवमा अभिवादनको नारालाई बहसको विषय बनाएर सिद्धान्तमा मात्र जोड दिने कि, नेपालको 'जय' अर्थात् नेपाललाई राम्रो बनाउन विकासमा केन्द्रित हुने ? भन्ने प्रश्न अहिले समाजमा उठेको छ ।
‘फेरि देश उठ्ने छ, हामी उठाउने छौँ ! आउनुस्, सँगै सङ्कल्प गरौँ !!’ भन्ने भावनालाई मूर्तरूप दिन ‘जय नेपाल’ को उत्पत्तिसँगै नेपाली कांग्रेसले यसलाई प्रयोगमा ल्याएको इतिहास र सिद्धान्तको बहसलाई कहिल्यै बिर्सनु हुँदैन । इतिहास पल्टाउँदा, ‘जय नेपाल’ शब्द राणा शासनविरुद्ध उत्रिएका सहिद शुक्रराज शास्त्रीले वि.सं. १९९७ सालमा फाँसी दिने क्रममा आफ्नो अन्तिम इच्छा व्यक्त गर्दा प्रयोग गरेका थिए । फाँसीको सजाय पाउनुअघि पनि उनी साथीभाइसँग भेट्दा र छुट्टिँदा ‘जय नेपाल’ शब्द नै प्रयोग गर्थे ।
वि.सं. १९७४ जेठ १८ गते पृथ्वीमा पाइला टेकेका गद्यकवि गोपालप्रसाद रिमाल पनि ‘जय नेपाल’ लाई चर्चामा ल्याउने व्यक्तित्व हुन् । त्यति मात्र होइन, पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई फाँसी दिँदा नेपालका विद्यार्थीले विरोध गर्दै ‘जय नेपाल’ को नारा घन्काएको इतिहास पनि छ । यसरी ‘जय नेपाल’ प्रचारमा आउन थाल्यो र नेपाली कांग्रेसको अभिवादनमा यो शब्द अमर रह्यो । नेपाल प्रहरीमा त ‘जय नेपाल’ को सम्बोधन प्रचलनमा छँदैछ । यस्तै, राजाका पालामा पनि मन्तव्य र सन्देशपछि 'पशुपतिनाथले सबैको कल्याण गरुन्, जय नेपाल' भन्ने वाक्यांश प्रयोग हुने गरेको हामी बिर्सन सक्दैनौं ।
विभिन्न राजनीतिक परिवर्तनसँगै वाद, योजना र कार्यान्वयनमा फरकपन आएको हो । गणतान्त्रिक मुलुकमा धर्मनिरपेक्षता छाउँदा पनि नेपालको जय अर्थात् ‘जय नेपाल’ लाई बिर्सन सकिँदैन । जसरी भारतमा स्वतन्त्रताका लागि ‘जय हिन्द’ को प्रयोग भयो, त्यसरी नै त्यहाँ रहेका नेपालीहरूले नेपालको स्वतन्त्रताका लागि ‘जय नेपाल’ प्रयोगमा ल्याए । वि.सं. २००७ सालको आन्दोलनदेखि नै नेपाली कांग्रेसले ‘जय नेपाल’ को नारालाई अंगिकार गर्दै आएको छ । २०७६ जेठ २ मा अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित ‘जय नेपाल अभिवादन र इतिहास’ शीर्षकको लेखमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को भावना ‘जय नेपाल’ मा अन्तरनिहित रहेको उल्लेख गरिएको छ ।
मुक्ति सेनाका अधिकांश कमान्डरहरू नेपाल प्रहरीमा समाहित भएको बताइन्छ । जीवी याक्थुम्बा लगायत केही कमान्डर तत्कालीन अवस्थामा नेपाल प्रहरीका महानिर्देशक अर्थात् आइजिपी पनि भए, जसका कारण नेपाल प्रहरीमा ‘जय नेपाल’ प्रयोग भयो । राजा मातहतको शाही सेनाले भने रिमालकै गद्य प्रयोग गरी 'रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो' मार्फत नेपालको जयलाई अंगिकार गरेको हो ।
यस्तै, रेडियो नेपालले दिवा प्रशारणको सुरुआत ‘जय नेपाल’ बाट गर्छ । नेपाली कांग्रेसले क्रान्तिका बेला तारणीप्रसाद कोइरालाको अग्रसरतामा खोलेको प्रजातन्त्र रेडियो विराटनगर हुँदै काठमाडौँ आएको हो । जसले प्रशारण सुरु गर्दा ‘जय नेपाल’ प्रयोग गरेको थियो र त्यसैलाई रेडियो नेपालले अहिलेसम्म प्रचलनमा ल्याएको छ ।
उल्लेखनीय कुरा के छ भने सोच र सिद्धान्तको मान्यता अनुरूप समयानुसार राजनीति अघि बढ्न नसक्दा वा अन्य कारणले मनोविज्ञानमा फरकपन ल्यायो । जसका कारण राजनीतिक परिवर्तनहरू हुँदै गए । २०७६ वैशाख २६ गते तत्कालीन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु र नेपाली कांग्रेसले ‘जय नेपाल’ भन्नु उस्तै भएको बताएका थिए । यसबाट झन् प्रष्ट हुन्छ कि विकास भन्ने शब्द राजनीतिक पार्टी तथा व्यक्तिमा केन्द्रित नभई प्रगतिको मार्गदर्शन बन्नुपर्छ । किनकि, त्यतिबेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्द प्रयोग गर्दा प्रतिपक्षी पार्टीले विरोध गरेको थियो । सरकार कुनै पनि पार्टीको मात्र नभएर सर्वसाधारणको नै हो भन्नेमा दुविधा छैन । तर, विकास र सिद्धान्तमा दुविधा देखिएकाले नेपालको अपेक्षित प्रगति हुन नसकेको प्रष्ट छ ।
अबको आवश्यकता विकास र एकताको हो । लालसलाम वा अन्य अभिवादन भन्दै शब्दमा अल्झिएर ‘जय नेपाल’ लाई बिर्सनु हुँदैन । विकासका लागि नेपालको जय हुनुपर्छ । ‘जय’ भन्नु नै प्रगतिको पाटो हो ।
आर्थिक रूपान्तरणका लागि हामीलाई केले पछि पारेको छ भन्ने जिज्ञासाको उत्तर खोज्नुभन्दा पनि कार्यान्वयनका लागि सबै एक हुनुपर्छ । यहाँ पार्टीको सिद्धान्तभन्दा माथि उठेर विकासका लागि एक हुनुपर्छ । महिनाको एक सय डलरभन्दा कम कमाउने नेपालीले चार-पाँच घण्टा उडेर पुगिने दोहा वा क्वालालमपुरमा कम्तीमा त्यसको दोब्बर कसरी कमाउँछन् ? भन्ने प्रश्न उठाउन सजिलो छ ।
सफलताका लागि जुनसुकै पार्टीले निर्वाचन जिते पनि विकासमा एक हुनुपर्छ । मुलुकमा देखिएको वैचारिक असङ्गतिले राष्ट्रिय अर्थतन्त्रलाई पछाडि धकेलिरहेको सन्दर्भमा राज्यको भूमिका बलियो हुनुपर्छ । नेपाली समाजमा गहिरोसँग व्याप्त भाग्यवादले शासकहरूलाई बल मिलेको छ । सरकारले उत्पादनशील क्षेत्रमा राम्रो तलब दिने रोजगारी सिर्जना गरेर गरिबलाई राष्ट्रिय अर्थतन्त्रमा सक्रिय सहभागी बनाउन ठोस प्रयास गर्नुका सट्टा, उनीहरूलाई राज्यले दिने दान पाउने निष्क्रिय पात्र बनाउने गरिबी निवारण कार्यक्रममा किन ध्यान दिन्छ ? भन्ने कुरा बहस मात्र नभएर उदाहरण बन्न आवश्यक छ । कार्यान्वयनका लागि अर्थतन्त्रको असफलता हट्नुपर्छ ।
राजनीतिमा विभिन्न कालखण्डमा विभिन्न पार्टीद्वारा विद्रोह भए । कसैले जस पाए, कतिले गाली सहे त कतिको ज्यान गयो । यसको उदाहरण नेपालमा छँदैछ । आर्थिक विकासको निराशामा राणाकालदेखि २००७ साल, माओवादी विद्रोह, मधेश क्रान्ति हुँदै भाद्र २३–२४ मा देशभर चर्केको जेन–जी आन्दोलन र सरकारी दमनकारी नीतिले असर गरेको छ । जसका कारण आर्थिक मन्दी र रोजगारीको अभाव भएको छ । सन् १९९० को दशकको सुरुमा सरकारले लिएका आर्थिक नीतिसँगै स्वदेशी अर्थतन्त्रका बलिया पक्षमा सबै दल एकमत हुनुपर्छ । अनि मात्र सिद्धान्तभन्दा विकास अघि बढ्छ ।
विभिन्न कालखण्डमा हुने सरकारी दमनकारी नीतिका कारण आर्थिक क्षेत्रमा असर परेको प्रष्ट छ । गत भाद्र २७ मा आन्दोलनकारीहरूकै प्रस्तावमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको सबैलाई थाहा भए पनि विकासका लागि निर्वाचन सफल पार्न कत्तिको अघि बढेको छ ? भन्ने प्रश्न खडा छ । यहाँ नेपालको विकासका लागि निर्वाचन सफल पार्नुपर्छ । अनि मात्र नेपालको जय हुन्छ । अनि मात्र भन्न सकिन्छ– ‘जय नेपाल’ । त्यसैले विश्वको जुनसुकै देशमा रहेका नेपालीले पनि भन्नेछन्– जय नेपाल । प्रत्येक व्यक्तिले सबैलाई सधैँका लागि भन्नेछ– जय नेपाल ।
वास्तवमै भन्ने हो भने ‘फेरि देश उठ्ने छ, हामी उठाउने छौँ ! आउनुस्, सँगै सङ्कल्प गरौँ !’ यो नारा मात्र नभएर कार्यान्वयन हुनुपर्छ । अनि बल्ल विकास सम्भव छ ।
(शर्मा नेपाली कांग्रेसकी युवा नेतृ हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण