बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एक्सप्लेनर एण्ड कमेन्ट्री

जेनजीले फाले, पार्टीमा लालमोहर

शुक्रबार, ०४ पुस २०८२, २० : १७
शुक्रबार, ०४ पुस २०८२

काठमाडौं । ‘ऊ जितेर गई या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ । राज सिग्देलले गाएको यो गीतका हरफ अहिले ठ्याक्कै एमाले अध्यक्ष केपी शर्मा ओलीको हकमा लागु भएको छ । समग्र देशले उनले सत्ता जस्तै पार्टी नेतृत्वबाट पनि बिदा लिनुपर्छ भन्यो, तर उनका कार्यकर्ताले जिताइदिए । जनताको नजरमा हारे कि जिते, चुनावले देखाउला । पार्टीमा चाहिँ अझ शक्तिशाली भएर आए । त्यसैले उनले जिते या हारे, नतिजा चाहिँ आफैंतिर पारेर गए । 

जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट पदच्युत गरेका केपी शर्मा ओलीलाई पार्टी महाधिवेशनले भने तेस्रो कार्यकालका लागि अध्यक्षमा लालमोहर लगाइदिएको छ । नेतृत्व परिवर्तन र हस्तान्तरणको कुरा ‘हात्ती आयो फुस्सा’ जस्तो हुन पुगेको छ । खैर, यो एमालेका प्रतिनिधिहरूको स्वविवेकको निर्णय हो, तर बाहिर जति चर्का कुरा गरेपनि परिवर्तन हुन किन चाहेन एमाले ? भन्ने प्रश्न चाहिँ मज्जैले उठेको छ । 

अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेललाई ओलीले फराकिलो मतान्तरले पराजित गरे । यति मात्रै होइन, केन्द्रीय कमिटी र पदाधिकारीमा ओलीको पकड अझै बलियो बनेको छ । १९ जना पदाधिकारीमध्ये २ जना मात्रै ईश्वर पोखरेल समूहबाट आए- गोकर्ण विष्ट र योगेश भट्टराई । महासचिवमा ओली प्यानलकै शंकर पोखरेल दोहोरिए । 

ओली सत्ताको नेतृत्वमा रहँदा जनतामा तीव्र आक्रोश, त्यो आक्रोश जेनजी आन्दोलनमार्फत पोखिँदा त्यसमा व्यापक दमन, त्यो दमनमा परी २२ जनाको मृत्यु । त्यसपछिको आक्रोशले जे भयो त्यो सर्वविदितै छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ओलीलाई सत्ताबाट घुँडा टेकायो । यतिसम्म कि उनी सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट निस्किनुपर्‍यो । यो सबै किन भयो ? उनीप्रतिको आक्रोशका कारणले । त्यसपछि थुप्रै दिन उनी सार्वजनिक समेत हुन सकेनन् । जुन दिन उनी गुण्डुबाट सार्वजनिक भए, दम्भ तोडियो होला, भदौ २३ को घटनाबारे आत्मालोचना गर्लान् भनेर सर्वसाधारणले सोचिरहेका थिए, त्यसको विपरीत उनी देखा परे । आन्दोलनलाई विदेशीको ईशारामा भएको आरोप लगाए, आफू सत्ताबाट बाहिरिनुको पीडा ओकले,  अनि जेनजी आन्दोलनपछि बनेको सरकारलाई असंवैधानिक भनिदिए । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने भने । अहिले यो रिट अदालतमा विचाराधीन अवस्थामा छ । 


 
गुण्डुमा ओली सार्वजनिक भएपछि बसेको बैठकमा एमालेका तत्कालीन पदाधिकारीमध्ये बहुमत ओलीले नेतृत्वबाट राजीनामा दिनुपर्ने पक्षमा थियो । तर तीव्र दबाबका बिच ओलीले पार्टी महाधिवेशनमा जाने र त्यहीँबाट नेतृत्वको विषय टुंग्याउने प्रस्ताव ल्याएर विषयान्तर गरिदिए । यो प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्दै मंसिर २७ देखि एमालेको ११औं महाधिवेशन गर्ने निर्णय गर्‍यो । पुस ३ गते महाधिवेशन सकियो, रिजल्ट कस्तो आयो भनिरहनै परेन, सुरुमै चर्चा गरियो । 

एमालेको नेतृत्व परिवर्तन गरेरै छाड्ने अठोट लिएर महाधिवेशन चुनावी मैदानमा उत्रिएका ईश्वर पोखरेलले कुल २२ सय २७ मतमध्ये ५६४ मत मात्रै ल्याए । ओलीले १६ सय ६३ मत ल्याए । पोखरेलको प्यानलबाट महासचिव उम्मेदवार बनेका सुरेन्द्र पाण्डे पनि पराजित भए । महासचिवमा फेरि पनि ओली प्यानलकै शंकर पोखरेल दोहोरिए । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा बाहेक अरु पदाधिकारीका उम्मेदवार पराजित भए । सचिव पदमा त ओली प्यानलको क्लीन स्विप नै देखियो । 

यति हुँदाहुँदै पनि ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेले ओलीको दबदबालाई चुनौती दिने साहस देखाएकै हुन् । ‘ओलीलाई तिमी सर्वसम्मत होइनौ है’ भन्ने सन्देश दिन सफल भए । यद्यपि, ७४ वर्षीय ओलीको ठाउँमा ७२ वर्षीय ईश्वर पोखरेल आउँदैमा तात्विक फरक त आउँदैनथ्यो होला । तर पनि नेतृत्व पुस्तान्तरणको ठाउँमा हस्तान्तरण चाहिँ अवश्य हुन्थ्यो । 

यो भयो महाधिवेशनको कुरा । अर्को कुरा, सबैजसो पार्टीमा जेनजी आन्दोलनपछि भूकम्प नै आएको बेला एमालेका प्रतिनिधिहरुले चाहिँ किन परिवर्तन खोजेनन् ? ‘ओली दम्भी छन्, एकोहोरो छन्, हठी छन्’ भनेर एमालेकै नेता कार्यकर्ताले पनि भनेको सुनिन्छ । तर चुन्ने बेलामा ओलीलाई छानेर के सन्देश दिन खोजेका होलान् ? एमाले कार्यकर्ताले जेनजी आन्दोलनपछि भाग्न बाध्य आफ्ना अध्यक्षलाई पुनर्स्थापित गराउनै यस्तो निर्णय लिए ? यसलाई यसै भन्न सकिन्न ।

एक त नेपालका राजनीतिक दलहरूको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया नै संस्थापन पक्ष अनुकूलको छ । तल्लो तहदेखि प्रतिनिधि छनोट भएर आउँदा बहुमत अल्पमतको कुरा हुन्छ । स्वाभाविक रुपमा त्यहाँ संस्थापन पक्षकै व्यक्ति बढी छनोट हुने सम्भावना अधिक हुन्छ । यस्तोमा अध्यक्षको विरूद्ध आउने नयाँ उम्मेदवारले जित्ने सम्भावना सितिमिति बाहेक कम नै हुन्छ । 

यसका केही उदाहरण हेरौं, एमालेको आठौं महाधिवेशनमा तत्कालीन अध्यक्ष झलनाथ खनाल र केपी ओलीबिच प्रतिस्पर्धा भयो । त्यसमा झलनाथले बाजी मारे । नवौंमा झलनाथ थिएनन्, माधव नेपाल र ओलीबिच प्रतिस्पर्धा भयो । त्यसमा ओली विजयी भए । त्यसयता दुईवटा महाधिवेशन भए, ओली नै सर्वेसर्वा देखिए ।

त्यसैले स्पष्ट के हो भने अहिलेको परिस्थितिमा तलदेखि नै जसले आफ्नो गुट शक्तिशाली बनाउन सक्छ, ऊ नै नेतृत्वमा आउने प्रवल सम्भावना हुन्छ । जुन गुटबाट छानिएर आएपनि मतदान गर्ने बेला स्वविवेक प्रयोग गर्दाको हकमा बेग्लै हो । तर नेपालका दलहरुमा यस्तो कुराको परिकल्पना गर्नु अहिले नै हतार हुन्छ । 

एमालेमा नेतृत्व परिवर्तनको व्यापक दबाब हुँदाहुँदै ओली नै फेरि आउनुको मुख्य कारण यही हो । यदि कांग्रेस महामन्त्री गगन थापाले भनेजस्तो सबै क्रियाशील सदस्यले भोट हालेर पार्टीको नेतृत्व चयन गर्ने हो भने रिजल्ट अर्कै आउनसक्छ । 

अब ओलीको ह्याट्रिकपछि नेपाली राजनीतिमा कस्तो प्रभाव पर्छ यसबारे कुरा गरौं । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ओलीले निरन्तर चुनौती दिइरहेका छन् । एमाले र उनको धारणामा अहिलेको सरकार असंवैधानिक ढंगले गठन भएको र संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने छ । अब तेस्रो कार्यकालका केन्द्रीय कमिटीमा प्रचण्ड बहुमतका साथ शक्तिशाली अध्यक्ष बनेपछि ओली अझ आक्रामक हुने मुडमा देखिएका छन् । पुस ३ गते अध्यक्षमा पुन: निर्वाचित भएपछिको पहिलो सम्बोधनमै उनले भने- ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौं, देश ठप्प पार्छौं ।’ हैन, पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यो के बोलेको ? सुन्दै अचम्म लागेन ? यसबाट अब एमाले मुठभेडको स्थितिमा जान त लागेको होइन भन्ने आशंका उत्पन्न भएको छ । जेनजी सरकारले भदौ २३ र २४ को घटना छानबिनका लागि बनाएको जाँझबुझ आयोगलाई बयान नदिने ओलीले बताइरहेका छन् । यसैलाई लक्षित गरेर उनले यो कुरा बोलेका त होइनन् ? 

यसअघिको पदाधिकारी र केन्द्रीय कमिटीमा पनि ओली नै बलियो थिए, तर पदाधिकारीमा रहेका अर्को पक्षका नेताहरुले सन्तुलन कायम गर्न प्रयास चाहिँ गर्थे । अब ओली फुक्काफाल हुने त होइनन् भन्ने पनि देखिन्छ । किनकि उनलाई चुनौती दिनेहरू पार्टी कमिटीमा नगण्य संख्यामा छन् । यसले उनी अझै पनि यसरी नै ‘दम्भी’ देखिए नेपाली राजनीतिमा सहकार्यभन्दा बढी ‘इगो’ हाबी हुने जोखिम बढ्छ । 
 
चुनावमा के होला ? समाजको एउटा तप्कामा यस्तो आक्रोश छ- ‘ओलीकै नेतृत्वमा एमाले चुनावमा गए ठीकै हुन्छ, कमसे कम पत्तासाफ त हुन्छ ।‘ यो आक्रोश मिश्रित कटाक्षमा केही न केही सत्यता छ । ईश्वर पोखरेल अध्यक्ष बनेको भए एमालेले केही न केही सहानुभूति प्राप्त गर्न सक्थ्यो होला पनि, ओलीको नेतृत्वमा चुनावमा जाँदा जेनजी आन्दोलनको मानवीय क्षतिको प्रश्न अवश्य उठ्नेछ । यसको घाटा पार्टीलाई हुँदैन होला भन्न सकिन्न ।
 
यसरी देश एकातिर एमाले अर्कोतिर देखिएको अहिले । आन्दोलनले सबैजसो पार्टीमा रिफर्म खोज्यो, नेतृत्व परिवर्तन खोज्यो, युवाको उपस्थिति खोज्यो । तर…. तर एमालेले पुरानै स्वरूपलाई अनुमोदन गर्दै महाधिवेशनलाई सकायो ।

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप