शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सिनामंगलको राजश्री सहकारी चोर्ने युवक २३औँ पटक पक्राउ

चोरेको रकम प्रेमिकासँग घुमघाममा खर्च
सोमबार, २९ मङ्सिर २०८२, १३ : २२
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • सिनामंगलको सहकारीबाट रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
  • प्रहरीले युवकको साथबाट १० लाख ३५ हजार बरामद गरेको छ, र उनी रातोपुलस्थित होटलमा फेला परे।
  • पक्राउ परेका युवक यसअघि पनि चोरी तथा अन्य कसुरमा पटकपटक पक्राउ परिसकेका छन्।

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित राजश्री सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडबाट रकम चोरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २४ मा मध्यराति सहकारीको रकम चोरी भएको थियो ।

चोरीमा संलग्न आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भएका दीपक गजुरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनलाई प्रहरीले रातोपुलस्थित एक होटलबाट पक्राउ गरेको हो ।

उनले सहकारीबाट चोरेको १० लाख ३५ हजार बरामद गरिएको एसपी भट्टराईले जानकारी दिए । सहकारीको झ्याल फुटाएर मध्य राति पौने १ बजेतिर प्रवेश गरेका गजुरेल आधा घण्टापछि चोरी गरेर निस्केको सिसिटीभी फुटेजमा देखिएको छ । सहकारीका सञ्चालकले १६ लाख रकम चोरी भएको दाबी गर्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

Raj Shree Chori 8.29 (2082)

सहकारी चोरीमा संलग्न गजुरेललाई खोज्दै जाँदा मङ्सिर २६ मा उनी रातोपुलस्थित चेम्बर होटलमा भेटिए । होटलमा उनी प्रेमिकासँग भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । चोरीको रकम चाहिँ उनले ठमेलको एउटा होटलमा लुकाएर राखेका रहेछन् ।

सहकारी चोर्ने र सो रकम प्रेमिका घुमाउन खर्च गर्ने उनको ‘अपराध प्रवृत्ति’ देखिएको छ । यसअघि पनि धेरै पटक चोरी सम्बन्धी कसुरमा पक्राउ परेका गजुरेलले चोरेको रकम प्रेमिका घुमाउन खर्च गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

एसपी पवन भट्टराईका अनुसार गजुरेल अहिले २३ औँ पटक पक्राउ परेका हुन् । सहकारीको रकम चोरेको कसुरमा मात्रै उनलाई प्रहरीले यसअघि १९ पटक पक्राउ गरेर अनुसन्धान गरेको थियो । लागुऔषध र अभद्र व्यवहार सम्बन्धी कसुरमा उनी यसअघि २२ पटक प्रहरी हिरासतमा बसेका छन् । उनीविरुद्ध प्रहरी वृत्त गौशालाले चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको एसपी भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप