शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
नियामक–बैंकर अन्तरक्रिया

लगानी बढाउन राष्ट्र बैंकको जोड, बैंकिङ क्षेत्रले खोज्यो सुरक्षाको ग्यारेन्टी

गभर्नर भन्छन्, ‘बैंकले ऋण नदिँदा मिटरब्याजी सलबलाए, किस्ताको तालिका फेरेर भए पनि लगानी बढाउनुस्’
बिहीबार, ०३ पुस २०८२, ०६ : ४४
बिहीबार, ०३ पुस २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउन कर्जा प्रवाहमा जोड दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
  • गभर्नर डा. विश्व पौडेलले कृषि, साना तथा मझौला उद्यममा लगानी बढाउन नयाँ 'प्रोडक्ट' ल्याउन आग्रह गरे।
  • बैठकमा बैंकहरुले कर्जा असुलीमा सुरक्षाको अभाव रहेको गुनासो गरे भने गभर्नरले समस्या समाधानको आश्वासन दिए।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकले गरेको ‘फिल्ड भिजिट’को निष्कर्ष सुनाउँदै गभर्नर डा. विश्व पौडेलले यस्तो निर्देशन दिएका हुन् । कर्जा नपाएकै कारण ग्रामीण भेगमा मिटरब्याजी फेरि सक्रिय भएको उनको भनाइ थियो । 

बुधबार दिउँसोबाट सुरु भएको छलफल रातीसम्म चलेको बैठकमा गभर्नर पौडेलले कृषि, साना तथा मझौला उद्यममा लगानी बढाउने गरी नयाँ ‘प्रोडक्ट’ ल्याउन आग्रह गरे । उनले बैंकका शाखा प्रबन्धकहरू निक्षेप संकलनमा मात्रै केन्द्रित भएको र कर्जा प्रवाहमा चासो नदिएको भन्दै असन्तुष्टि पोखे ।

‘कर्जा लिएको अर्को महिनादेखि नै किस्ता माग्ने चलन हटाऔँ’

पौडेलले बैंकहरूको विद्यमान कर्जा भुक्तानी तालिका व्यावहारिक नभएको औँल्याएका छन् । विशेष गरी कृषि र साना उद्यममा ऋण लिएको अर्को महिनादेखि नै किस्ता तिर्नुपर्ने व्यवस्थाले व्यवसायी समस्यामा परेको उनको ठम्याइ छ । “व्यवसायको प्रकृति हेरेर उत्पादन सुरु भएपछि वा आम्दानी हुन थालेपछि मात्र किस्ता तिर्ने गरी प्रोडक्ट डिजाइन गर्नुहोस् । साना व्यवसायीलाई अवसर नदिई अर्थतन्त्र अगाडि बढ्न सक्दैन” सीईओहरुसँग पौडेलले भने ।

कर्जाको गुणस्तरमा प्रश्न -ब्याज तिर्नै थप ऋण

छलफलमा राष्ट्र बैंकका सुपरभिजन विभाग प्रमुख दीर्घ बहादुर रावलले १० वटा वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ र स्थलगत निरीक्षणको प्रारम्भिक नतिजा प्रस्तुत गर्दै कर्जाको गुणस्तरमा गम्भीर प्रश्न उठाए । उनले कतिपय ठुला परियोजनामा आम्दानीबाट ऋण घट्नुको साटो ब्याज तिर्नकै लागि थप ऋण प्रयोग गर्ने (एभरग्रिनिङ) प्रवृत्ति देखिएको बताए ।

2

परियोजना सञ्चालनमै नआई ऋण चलाउने, धितो मूल्याङ्कनमा कैफियत देखिने र तोकिएको प्रयोजनमा ऋण खर्च नहुने जस्ता समस्या देखिएको भन्दै राष्ट्र बैंकले सिइओहरूलाई सचेत गराएको छ । कार्यक्रममा आर्थिक अनुसन्धान विभागका प्रमुख डा। रामशरण खरेल र नियमन विभागका प्रमुख रामु पौडेलले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

बैंकरको गुनासो- सुरक्षा नहुँदा काम गर्न गाह्रो

राष्ट्र बैंकले कर्जा बढाउन दबाब दिइरहँदा बैंकरहरूले भने सुरक्षाको मुद्दा उठाएका छन् । छलफलमा सहभागी बैंकरहरूले कर्जा असुलीमा जाने कर्मचारीमाथि हातपात र दुर्व्यवहार हुँदा पनि राज्य मूकदर्शक बनेको गुनासो गरे । आपराधिक घटनामा राज्यको मौनताले बैंकिङ क्षेत्र त्रसित भएको उनीहरूको भनाइ थियो । 

4

जवाफमा गभर्नर पौडेलले अहिलेको विषम परिस्थितिमा सबै मिलेर अघि बढ्नुपर्ने भन्दै समस्या समाधानमा केन्द्रीय बैंक लागिरहेको आश्वासन दिए । उनले केही ऋणमा समस्या भए पनि ठूलालाई भन्दा साना ऋणीलाई प्राथमिकतामा राखेर पर्याप्त विश्लेषणसहित कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप