बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

मधेस प्रदेशमा विकराल समस्या बन्दै आत्महत्या

घरेलु हिंसाका एक हजार ८०६ उजुरी
बिहीबार, ०३ पुस २०८२, १९ : ००
बिहीबार, ०३ पुस २०८२

सारांश

  • मधेस प्रदेशमा दैनिक ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ, जसमध्ये महिलाको संख्या अधिक छ।
  • आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या, आर्थिक अभाव, प्रेम सम्बन्धका विवाद र सामाजिक सञ्जाल हुन्।
  • घरेलु हिंसाका १ हजार ८०६ उजुरी दर्ता भएका छन्, जसमा बारामा सबैभन्दा बढी उजुरी परेका छन्।

जनकपुरधाम । मधेस प्रदेशमा आत्महत्या विकराल समस्याका रूपमा स्थापित हुँदै गएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा दैनिक ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म मधेस प्रदेशमा ४४० वटा आत्महत्याका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । जिल्लागत रूपमा सर्लाहीमा सबैभन्दा बढी ६४ र बारामा सबैभन्दा कम ४४ वटा आत्महत्याका घटना दर्ता भएका छन् ।

यस्तै सप्तरीमा ४९, सिरहामा ६३, धनुषामा ६०, महोत्तरीमा ५५, रौतहटमा ५६ र पर्सामा ४९ वटा आत्महत्याका घटना दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेमा महिलाको सङ्ख्या अधिक छ । समीक्षा अवधिमा १५९ महिला, १५० पुरुष, २६ बालक र १०५ बालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले आत्महत्याको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए । उनले भने, ‘वर्षमा १२ सयदेखि १३ सयसम्म आत्महत्याका घटना भएको पाइन्छ । यो अत्यन्त डरलाग्दो अवस्था हो ।’

WhatsApp Image 2025-12-17 at 14.41.50

यस हिसाबले प्रदेशमा दैनिक रूपमा औसत ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । प्रवक्ता थापाका अनुसार मानसिक स्वास्थ्य समस्या, आर्थिक अभाव, प्रेम सम्बन्धका विवाद तथा सामाजिक सञ्जालका कारण बढ्दो एक्लोपन नै आत्महत्याका प्रमुख कारण बनेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोनु कुमार साहले आत्महत्या न्यूनीकरणका लागि सामुदायिक प्रहरीले विद्यालयहरूमा गएर विद्यार्थी भाइबहिनीहरूलाई सचेतना शिक्षा प्रदान गर्दै आएको बताए ।

उनले अभिभावकहरूले पनि आफ्ना छोराछोरी के गर्दैछन् भनेर समय–समयमा निगरानी गर्नुपर्ने औँल्याए । सामाजिक सञ्जालमा धेरै समय बिताउने, परिवारबाट एक्लिँदै जाने, कसैसँग घुलमिल हुन नचाहनेजस्ता बानी–व्यवहार देखिएका किशोर–किशोरीलाई अभिभावकले बेलैमा उनीहरूको समस्या बुझेर उचित सल्लाह र साथ दिनुपर्ने उनको भनाइ छ ।

सामाजिक अभियन्ता सुनिल कुमार साहले आत्महत्या न्यूनीकरणका लागि टोल–टोलमा सचेतनामूलक कार्यक्रम, डकुमेन्ट्री र अन्तरक्रियामा जोड दिनुपर्ने बताए । यसका लागि सबै पक्षको सामूहिक प्रयास जरुरी रहेको उनले प्रस्ट पारे ।

आम नागरिकलाई यसबारे सचेत गराउन ठाउँ–ठाउँमा अभियानकै रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘यो एउटा व्यक्ति, परिवारमात्रको समस्या होइन,’ उनले भने, ‘त्यसैले यसको न्यूनीकरणका लागि पनि समाजका सबै पक्ष सजग भएर सहकार्यमा जुट्न जरुरी छ ।’

अधिवक्ता राजकुमार महासेठ आत्महत्या न्यूनीकरणका लागि पारिवारिक सद्भाव र मेलमिलाप कायम गर्नुपर्नेमा जोड दिन्छन् । ‘सबैले आफ्नो आर्थिक हैसियत अनुसार जीवनशैली अपनाउनु पर्छ । सामाजिक सद्भाव कायम हुनुपर्छ । कामको तनाव वा पारिवारिक तनाव लिनु हुँदैन,’ उनले भने, ‘मस्तिष्कलाई शान्त राख्न दैनिक व्यायाम गर्नुपर्छ ।’

अभिभावकहरूले पनि आफ्नो बालबालिकाका लागि निश्चित समय छुट्ट्याउनुपर्नेमा जोड दिए । आत्महत्या न्यूनीकरणका लागि राज्यपक्षले पनि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

WhatsApp Image 2025-12-17 at 14.45.14

  • घरेलु हिंसाका एक हजार ८०६ उजुरी

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म मधेस प्रदेशमा घरेलु हिंसाका १ हजार ८०६ निवेदन दर्ता भएका छन्, जसमध्ये सबैभन्दा बढी बारामा ४०७ र सबैभन्दा कम सप्तरीमा १७ निवेदन दर्ता भएका छन् ।

यस्तै, सिरहामा २१८, धनुषामा २८६, महोत्तरीमा २६१, सर्लाहीमा १०७, रौतहटमा १६३ र पर्सामा ३४७ यस्ता निवेदन दर्ता भएका छन् ।

घरेलु हिंसाका उजुरीमध्ये ५२ प्रतिशत फर्छ्योट भएको प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी बारामा ७१ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा २५ प्रतिशत उजुरी फर्छ्योट भएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप