बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

ओलीविरुद्ध उभिँदा लगातार किनारामा परेका अरुण नेपाल

बिहीबार, ०३ पुस २०८२, १७ : ४१
बिहीबार, ०३ पुस २०८२

काठमाडौं । नेकपा एमालेका सिन्धुपाल्चोक जिल्लाका प्रभावशाली नेता अरुण नेपाल एमाले उपाध्यक्ष पदमा पराजित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ४९३ मत प्राप्त गरे ।

पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा लगातार पेलिँदै आएका नेपाल २०७७ सालमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय विरुद्ध उभिएर पदबाट राजीनामा समेत गरेका थिए । ओलीले गरेको संसद् विघटनको विपक्षमा उभिएयता उनको राजनीतिक यात्रामा निरन्तर बाधा देखिएको छ ।

तत्कालीन समयमा पार्टी विभाजनको संघारमा पुग्दा एमालेमै रहने निर्णय गरेका नेपाल त्यसबेलाको ‘१० भाइ’ टोलीमा थिए । २०७७ सालमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका उनले ओलीको उक्त कदमको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा नेपाल बागमती प्रदेशका सांसद एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका थिए । २०७४ बाट उक्त पदमा रहेका उनले २०७७ पुसमा ओलीको कदमको विरोध गर्दै राजीनामा दिएका थिए । 

एमालेकी तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उनका श्रीमान् अमृत बोहराका विश्वासपात्र मानिने नेपाललाई सो समयदेखि निरन्तर पार्टी संगठनभित्र पेलिँदै आएका छन् । वैचारिक र बौद्धिक नेताको रुपमा परिचित उनी विरुद्ध नेतृत्वले सिन्धुपाल्चोककै अर्का नेता सरेश नेपाललाई अघि सारेको थियो । २०७७ को अन्त्यतिर अरुण नेपालको विकल्पका रुपमा सरेश नेपाललाई बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत बनाइएको थियो ।

त्यसो त जिल्ला राजनीतिमा नेपालद्वयको सम्बन्ध पहिलेदेखि नै सौहार्द्धपूर्ण छैन । पार्टीभित्रको अन्तरसंघर्षमा ‘१० भाइ’ समूहमा लागेपछि नेपाललाई सांगठनिक जिम्मेवारी र निर्वाचन दुवैमा पछि पारियो । 

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोकबाट उम्मेदवार बन्ने तयारीमा रहेका उनलाई टिकटबाट बञ्चित गरिएको थियो । उम्मेदवार नै नबनाइएपछि र कुनै ठोस सांगठनिक भूमिका नपाएपछि उनी राजनीतिक गतिविधिमा ओझेलमा परेका थिए । पछिल्लो समय उनी एमालेभित्रको ‘१० भाइ’ समूहकै लिगेसी सहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थिए । हालै सम्पन्न एमालेको अधिवेशनमा (११औं महाधिवेशनको सन्दर्भमा) ईश्वर पोखरेलको टिमबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएपनि उनी पराजित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप