कर्णालीमा नेमकिपाको प्रभाव घटाएर एमालेको प्रभाव बढाउने नेतालाई ओलीको उपेक्षा !
सारांश
- नेकपा एमालेको महाधिवेशनमा केपी ओलीको प्यानलबाट टिकट पाउने नेताहरूको नामावली सार्वजनिक भयो, जसमा कर्णालीबाट एक पदाधिकारी र २६ जना केन्द्रीय सदस्य रहे।
- एमालेको गढ दैलेखलाई एमालेमा रूपान्तरण गर्ने प्रमुख पात्र विनोदकुमार शाहलाई भने सूचीमा समावेश गरिएन।
- पार्टीमा लामो समय योगदान दिँदा पनि उपेक्षामा परेको भन्दै शाहले असन्तुष्टि जनाए।
सुर्खेत । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि केपी ओलीको प्यानलबाट टिकट पाएका नेताहरूको नामावली सार्वजनिक भयो, जसमा कर्णालीबाट एक पदाधिकारी (सचिव) र २६ जना केन्द्रीय सदस्य समेटिए ।
एमालेको गढ मानिने दैलेखबाट मात्रै ९ जनाको नाम समावेश छ । एमाले परित्याग गरी माधव नेपालको एकीकृत समाजवादीमा गएका पार्वती बिशुंखे, पूर्वमाओवादी नेता धर्मराज रेग्मी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल लगायतले केन्द्रीय सदस्यको टिकट पाए । यी सबै नेताभन्दा अग्रज र कुनै समय नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने दैलेखलाई एमालेको गढमा रूपान्तरण गर्ने प्रमुख पात्र विनोदकुमार शाह भने त्यसमा अटाएनन् ।
५० को दशकसम्म दैलेख, कालिकोट, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्ला नेमकिपाका किल्ला थिए । ०५१ सालको निर्वाचनसम्म यहाँ अन्य दलले नेमकिपालाई जित्न कठिन थियो । ०५१ मा नेमकिपाबाट दैलेख–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित शाह ०५२ साउनमा एमाले प्रवेश गरे । नेमकिपाका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य तथा सचिवालय सदस्य भइसकेका उनकै नेतृत्वमा सिङ्गो संगठन एमालेमा समाहित भयो । त्यस यता सो क्षेत्रमा नेमकिपाको प्रभाव निकै कमजोर भयो ।
११औँ महाधिवेशनमा ओली पक्षको सूचीमा परेका लक्ष्मी पोखरेल, राजबहादुर बुढाहरू पछि मात्र एमाले प्रवेश गरेका थिए । उनीहरूले ओली पक्षको उम्मेदवारका रूपमा स्थान पाउँदा शाह भने पन्छाइए ।
जुम्ला, कालिकोट, मुगुदेखि डोल्पाको सम्पूर्ण नेमकिपाको संगठन समाहित गराउन शाहको भूमिका अहम् छ । जुम्लाका डिल्ली महत, तल्लो भेगमा रंगनाथ जोशी, शाह लगायतका नेताहरूले नै नेमकिपालाई एमालेमा गाभ्न नेतृत्वदायी भूमिका खेले ।
त्यसक्रममा कतिपय नेता कांग्रेस र माओवादीतर्फ लागे पनि अधिकांश एमालेमा प्रवेश गरे । अहिले कर्णालीका धेरैजसो ठुला तथा पुराना नेताहरू नेमकिपाकै उत्पादन हुन् । पञ्चायत कालमा कर्णालीमा कम्युनिस्ट पार्टीको बीजारोपण नेमकिपाले नै गरेको थियो । नेमकिपाबाट शाहसहितको टोली एमालेमा समाहित भएसँगै कर्णालीमा एमाले बलियो शक्तिका रूपमा उदायो ।
साविक नेमकिपाका एक नेताको विश्लेषणमा अहिले कर्णाली प्रदेशमा रहेका एमाले नेता–कार्यकर्तामध्ये ५० प्रतिशतभन्दा बढी नेमकिपा पृष्ठभूमिबाट आएका छन् । अझ दैलेखमा त करिब ९५ प्रतिशत नै यस्ता छन् ।
पार्टी समाहित गराएकै कारण शाहमाथि दुल्लु र चामुण्डामा सांघातिक हमलासमेत भएको थियो । प्रहरीले ५ राउण्ड गोली चलाएपछि मात्र आक्रमणकारी भागेका थिए ।
कर्णालीका मुख्यमन्त्री तथा सचिवको टिकट पाएका यामलाल कँडेलभन्दा शाह राजनीतिमा सिनियर हुन् । कँडेल ०३६ सालदेखि विद्यार्थी राजनीतिमा उदाएका हुन् भने शाहले ०३२ सालमा भारतको नैनीतालबाट स्नातक अध्ययनकै क्रममा नेपालमा बहुदलीय व्यवस्था स्थापनाका लागि संघर्षरत दलको सम्पर्कमा आई राजनीति सुरु गरेका थिए । ०३५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले ०३५–०३६ सालमा बहुदलीय व्यवस्था स्थापनाका लागि दैलेखमा नेतृत्वदायी भूमिका खेलेको अभियोगमा करिब १ वर्ष जेल जीवन बिताए ।
नेपालगञ्ज जेलबाट भागेर ७ महिना भारत निर्वासनमा रहेका उनी आममाफी पश्चात् नेपाल फर्केर पूर्ववत् रूपमा सक्रिय राजनीतिमा लागे । यतिमात्र होइन, ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएको आरोपमा उनले पुनः ३ महिना जेल जीवन बिताएका थिए ।
- किन उपेक्षामा परे शाह ?
शाहसँगैका कतिपय नेताले पार्टीको राष्ट्रिय राजनीतिसँगै संसदीय राजनीतिमा पनि पटक–पटक सानादेखि ठुला मन्त्रालयको नेतृत्व पाइसके । यद्यपि अझै पनि पार्टीभित्र सक्रिय र संगठन निर्माणमा सक्रिय शाह भने किनारामा छन् ।
शाह निकट एक नेताले भने, ‘नेमकिपालाई एमालेमा एकीकरण गर्दा उहाँमाथि जुन प्रहार भयो, त्यस्तो अरु नेतालाई भएन । अहिले एमालेमा पनि उहाँलाई पेल्ने काम भयो ।’
केपी ओली नेतृत्वमा आउँदा शाह उनकै पक्षमा उभिए । ओलीमाथि आक्रमण हुँदा पनि शाहले रक्षात्मक भएर सक्रियता देखाउँदै आएका छन्, तैपनि उनी पार्टी केन्द्रको उपेक्षामा छन् । उनलाई १०औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको टिकट दिइएन । अहिले पनि ओलीले पत्याएनन् ।
पछिल्लो समय ओलीसँग राम्रै सम्बन्ध रहेको मानिएका शाह ओलीले यो पटक टिकट दिन्छन् भन्नेमा ढुक्क थिए । ‘योग्यताका हिसाबले पनि अरुभन्दा कम थिइनँ, अरुभन्दा मेरो छोटो इतिहास पनि होइन,’ शाह निकट अर्का नेताले भने, ‘तर खै किन, यो कुरालाई मध्यनजर गरिएन ।’
शाह अहिले आफूमाथि अन्याय भएको महसुस गरिरहेका छन् । एमाले भेरी अञ्चल कमिटी सदस्यसमेत रहिसकेका शाह नेमकिपामै हुँदा ०४८ र ०५१ मा प्रतिनिधि सभा चुनाव लडेका थिए, तर एमालेमा उनलाई लामो समयसम्म टिकट दिइएन । उनले ०७४ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिन चाहे पनि पाएनन् । ०७९ मा पनि प्रतिनिधि सभा टिकट शाहलाई नदिएर उनीभन्दा कनिष्ठ नेता लक्ष्मी पोखरेललाई दिइयो, जो पराजित भए ।
एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोगको सदस्य र राष्ट्रिय परिषद् सदस्य भई शाह पार्टीको संगठनात्मक सुदृढीकरणका लागि ०५४ तिर काम गर्दैगर्दा पोखरेलहरू माले बनेका थिए । ०५६ मा एमालेबाट उम्मेदवार रहेका शाहको प्रतिस्पर्धी मालेबाट पोखरेल थिए । अहिले तिनै माले बनेर चुनाव लडेका पोखरेल ओलीको रोजाइमा छन् भने कठिन अवस्थामा पनि एमालेको संगठन निर्माणमा भूमिका खेलेका शाह उपेक्षामा परेको उनी निकट नेता बताउँछन् ।
शाह पश्चिम दैलेखमा बलियो सांगठनिक प्रभाव र जनमत भएका नेता मानिन्छन् । उनलाई ०७९ प्रदेश सभामा पठाइयो । प्रतिनिधि सभामा दैलेखका दुवै क्षेत्रमा एमाले पराजित हुँदा प्रदेश सभातर्फ शाहमात्र विजयी भए । ०६१ तिर शाह केन्द्रमा जलस्रोत सहायकमन्त्री बनेका थिए ।
१०औँ महाधिवेशनमा केन्द्रीय सदस्य नदिएपछि उनलाई केही समय कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दिइयो । त्यो पनि एमाले विभाजनको रापतापको बेला । ०८० भदौमा अधिवेशन भएपछि उनी पुनः भूमिकाविहीन भए । पछि केन्द्रीय कमिटीमा मनोनीत गरिए । उनलाई पदाधिकारीमै दाबी गर्न सक्ने नेताका रूपमा हेरिए पनि अहिले केन्द्रीय सदस्यको समेत टिकट दिइएन । यद्यपि उनले बागी उम्मेदवारी हालेनन् ।
शाहले भने, ‘धेरैले उम्मेदवारी देऊ भनेका हुन्, मैले संस्कारलाई जीवित राख्न उम्मेदवारी दिइनँ । जोडतोडका साथ ओलीलाई नै जिताउने हो ।’
शाह आफूले एमालेमा दिएको योगदानको कदर नभएकोमा दुःखी भने छन् । आफू पार्टी केन्द्रको उपेक्षामा पर्नुको मुख्य कारण पार्टीभित्रका अन्य नेताहरूले आफूविरुद्ध कुरा लगाइदिने प्रवृत्ति रहेको उनको ठहर छ ।
शाह अहिले प्रदेश सरकारको कृषिमन्त्री छन् । बिचमा केही महिना अर्थमन्त्री भएका शाहले मुख्यमन्त्री यामलाल कँडेललाई नीतिगतदेखि हरेक कुरामा साथ दिँदै आएका छन् । ‘पार्टी नेतृत्वलाई रक्षा गर्ने कुरामा पनि म अग्रपंक्तिमा छु, मैले पदाधिकारी मागेको पनि थिइनँ, सदस्यमात्रै मागेको स्थिति थियो,’ शाहले भने, ‘भित्र मलाई हुन्छ पनि भनिएको थियो, तर लिस्टमा नाम आएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण