बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री सिन्हा

आइतबार, २८ मङ्सिर २०८२, १९ : १७
आइतबार, २८ मङ्सिर २०८२

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

उद्योगमन्त्री सिन्हाले भने, “नेपालको कला र संस्कृतिको रुपमा रहेको हस्तकला क्षेत्रको आफ्नो विशिष्ट पहिचान रहेकाले यसको विकासमा सरकारले निरन्तर सहयोग रहन्छ ।”

मन्त्री सिन्हाले हस्तकला क्षेत्रमा आवश्यक पर्ने नीतिगत र प्रक्रियागत समस्यालाई सरकारले क्रमशः हल गर्दे लैजाने उल्लेख गरे । बागमती प्रदेशका उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासका लागि निरन्तर लाग्ने विश्वास व्यक्त गरे ।

उनले देशभरको ८० प्रतिशत हस्तकला बागमती प्रदेशभित्र भएको जनाउँदै बागमती प्रदेशले आगामी वर्ष हस्तकला दिवस घोषणा गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान भनेको कला, संस्कृति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै लाग्नुपर्ने उल्लेख गरे ।

उनले शिक्षालाई जागिरभन्दा रोजगारमूलक र व्यावसायिकमूलक बनाउँदै अगाडि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय हस्तकला विकास नीति ल्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महासङ्घले निरन्तर काम गर्दै आइरहेको बताए । अध्यक्ष शाक्यले वार्षिक २५ देखि ३० अर्बको हस्तकला निर्यात हुँदै आएको वर्तमान अवस्थामा सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप