मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राप्रपा विवाद

राप्रपा उम्मेदवार सिफारिस : काठमाडौँ–१ मा रवीन्द्र मिश्रको नाममा लफडा

मङ्गलबार, ०८ पुस २०८२, १६ : १८
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रममा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाममा विवाद भएको छ।
  • काठमाडौं-१ मा दुई समूहले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेपछि विवाद सुरु भएको हो, जसमा मिश्र र पशुपति शमशेर राणाको नाम समावेश छ।
  • मिश्रले टिकट पाउनुपर्ने अडान लिएका छन् भने, पार्टीको संसदीय समितिले उम्मेदवारबारे अन्तिम निर्णय गर्नेछ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उम्मेदवार सिफारिसको क्रम चलिरहँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम सिफारिसमा लफडा भएको छ । 

फागुन २१ गते तय भएको निर्वाचनका लागि राप्रपाले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय कमिटीहरूलाई परिपत्र गरिसकेको छ ।  सोहीअनुसार उम्मेदवारको सिफारिस गर्ने क्रम चलिरहँदा काठमाडौँ–१ मा छुट्टाछुट्टै दुई वटा नामावली सिफारिस भएको हो । 

एउटा समूहले पुस १ गते नै पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सहकोषाध्यक्ष सोभित उप्रेतीलगायतको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । अर्को समूहले फेरि बैठक बसेर रवीन्द्र मिश्रलगायतको नाम सिफारिस गरेपनि विवाद सतहमा आएको हो । 

राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पुस १ गते बसेको क्षेत्रीय कमिटीको बैठकले  पूर्वअध्यक्ष पशुपति शम्शेर राणापशुपति शमशेर राणाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरेको बताए । उनका अनुसार प्रत्यक्षतर्फ राणासहित शोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।  संस्थापन निकट दाबी गरिएको समूहले उप्रेतीलाई उम्मेदवार बनाउने उद्देश्यका साथ सो सिफारिस गरेको बताइएको छ । सोहीअनुसार एकपक्षीय रूपमा मिश्रको नाम नै सिफारिस नगरिएको दाबी गरिएको छ । 

त्यसपछि पुस ६ गते फेरि क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठकै अध्यक्षतामा बैठक बसेर अर्को नाम सिफारिस गरियो । उक्त सिफारिसमा मिश्रलाई एक नम्बरमा राखेर सिफारिस गरियो भने सिफारिस हुने अन्यमा रामेश्वर श्रेष्ठ र राम तुलाधर हुँदा सोभित उप्रेतीलाई भने समेटिएन । 

मिश्र निकट मानिने राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले मिश्रको नाम सिफारिस भएको निर्णय नै आधिकारिक भएको बताए । सो अघि सिफारिस भएको भनिएपनि सिफारिस गर्न राखिएको बैठक नै अनधिकृत भएको उनको जिकिर छ ।

स्रोतका अनुसार काठमाडौँ–१ बाट दुई पटक पराजित भइसकेका मिश्रलाई पाखा लगाएर उप्रेती आफूलाई उम्मेदवारको रूपमा खडा गर्न चाहन्छन् । सोहीअनुसार उनले मिश्रलाई पाखा लगाएर केन्द्रमा सिफारिस गरेको स्रोतको भनाइ छ । तर, मिश्र पनि आफूले नै टिकट पाउनुपर्ने भन्दै लागिपरेको हुन् । 

rabindra sifaris

राप्रपामा क्षेत्रीय कमिटीबाट भएको सिफारिसका आधारमा पार्टीको संसदीय समितिले टिकटबारे अन्तिम निर्णय गर्ने व्यवस्था छ । 

किर्तेको आरोप

विवादकै बिच मिश्रले पार्टीका पूर्व अध्यक्ष पशुपतिशमशेर राणाको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत क्षेत्रीय समितिको निर्णयलाई चुनौती दिएकाे मदनदास श्रेष्ठको भनाइ छ । उनले भने, ‘म सहितको उपस्थितिमा ११ जना सदस्यले गरेको निर्णय सार्वजनिक भैसकेको छ। हामीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिस गरिएका उम्मेदवारबारे स्पष्ट पारेका छौं । रवीन्द्रजी सिफारिसमा परेका छैनन् । उनले अवैध ढंगले आफैले सिफारिसको हल्ला मच्चाएपछि हामीले बैठक बसेर त्यो भ्रममा नपर्नु आग्रह गरेका हौं ।’ 

उनका अनुसार पहिलो नम्बरमा रहेका राणालाई उम्मेदवार बन्दिनँ भन्ने हक छ । उनी नभए दोस्रो नम्बरका शोभित उप्रेती स्वतः उम्मेदवार बन्ने उनको दाबी छ । ‘जहाँसम्म रवीन्द्र मिश्रको सिफारिस भएको कुरा छ, त्यो शतप्रतिशत बेइमानी र कीर्ते हो । मिश्र सिफारिस भएको पत्रको मितिबाटै त्यो गलत भएको सिद्व हुन्छ’, उनले भने । उसो त मिश्रको नाम सिफारिस भएको पत्र नै भदौ ६ को मिति रहेको छ । जुन जेनजी आन्दोलनभन्दा अघिको हो । 

यसबारे विवाद बढेपछि सोमबार मिश्रले पशुपतिशमशेरको भिडियो आफैले सामाजिक सञ्जालमा राखेका थिए ।  

राप्रपाको उम्मेदवार सिफारिससम्बन्धी परिपत्रमा के छ ?

राप्रपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न मंसिर २८ मै मातहतका जिल्ला समितिहरूलाई परिपत्र जारी गरेको थियो। महामन्त्री राजेन्द्र गुरुङद्वारा हस्ताक्षरित उक्त परिपत्रमा पुरानालाई समानुपातिकमा रोक लगाइएको छ ।  २०६४ सालको संविधानसभा निर्वाचनदेखि हालसम्म समानुपातिक प्रणालीबाट सांसद (संविधानसभा/प्रतिनिधि सभा/प्रदेश सभा) भइसकेका व्यक्तिहरूलाई यसपटक समानुपातिक उम्मेदवारमा सिफारिस नगरिने उल्लेख छ । 

यसैगरी प्रत्यक्षतर्फको सिफारिसमा नयाँलाई प्राथमिकतामा राख्ने उल्लेख छ ।  जसअनुसार आन्दोलनको मर्मलाई आत्मसात गर्दै नयाँ अनुहारलाई अवसर दिने नीति पार्टीले लिएको छ।  प्रत्येक प्रतिनिधि सभा क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ महिलासहित ३/३ जनाको नाम सिफारिस गरी पठाउनुपर्नेछ भने पार्टीमा निरन्तरता, योग्यता, लोकप्रियता, योगदान र चुनाव जित्ने सम्भावना बोकेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।  परिपत्रअनुसार नै सिफारिस अन्तिम चरणमा पुगेको राप्रपाको भनाइ छ । 

605012817_25825215960398087_7489710811541308341_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप