सडक विस्तारले अस्तव्यस्त हेटौँडा : पेटी कब्जा, भत्केकै घरमा व्यापार
सारांश
- हेटौँडामा सडक विस्तारका क्रममा भत्काइएका संरचना र व्यवस्थापनमा भएको ढिलाइले दुर्घटनाको जोखिम बढेको छ।
- सर्वोच्च अदालतको स्टे अर्डरका कारण सडक विस्तारको काम अन्योलमा परेको छ, र घरधनीहरू मुआब्जाको माग गर्दै आन्दोलनमा छन्।
- भत्किएका घरका कोठामा व्यापारीहरूले जोखिमपूर्ण व्यापार गरिरहेका छन्, र पेटीमा सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।
मकवानपुर । राष्ट्रिय राजमार्ग विस्तारको चर्चा र लामो समयदेखिको अन्योलका कारण हेटौँडा बजार क्षेत्र अहिले असुरक्षित बन्दै गएको छ । सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना र स्क्र्याबको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दुर्घटनाको जोखिम बढिरहेको छ ।
भत्काइएका संरचनाका ढुंगा, इँटा तथा रडका टुक्राहरू सडक तथा पेटीहरूमा छरिएका छन्, जसले पैदल यात्रीदेखि सवारी चालकसम्मलाई दैनिक सास्ती खेप्नुपरेको छ । सडक विस्तारका लागि भन्दै सडक डिभिजन कार्यालयले गत मङ्सिर २० मा हेटौँडाको महेन्द्र राजमार्गको रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घरहरू भत्काएको थियो ।
मङ्सिर २० गते प्रशासनले प्राविधिक रूपमा मात्र घर भत्काएको थियो । पूर्ण रूपमा नभत्काइएका घरहरूको टप, सटर, झ्याल, ढोका र भित्ताहरूमा जेसीबी प्रयोग गरेर बस्न नमिल्ने बनाइएको थियो । करिब ७ किलोमिटर क्षेत्रका ५०० भन्दा बढी घर तथा संरचनाहरूमा जेसीवी प्रयोग गरेपछि सडक तथा प्रशासनले २१ गतेदेखि काम बन्द गरेको थियो ।
सर्वोच्च अदालतको स्टे अर्डरका कारण काम अघि बढाउन नमिल्ने भन्दै प्रशासनले काम रोकेपछि हाल सडक विस्तार कार्य अन्योलमा देखिएको छ ।
_jyNKq8Y0IN.jpg)
एकातर्फ अदालतमा मुद्दाको पेसी सर्दै गएको छ भने अर्कोतर्फ असुरक्षित संरचना व्यवस्थापनमा कसैको ध्यान पुग्न सकेको छैन । सम्बन्धित घरधनीहरू आफू पीडित भएको भन्दै दिन प्रतिदिन न्यायको माग गर्दै आन्दोलनमा छन् । उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्री, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रमुखको राजीनामा माग गर्दै आएका छन् । उनीहरू मुआब्जाको माग गर्दै अदालत र आन्दोलनको क्रममा रहेका छन् ।
यता सर्वोच्च अदालतले मङ्सिर १६ मा दायर भएको रिटमाथि मङ्सिर १९ मा अल्पकालीन आदेश गर्दै स्टेअर्डर दिएको थियो । उक्त आदेशअनुसार मङ्सिर २६ मा तोकिएको पेसीमा सर्वोच्चले सडक विस्तारबारे विगतका आदेश तथा निर्णय हेर्न मिसिल झिकाउने निर्णय गरेको छ भने पुस २ मा पेसी तोकेको छ । अदालतमा मुद्दा लम्बिँदै गर्दा सडक कार्यालय, प्रशासन कार्यालय र हेटौँडा उपमहानगरपालिका भने ‘पर्ख र हेर’को नीतिमा छन् ।
भत्किएका संरचनाहरूको व्यवस्थापनमा न त घरधनीले काम गरेका छन् न त प्रशासनले नै चासो दिएको छ ।
अहिले तिनै भत्किएका र धराप बनेका घरका कोठाहरूमा व्यवसायीहरूले जोखिमपूर्ण रूपमा व्यापार सञ्चालन गरिरहेका छन् । अझ कतिपय स्थानमा त भत्किएको संरचनाभन्दा अगाडि बढेर सडक पेटी (फुटपाथ) नै कब्जा गरी सामान राख्ने प्रवृत्ति बढेको छ ।
बजारका मुख्य चोक र आसपासका क्षेत्रमा सडक पेटी व्यवसायीको कब्जाले गर्दा सर्वसाधारण मुख्य सडकबाटै हिँड्न बाध्य छन् । अव्यवस्थित सडक र फुटपाथ अतिक्रमणको सीधा असर ट्राफिक व्यवस्थापनमा परेको छ । हेटौँडाको बुद्ध चोक, सीमा चोक र मेनरोड क्षेत्रमा सवारी जाम हुने गरेको छ ।
_jHQ7f4Rbch.jpg)
- घर भत्काउँदा ४ दिनभित्र ५ जना मजदुर घाइते
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका लागि घर भत्काउने क्रममा दुर्घटना बढ्न थालेको छ । हेटौँडा–१ स्थित पिपलबोट र उद्योग वाणिज्य संघ आसपासको क्षेत्रमा पछिल्लो ४ दिनमा भएका अलग–अलग ३ वटा घटनामा परी ५ जना मजदुर घाइते भएका छन् ।
पछिल्लो पटक आइतबार (मङ्सिर २८ गते) दिउँसो हेटौँडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको बिकी जैसवालको घर भत्काउने क्रममा ३ जना मजदुर घाइते भएका छन् । घरधनी आफैँले कामदार लगाएर घर भत्काउने क्रममा दिउँसो करिब ३ः५० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते हुनेहरूमा मकवानपुरगढी गाउँपालिका–१ रानीसेरा बस्ने २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ बस्ने २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दा बस्ने ३० वर्षीय अरुण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले बताए ।
_a4mE6z5yY2.jpg)
स्थानीय र चौकीटोल प्रहरी चौकीको टोलीले उनीहरूको उद्धार गरी अस्पताल पठाएको उनले बताए । घाइतेमध्ये सन्तोष भ्लोन र दिनेश चौधरीको मकवानपुर सहकारी अस्पतालमा तथा अरुण चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम छ ।
यसअघि मङ्सिर २६ गते शुक्रबार पनि सोही क्षेत्रमा घर भत्काउने क्रममा हेटौँडामा डेरा गरी बस्ने २८ वर्षीय द्वारिका यादव घाइते भएका थिए भने मङ्सिर २४ गते मंगलबार बिहान हेटौँडा–१ उद्योग वाणिज्य संघ अगाडि नै सुदीप थापाको घर भत्काउने क्रममा दुर्घटना भएको थियो । सडक विस्तारका क्रममा भत्किएको घर सफा गर्दा अचानक दुई तला माथिबाट ढलान खस्दा रौतहट घर भई हेटौँडा–१० बुद्धचोक बस्ने १९ वर्षीय कामदार जितेन्द्र माझी घाइते भएका थिए । उनको टाउको र शरीरमा चोट लागेको थियो ।
- भग्नावशेष र जोखिम हटाउन निरन्तर समन्वयमा छौँ–सहायक प्रजिअ जोशी
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडक विस्तारका क्रममा भत्किएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको बताए । सडक विस्तारको काम अघि बढे पनि भत्किएका घरटहराका भग्नावशेष (स्क्र्याब) व्यवस्थापन हुन नसक्दा सिर्जना भएको अन्योल र जोखिमलाई मूल्याङ्कन गरेर व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग निरन्तर छलफल भइरहेको उनले बताए ।
_fsdxsa7dxk_hxjmtIbwhk.jpg)
सडक विस्तार र स्तरोन्नतिको मुख्य जिम्मेवारी सडक डिभिजन कार्यालयको भए पनि प्रशासनले सुरक्षा र सहजीकरणको भूमिका खेलिरहेको उनले स्पष्ट पारे । सडक पेटीमै जीर्ण अवस्थामा रहेका घरहरूमा समेत पसल सञ्चालन भइरहेकाले सुरक्षा चुनौती बढाएको र सम्भावित दुर्घटना रोक्न प्रशासन सचेत रहेको उनले बताए । उनले भत्किएका संरचनाको व्यवस्थापन गर्ने पहिलो दायित्व सम्बन्धित घरधनी र व्यवसायीको नै भएको बताए ।
‘हाम्रो भूमिका आवश्यक समन्वय, सहजीकरण र सुरक्षा प्रदान गर्ने हो,’ जोशीले भने, ‘अहिले पनि सडक डिभिजन कार्यालय, हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरूसँग समन्वय गरेर सडक सफा गर्ने तथा सामग्रीहरू हटाउने काम भइरहेको छ । भत्किएका संरचना व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित व्यवसायी र घरधनीको पनि हो । कतिपय घरधनीले आफैँ व्यवस्थापन गरिरहनुभएको पनि छ । उहाँहरूलाई व्यवस्थापनको काममा सुरक्षा आवश्यक परेको खण्डमा प्रशासनले सुरक्षा उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ ।’
कुनै पनि अप्रिय घटना हुन नदिन र सडकलाई छिटोभन्दा छिटो व्यवस्थित गर्न प्रशासनले स्थानीय तह र निजी क्षेत्रसँग समन्वयको कामलाई तीव्रता दिएको उनको भनाइ छ ।

- ‘व्यापारीले अटेर गरे, मानवीय पक्ष हेरेर कारबाही गर्न सकेनौँ – प्रवक्ता न्यौपाने
सडक विस्तारका क्रममा भत्किएका संरचना र सडक पेटीमा थुपारिएका ‘स्क्र्याप’ तथा निर्माण सामग्री हटाउने विषयमा हेटौँडा उपमहानगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि व्यापारीहरूले अटेर गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेले बताए । व्यापारीहरूले स्थानीय प्रशासन र उपमहानगरको सूचनालाई सरासर अटेर गरेको देखिए पनि अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै बल प्रयोग नगरिएको उनले बताए ।
उनले स्टक क्लियरेन्सका लागि उपमहानगरले तयार गरेको बजार क्षेत्र प्रयोग गर्न आग्रह गरिरहेको र जोखिमपूर्ण व्यापार नगर्न माइकिङमार्फत सचेत गराइरहेको बताए । बजार क्षेत्रमा जोखिमपूर्ण ढङ्गले व्यापार व्यवसाय भइरहेको भए पनि मानवीय कारणले तत्काल कडा कारबाही गर्न नसकिएको उनको भनाइ छ ।
प्रवक्ता न्यौपानेका अनुसार सडक पेटी कब्जा गरेर वा भत्किएका संरचनामाथि नै बसेर व्यापार गर्नु जोखिमपूर्ण छ । कानुनतः सामान जफत गरेर सडक खाली गराउन सकिने भए पनि उपमहानगरले अहिलेको ‘क्रिटिकल’ अवस्थामा संयम अपनाएको उनले बताए ।
_a6i51rmsZj.jpg)
‘अहिले घर भत्किएर सबै पीडामा छन् । व्यापारीहरूसँग व्यापार गर्ने वा सामान राख्ने ठाउँ छैन,’ न्यौपानेले भने, ‘केही दिन सेलमा राखेर बेचेर सिध्याउँछु भन्ने कुरालाई अहिले नै सामान जफत गरेर अमानवीय व्यवहार देखाउन सकिएन । त्यसैले हामीले सहजीकरण मात्र गरिरहेका छौं ।’
सडक पेटी खाली गराउन खोज्दा व्यापारी र घरधनीहरूबाट नगर प्रहरीमाथि नै आक्रोश व्यक्त हुने गरेको प्रवक्ता न्यौपानेले बताए । सडक पेटीमा व्यापारीको सामान मात्र नभई अव्यवस्थित तारका कारण पनि पैदल यात्रीलाई समस्या भएको उनले बताए । प्रवक्ता न्यौपानेले टेलिफोन र इन्टरनेटका तारहरू लत्रिएर हिँड्नै नमिल्ने अवस्था रहेको बताए ।
उपमहानगरले अहिलेको अवस्थामा जोखिमपूर्ण ठाउँ क्लियर गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग निरन्तर समन्वय गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
‘विद्युत् तथा टेलिफोनका तारहरू नगरपालिकाले गएर काटिदिने कुरा भएन । सम्बन्धित निकाय, टेलिकम र प्राधिकरणले व्यवस्थापन नगर्दा समस्या भएको छ । अहिले मुख्य राजमार्ग र शाखा बाटोहरू समेत जाम भइरहेकाले सडक पेटी यात्रुहरूका लागि कसरी सुरक्षित हुन्छ र ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण