शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जीवन विज्ञानले विश्व ध्यान दिवसमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा दुई वटा कार्यक्रम गर्ने

बिहीबार, ०३ पुस २०८२, २० : २८
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्दे जीवन विज्ञान प्रतिष्ठानले दोस्रो विश्व ध्यान दिवसको अवसरमा संयुक्त राष्ट्रसंघमा पुस ४ गते ध्यान सम्बन्धी दुई वटा कार्यक्रम गर्ने भएको छ । 

राष्ट्र सङ्घले विश्व ध्यान दिवसका अवसरमा अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा डिसेम्बर १९ मा आयोजना गरेको ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ र ‘मनलाई जागृत गर्ने शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ विषयक दुई वटा कार्यक्रममा नेपालका तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरुदेवद्वय श्रद्धेय रमेश नेपाल र श्रद्धेय एल पि भानु शर्माले नेपालको तर्फबाट ध्यान गराउने कार्यक्रम तय भएको हो । 

जीवन विज्ञानले प्रेस विज्ञप्ति जारी गर्दै यस कार्यक्रमबाट नेपाल उद्गम स्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुनेछ, जसबाट परापूर्व कालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाएको छ । 

संस्थाका सचिव किरण रुपाखेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘यस कार्यक्रमबाट नेपाललाई विश्वमै एउटा अद्वितीय आरोग्य केन्द्रका रूपमा विकास गर्ने मार्ग खुल्ला हुनेछ । साथै यस कार्यक्रमले मानसिक शान्ति, भावनात्मक सन्तुलन र विश्व शान्तिमा ध्यानको भूमिकालाई समेत उजागर गर्नेछ ।’ 

विज्ञप्तिमा सयाैँ ऋषिमुनिको तपस्या स्थल र बुद्धको जन्मभूमि नेपाल ध्यान, आध्यात्मिक परम्परा, आयुर्वेद र प्राकृतिक चिकित्साको उद्गम थलो रहेको स्मरण गर्दै नेपालले ध्यानमार्फत् व्यक्तिगत सुख, सामुदायिक सद्भाव र विश्व शान्तिका साथै आरोग्य पर्यटनका लागि विश्वस्तरीय सन्देश प्रवाह गर्ने जनाइएको छ । यस कार्यक्रमले आरोग्य पर्यटन प्रवर्धनमार्फत् देशको आर्थिक समृद्धिको ढोका खोल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । 

यसैबिच कार्यक्रमको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले  पुस १ मा एक वक्तव्य जारी गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकी छन् । वक्तव्यमा भनिएकाे छ,‘संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन गइरहेको कार्यक्रमले नेपाललाई विश्वको एक महत्त्वपूर्ण आरोग्य भूमिको रूपमा स्थापित गर्ने कुरामा विश्वस्त छु ।’ 

संयुक्त राष्ट्रसंघले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ । नेपाल यस दिवसको प्रस्ताव गर्ने छ वटा देशमध्ये एक हो, जसले आजको तनावपूर्ण विश्वमा आन्तरिक शान्तिको महत्वलाई अघि सारेको छ । 

कार्यक्रममा संयुक्त राष्ट्रसंघका कर्मचारी, अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप