शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई विद्यार्थी संगठनहरूबिच एकता

शनिबार, ०५ पुस २०८२, १६ : ५५
शनिबार, ०५ पुस २०८२

सारांश

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विद्यार्थी स्वयंसेवक नेपालबीच एकता घोषणा भयो।
  • नयाँ संगठनले विद्यार्थी हकहित र शिक्षा क्षेत्रका बेथिति विरुद्ध लड्ने प्रतिबद्धता जनायो र १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्‍यो।
  • संगठनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा देखिएका चुनौतीहरू विरुद्ध लड्ने जनाएको छ।

काठमाडौँ । दुई विद्यार्थी संगठनहरू अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र विद्यार्थी स्वयंसेवक नेपालबिच एकता घोषणा भएको छ। काठमाडौँमा शनिबार आयोजित एक विशेष समारोहका बिच शिक्षा क्षेत्रमा व्याप्त बेथिति विरुद्ध लड्न र विद्यार्थी हकहितका लागि शक्ति सञ्चय गर्ने उद्देश्यले यी दुई संगठनले एकता गरेका हुन्।

एकता पश्चात् संगठनको नयाँ नाम 'विद्यार्थी स्वयंसेवक नेपाल' राखिएको छ भने एकता प्रक्रियालाई पूर्णता दिन मुक्ति गैरेको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको छ।

एकता घोषणासँगै संगठनले १४ बुँदे सार्वजनिक आधार र प्रतिबद्धता सार्वजनिक गर्दै विश्वविद्यालयदेखि विद्यालय तहसम्म विद्यार्थीको प्राज्ञिक र प्रशासनिक अधिकार सुनिश्चित गर्न 'विद्यार्थी काउन्सिल' को अवधारणा अघि सारेको छ। यस काउन्सिलको प्राप्तिका लागि अनवरत संघर्ष गर्ने अठोट संगठनले लिएको छ। शिक्षा, स्वास्थ्य, आवास र रोजगारी जस्ता नैसर्गिक अधिकारहरू निःशुल्क रूपमा प्राप्त गर्नुपर्ने मागलाई प्रमुख एजेन्डा बनाइएको छ। 'सम्पूर्ण प्रगतिशील तथा देशभक्त विद्यार्थी एक जुट होऔँ' भन्ने मूल नारा र 'तारा र कलमलाई मुठ्ठीले समाएको' नयाँ झण्डा समेत तय गरिएको छ।

नवगठित संगठनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा देखिएका चुनौतीहरू विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय र विश्वविद्यालयमा हुने चरम शोषण, जातीय, लैङ्गिक र क्षेत्रीय विभेदका साथै हिंसा र भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद गर्ने एकता वक्तव्यमा उल्लेख छ। 

संयोजक मुक्ति गैरे र मनु शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्ववियु र विद्यार्थी कल्याणकारी परिषद् जस्ता उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि आन्दोलनलाई उचाइमा पुर्‍याउने उद्घोष गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप