शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छ: अध्यक्ष दाहाल

बुधबार, ०२ पुस २०८२, ०० : ०५
बुधबार, ०२ पुस २०८२

सारांश

  • राष्ट्रियसभाको बैठक पुस दोस्रो साता बस्ने अध्यक्ष दाहालले बताए।
  • संघीय संसद भवन निर्माण अन्तिम चरणमा पुगेको छ, जसको शिलान्यास केपी शर्मा ओलीले गरेका थिए।
  • अध्यक्ष दाहालका अनुसार सदन बोलाएर विधेयकमाथि छलफल र मन्त्रीसँग विषयमा कुराकानी गर्न सकिनेछ।

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेको बैठकमा अध्यक्ष दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने बताएका हुन् ।

उनले भने, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु, मलाई लाग्छ, अब छिट्टै हल तयार हुन्छ, अब पुसको १२ गते बैठक बोलाउँछु ।” मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय संसद् भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग रु छ अर्ब ९२ करोडमा सम्झौता भएको थियो ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले भाडाबापत वर्षमा रु १५ करोड तिर्दै आएको छ । अध्यक्ष दाहालले सदन बस्ने विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको बताउँदै सदन बस्ने विषयमा कहीँ कतैबाट विमति नभएको बताए । सभाको बैठक बोलाएर विधेयकमाथिको छलफल, आयोगको प्रतिवेदनको काम गर्न सकिने, मन्त्रीलाई आमन्त्रण गरेर सम्बन्धित विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने, “हामीसँग चार वटा विधेयक छन्, एउटा विधेयक अध्यादेशमार्फत आएको छ, त्यो आर्थिक विधेयक हो । राष्ट्रियसभालाई छलफल गर्ने अधिकार छैन, त्यो प्रतिनिधिसभामा मात्रै छलफल हुने हो, त्यस कारण सरकारलाई विजेनसका बारेमा सोच्नुस् भनेर भनेको छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप