मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

यहुदीविरोधी आक्रमण रोक्न अस्ट्रेलियाद्वारा कडा कदमको घोषणा : घृणा फैलाउनेको भिसा रद्द गरिने

बिहीबार, ०३ पुस २०८२, १० : ४१
बिहीबार, ०३ पुस २०८२

सारांश

  • अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले यहुदी विरोधी आक्रमण रोक्न कानुनी सुधारको घोषणा गरेका छन्।
  • सिड्नीमा भएको गोलाबारीमा १५ जनाको मृत्यु भएपछि सरकारले घृणा फैलाउने संगठनलाई कालोसूचीमा राख्ने भएको छ।
  • सरकारले घृणा फैलाउने विदेशी नागरिकको भिसा रद्द गर्ने र शिक्षा प्रणालीमा सुधार गर्ने योजना बनाएको छ।

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले देशमा बढ्दै गएको यहुदी विरोधी आक्रमण र घृणा फैलाउने कार्य रोक्न कडा कानुनी सुधारको प्याकेज घोषणा गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री अल्बनिजले अस्ट्रेलियामा यहुदी विरोधी भावना र कट्टरपन्थीका लागि कुनै स्थान नभएको स्पष्ट पारेका हुन्। 

गत आइतबार सिड्नीको बोन्डाई बीचमा यहुदी समुदायको एक कार्यक्रममा भएको गोलाबारीमा १५ जनाको मृत्यु भएपछि सरकारले यस्तो कदम चालेको हो। उक्त घटनाले सम्पूर्ण अस्ट्रेलियाली नागरिक स्तब्ध र क्रुद्ध बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले यो खराबीविरुद्ध लड्न थप प्रभावकारी कामको आवश्यकता रहेको बताएका छन्।

नयाँ घोषणाअनुसार अस्ट्रेलियाली सरकारले घृणा फैलाउने भाषा प्रयोग गर्ने नेताहरू आबद्ध रहेका संगठनहरूलाई कालोसूचीमा राख्ने व्यवस्था मिलाउने भएको छ। यसका साथै देशको गृह मन्त्रालयलाई घृणा र विभाजन फैलाउने वा त्यस्तो मनसाय राख्ने विदेशी नागरिकहरूको भिसा रद्द गर्ने वा अस्वीकार गर्ने नयाँ अधिकार प्रदान गरिनेछ। प्रधानमन्त्री अल्बनिजले यस्ता कडा प्रावधानले सामाजिक सद्भाव बिथोल्ने तत्त्वहरूलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरेका छन्।

यहुदी विरोधी भावनालाई जरैदेखि उखेल्न सरकारले शिक्षा प्रणालीमा समेत सुधार गर्ने योजना बनाएको छ। यसका लागि १२ महिनाको समयावधि रहने गरी एउटा विशेष कार्यदल (टास्कफोर्स) गठन गरिने भएको छ। 

यो कार्यदलले विद्यालय र विश्वविद्यालय तहमा यहुदी विरोधी भावनालाई रोक्न र यस्ता समस्यासँग प्रभावकारी ढंगले जुध्न आवश्यक रणनीति तयार पार्नेछ। सिड्नी आक्रमणपछि सरकारले चालेका यी कदमहरूलाई अस्ट्रेलियामा बढ्दो धार्मिक र जातीय विद्वेष कम गर्ने प्रयासका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप