बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

आइतबार, २८ मङ्सिर २०८२, १२ : ३५
आइतबार, २८ मङ्सिर २०८२

सारांश

  • विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जना पक्राउ परेका छन्, जसमा ब्राउनसुगर र गाँजा बरामद गरिएको छ।
  • नवलपरासी, कैलाली, झापा, उदयपुर, सुनसरी, मकवानपुर, मोरङ, सर्लाही, र बर्दिया लगायतका जिल्लाहरूमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।
  • प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । विभिन्न जिल्लाबाट लागूऔषधसहित  १६ जना पक्राउ परेका छन् । नवलपरासी, कैलाली, झापा, उदयपुर लगायतका जिल्लाबाट १६ जना पक्राउ परेका हुन् । 

नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१ बाट ब्राउनसुगर जस्तो देखिने २९ ग्राम ५ सय ७० मिलिग्राम पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका–२ भिठ्ठा बस्ने बर्दिया गुलरिया नगरपालिका– ९ डब्बा घर भएका २७ वर्षीय राजेश अहिर र उनकै श्रीमती ३५ वर्षीया शारदा हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय रुपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरिया गौडी टोलबाट  ब्राउनसुगरजस्तो देखिने ३ सय १० मिलिग्राम पदार्थसहित सोही उपमहानगरपालिका–१६ बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले से.४ प ५०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, झापाको दमक नगरपालिका–५ नारायण टोल बस्ने ३१ वर्षीय रणबहादुर मगरलाई खैरो हेरोइनजस्तो देखिने २ ग्राम २ सय २० मिलिग्राम पदार्थ र नगद २१ हजार ५ सय रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले रणबहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट ब्राउनसुगर जस्तो देखिने १४ ग्राम २ सय ४० मिलिग्राम पदार्थसहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१३ बस्ने ३९ वर्षीय शशीकान्त चौधरी, सोही नगरपालिका–४ बगाहा बस्ने ३७ वर्षीय देवेन्द्र मगर र सोही नगरपालिका–९ गैरून बस्ने ३५ वर्षीय प्रेम चौधरी रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा.४१ प ५५०८ र प्रदेश १–०२–०५८ प ७०७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, उदयपुर, बेलका नगरपालिका–९ रामपुरबजारबाट ब्राउनसुगरजस्तो देखिने करिब २ सय मिलिग्राम पदार्थ र  १९ हजार ७ सय १५ रुपैयाँ नगदसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका– ४ भोर्लेनी बस्ने २६ वर्षीय सञ्जीव राई र १९ वर्षीय प्रवेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले स.३ प ९२१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै,सर्लाहीको लालबन्दी नगरपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने २ सय १२ ग्राम पदार्थसहित लालबन्दी नगरपालिका–५ बस्ने ईश्वरपुर नगरपालिका–३ घर भएका ३४ वर्षीय सुवास लामिछानेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

उता, सुनसरीको धरान उपमहानगरपालिका–१९ धनकुटे रोडबाट  २ सय ३० ट्रामाडोल ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेटसहित सोही उपमहानगरपालिका–१० बस्ने १९ वर्षीय निरफुङ बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ लेवटबाट करिब २२ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–१ बस्ने ४५ वर्षीय लक्ष्मीमाया गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यस्तै, मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारबाट ब्राउनसुगरजस्तो देखिने १३ ग्राम ३ सय १० मिलिग्राम पदार्थसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ पैटा बस्ने २९ वर्षीय राजीव चौधरी र २४ वर्षीय सियाराम गच्छदार रहेका छन् । प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ प्रदेश १–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ब्राउनसुगरजस्तो देखिने १ सय ९० मिलिग्राम पदार्थसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ पुष्पनगर बस्ने २७ वर्षीय सुवास परियार र राजापुर नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक विश्वकर्मा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप