बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ सुरु

शनिबार, ०५ पुस २०८२, २३ : १८
शनिबार, ०५ पुस २०८२

सारांश

  • नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ सुरु भयो, जसमा नेपाल र भारतका पर्यटन व्यवसायीको सहभागिता छ।
  • कन्क्लेभमा धार्मिक पर्यटनको विकास र भारतीय पर्यटकलाई आकर्षित गर्ने विषयमा छलफल भयो।
  • दुई देशका पर्यटन व्यवसायीबीच अनुभव आदानप्रदान र सीमा क्षेत्रमा आउने समस्या समाधानबारे नीति निर्माताबीच छलफल चल्यो।

नेपालगन्ज। नेपालगन्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ शनिबारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको कन्क्लेभमा नेपाल र भारतका पर्यटन साझेदार तथा सरोकार भएका निकायका प्रतिनिधि सहभागी छन् । 

कन्क्लेभको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले धार्मिक पर्यटनका हिसाबले नेपालगन्ज प्रख्यात रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न हामी सबैको साझा प्रयास, समन्वय र सहकार्य आवश्यक पर्ने बताए । 

उनले धार्मिक पर्यटनलाई कसरी बढाउन सकिन्छ भनेर उपमहानगरपालिकाले प्राथमिकतामा राखी योजना बनाइरहेको जानकारी दिँदै नेपालगन्जमा भारतीय पर्यटकलाई सहज वातावरण निर्माणको प्रयत्न गरिने बताए । 

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बाँकेमा पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

भारतीय टुर अप्रेटर शैलेश अग्रवालले भारतीय पर्यटकलाई हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिन नहुने बताए । टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा सन्देह राख्नुपर्ने अवस्थाको अन्त्य जरुरी रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई कानुनी झमेला भन्दा पारिवारिक वातावरण दिनुपर्ने बताए । 

होटल एसोसिएसन अफ नेपाल (हान), बाँकेका दिवाकर खनालले पशुपति, केदारनाथ, जनकपुर अयोध्या र लुम्बिनी बोधगया सर्किट बनाएर पर्यटन विकास गर्न सकिनेमा जोड दिनुभयो । वागिश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटनको विकास हुने बताए । 

नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले दुवै देशका पर्यटन साझेदार, सरोकार भएकालाई एउटै थलोमा ल्याएर पर्यटन प्रवर्द्धनमा देखिएका अवरोध हटाउन सहयोग पुग्ने उल्लेख गर्दै नेपाल र भारतबिचका पर्यटन व्यवसायीमा अन्तरसम्बन्ध विकास गर्नुपर्नेमा जोड दिए । 

तीस जना भारतीय टुर अपरेटरसहितको सो कार्यक्रममा ३२ वटा स्टलसमेत राखिएका छन् । टुर अपरेटरलाई ग्रामीण पर्यटनका बारेमा जानकारी दिँदै बाँके राष्ट्रिय निकुञ्जमा आइतबार जङ्गल सफारी गराउने कार्यक्रम रहेको पूर्वअध्यक्ष सिग्देलले बताए । 

दुवै देशको पर्यटन व्यवसायको अनुभव आदानप्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सीमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्नका लागि नीति, निर्माताबिच छलफल भएको थियो । 

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ महत्त्वपूर्ण कार्यक्रम रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप