बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बनेपामा फिल्म स्टुडियो निर्माणकाे आर्थिक प्रस्ताव पुस ७ मा खोलिने

सोमबार, २९ मङ्सिर २०८२, १४ : १०
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • चलचित्र विकास बोर्डले बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउन लागेको छ, जसका लागि ११ वटा कम्पनी छनोट भएका छन्।
  • प्राविधिक रूपमा योग्य कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते सार्वजनिक गरिनेछ, र एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
  • स्टुडियोले स्वदेशमै सेट निर्माण, छायांकन र प्राविधिक सुविधा उपलब्ध गराउनेछ, जसले लागत घटाउनेछ।

काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेपलान्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि ११ वटा निर्माण कम्पनी मूल्याङ्कनमा परेका छन् । बोर्डले आह्वान गरेको दोस्रो चरणको बोलपत्र प्रक्रिया अन्तर्गत ११ वटा निर्माण कम्पनीहरू प्राविधिक मूल्याङ्कन उत्तीर्ण ठहरिएका हुन् ।

बोर्डका अनुसार ती प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ । नेपाली चलचित्र उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको परियोजनाका लागि बोर्डले रु १६ करोड ४९ लाख ८७ हजार १ सय बयानब्बे लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई–बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो ।

प्राप्त बोलपत्रहरूमध्ये आवश्यक योग्यता, अनुभव, प्राविधिक क्षमता, मानव स्रोत तथा वित्तीय विश्वसनीयताको आधारमा विस्तृत मूल्याङ्कन गरी ११ कम्पनीहरू प्राविधिक चरणमा छनोट भएका हुन् ।

प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालय,चाबहिल, काठमाडौँमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ज (उपनियम ५) बमोजिम सार्वजनिक रूपमा खोलिने बोर्डले जनाएको छ ।

आर्थिक प्रस्तावको मूल्याङ्कनपछि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छायाङ्कन, मौसम निरपेक्ष सुटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले चलचित्र निर्माण लागत घटाउने, समय बचत गर्ने र विदेशी स्टुडियोमा निर्भरता कम गर्ने बोर्डको विश्वास छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार इन्डोर स्टुडियोमा चलचित्रसँगै टेलिभिजन सिरियल, वेब सिरिज, विज्ञापन तथा अन्तर्राष्ट्रिय सहनिर्माणका काम हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप