नेतृत्व जोगियो, प्रश्न बाँकी नै रह्यो
सारांश
- बानेश्वरमा जेनजी युवामाथि ओली सरकारले गोली चलाउँदा १९ जनाको मृत्यु भयो, जसले देशभर आक्रोश फैलायो।
- युवा पुस्ताले सामाजिक सञ्जालमा प्रतिबन्ध र बेथिति विरुद्ध आवाज उठाए, तर ओलीले सत्ता गुमाए।
- एमाले महाधिवेशनमा ओली पुन: निर्वाचित भए तापनि, जेनजी पुस्ताको भावना अनुरुप नेतृत्व चयन हुन सकेन।
काठमाडौँ । भदौ २३ गते अपराह्नतिर संसद् भवन नयाँ बानेश्वर परिसरमा नसोचेको घटना हुन पुग्यो । तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधका साथसाथै भ्रष्टाचार र बेथितिको विरुद्ध ‘डिस्कर्ड’मा जुटेर सडकमा आएका जेनजी युवाहरूमाथि केपी ओली नेतृत्वको तत्कालीन सरकारले अन्धाधुन्द गोली बर्साउन पुग्यो, जुन घटनामा १९ जना जेनजी युवाले अनाहकमा ज्यान गुमाए भने काठमाडौँ बाहिर समेत थप जेनजीको मृत्यु भएसँगै देशभर आक्रोशको माहोल पैदा भयो ।
जेनजीले बेथितिको अन्त्यको माग गरेका थिए, ‘नेपोबेबी’ अभियान चलाएका थिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फकुवाको माग गरेका थिए । देश सिस्टममा चलोस् भन्ने आवाज उठाएका थिए, तर त्यही माग गर्दै सडकमा आएका कलिला युवाहरूमाथि अमानवीय ढंगले दमन भएको थियो ।
भदौ २३ को उक्त घटनापछि २४ गते जेनजीको आक्रोश सडकमा यसरी पोखियो कि बालुवाटारको शक्तिको साँचो समातेका ओलीले सत्ता मात्र होइन, त्यहाँबाट भाग्नुपर्ने परिस्थिति बन्यो । उनी हेलिकप्टरबाट सुरक्षित स्थानमा भागेपछि कैयन् दिन सार्वजनिक हुनै सकेनन् । उनले भाग्नुअघि नै प्रधानमन्त्री पदबाटै राजीनामा दिइसकेका थिए भने जेनजी आन्दोलनका क्रममा भएको घटनाका कारण पार्टीभित्रै समेत आलोचना खेप्नुपरेको थियो ।
यतिमात्रै होइन, एमालेभित्रै पनि उनले नेतृत्व छाड्नुपर्ने आवाज उठ्यो । तर बिहीबार सम्पन्न एमालेको ११औँ महाधिवेशनले आन्दोलनका क्रममा लखेटिएका तिनै ओलीलाई पार्टीका कार्यकर्ताले भारी मतका साथ पुनः नेतृत्वको कुर्सीमा आसीन गराए, जुन आफैँमा विरोधाभाष हो ।
भदौको विद्रोह केवल सरकार ढल्ने प्रक्रिया थिएन, त्यो दशकौँदेखि नेपाली राजनीतिमा जकडिएर बसेको सिन्डिकेट र पुराना अनुहारविरुद्धको सामूहिक वितृष्णा पनि थियो । देशभर भएका तोडफोड, आगजनी र शीर्ष नेताविरुद्धका नाराले एउटा सन्देश प्रस्ट दिएको थियो– अब पुरानै पाराले देश चल्न सक्दैन ।
जेनजी पुस्ताले ओलीलाई यथास्थितिको प्रतीक मानेर सडकबाटै चुनौती दिएको पनि हो । पार्टीभित्रै समेत नेतृत्व हस्तान्तरणको आवाज खुलेआम उठेकै हो । सत्ता गुमाएको एक महिनामै बसेको बैठकमा ओलीको राजीनामा मागिनु त्यसैको संकेत थियो । तर, ओलीले चतुरतापूर्वक त्यो आक्रोशलाई महाधिवेशनको बाटोतिर मोडिदिए । साथसाथै ७० वर्षे उमेरहद हटाएर आफ्ना लागि मैदान सफा पनि गरिसकेका थिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनको परिणामलाई सरसरती हेर्दा एमालेभित्रको आन्तरिक लोकतन्त्र र बाहिरी जनमतबिचको ठुलो खाडल प्रस्ट देखिन्छ । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गरी विजयी हुनुले के देखाउँछ भने बाहिर जतिसुकै आलोचना भए पनि पार्टीको संगठनात्मक संरचनाभित्र ओलीको पकड अझै रहेछ । यसले कार्यकर्ताहरू बाहिरी जोखिमभन्दा ओलीको संरक्षणमै बस्न चाहेको जस्तो देखियो । यसले एमालेको आगामी भविष्य कस्तो होला त्यो घटनाक्रमले देखाउला तर, जेनजी आन्दोलनको भावनाअनुसार नेतृत्व र सिंगो कमिटी चयन भने भएको देखिएन ।
पार्टी पुनर्गठनको पक्षमा खुलेका सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टहरूले अब कसरी अघि बढ्छन् भन्ने कुराले एमालेको भविष्य तय गर्नेछ । जबकि पाण्डे त महासचिवमा पराजित नै भए । अहिलेको निर्वाचन परिणामले ओलीलाई एउटा कम्फर्ट जोन त दिएको छ, तर यसले अहिले बाहिरी पार्टीसँग जुध्न भने सकस पर्न सक्छ ।
छैन रिफर्मको झल्को
अर्को चाखलाग्दो कुरा के छ भने पदाधिकारीको सूचीमा समेत ‘रिफर्म’को झल्को देखिँदैन । उपाध्यक्षमा विष्णु पौडेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा, पृथ्वी सुब्बा गुरुङजस्ता नेताहरूको विजयले ओलीको टिममा पुरानै अनुहार देखिन्छ । भलै उनका अतिप्रिय पात्र विष्णु रिमाल भने उपमहासचिवमा मात्रै होइन, केन्द्रीय सदस्यबाट समेत बढारिए । यद्यपि योगेश भट्टराई र गोकर्ण विष्टका साथै केही युवा नेताहरूले जितेर आफ्नो अस्तित्व त जोगाएका छन्, तर उनीहरूले उठाएको ओलीलाई पार्टीमा संरक्षक बनाउने र कार्यकारी पद युवालाई सुम्पिने एजेन्डा महाधिवेशनको हलभित्र नराम्रोसँग पछारियो ।
महाधिवेशनबाट जेनजी पुस्ताको केही प्रतिनिधित्व पनि भएको छ । तर, जेनजीको भावना केवल उमेरसँग मात्र जोडिएको छैन, यो नयाँ भिजन र नयाँ कार्यशैलीको खोजी पनि हो । पुस्ता डिजिटल इकोनोमी, मेरिटोक्रेसी, ग्लोबल कनेक्टिभिटी जस्ताका कुरा बुझ्ने नेतृत्व चाहन्छ । तर, एमालेको नयाँ भनिएको केन्द्रीय कमिटीमा आएका केही युवा अनुहारहरू पनि पुरानै गुटगत लिगेसीका उत्पादन मात्र हुन् कि भन्ने आशंका छँदै छ ।
जेनजी पुस्ताका लागि नयाँपन भनेको टिकटकमा भिडियो बनाउनु वा फेसबुकमा आक्रामक स्टाटस लेख्नु मात्र होइन । उनीहरूले खोजेको नयाँपन त पार्टी सञ्चालनको पारदर्शी विधि, झोले कार्यकर्ताको अन्त्य र विकासको स्पष्ट ब्लुप्रिन्ट हो । जबसम्म नेतृत्वमा तिनै अनुहार रहिरहन्छन्, जसले दसकौँदेखि पालैपालो सत्ता र शक्ति भोगिरहेका छन्, तबसम्म जेनजीले एमालेभित्र आफ्नो भविष्य देख्न कठिन छ ।
भविष्यको जोखिम
पार्टी पुनर्गठनको पक्षमा खुलेका सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टहरूले अब कसरी अघि बढ्छन् भन्ने कुराले एमालेको भविष्य तय गर्नेछ । जबकि पाण्डे त महासचिवमा पराजित नै भए । अहिलेको निर्वाचन परिणामले ओलीलाई एउटा कम्फर्ट जोन त दिएको छ, तर यसले अहिले बाहिरी पार्टीसँग जुध्न भने सकस पर्न सक्छ ।
अझ फागुन २१ मा चुनाव घोषणा भएको र आम जनतामा नयाँ र पुरानोबिचको बहस रहेकाले त्यसलाई के ओलीले चिर्न सक्छन् भन्ने प्रश्न पनि छँदै छ । यस्तो अवस्थामा एमालेलाई चुनावी राजनीतिमा कति असर गर्ला ? यो गम्भीर प्रश्न हुँदै हो ।
चुनावी नतिजाले ओलीलाई व्यक्तिगत रूपमा त विजयी बनाएको छ, तर एमालेलाई युवामैत्रीका साथसाथै जेनजीको भावनाअनुसार अघि बढाउन महाधिवेशन कति सफल भयो यो समीक्षाको विषय हो । सडकले लखेटेका ओलीलाई कार्यकर्ताले कुर्सीमै त फर्काए, तर के यो कुर्सीले जेनजी पुस्ताको आक्रोश थाम्न सक्ला ? के केवल कार्यकर्ताको मतले मात्र पार्टीको भविष्य सुरक्षित होला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण