मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ

मङ्गलबार, ०५ साउन २०८३, १५ : २१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यो हारको घाउ निको हुन समय लाग्ने बताएका छन् ।
  • उनले समर्थकहरूलाई निरन्तर साथ र विश्वासका लागि हृदयदेखि धन्यवाद दिँदै टोलीले लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेर ठुलो उपलब्धि हासिल गरेको उल्लेख गरे ।
  • यस विश्वकपमा मेस्सीले विश्वकप कीर्तिमान तोड्दै २१ गोल गरे पनि गोल्डेन बुट एमबाप्पेले जितेका थिए ।

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले स्पेनसँग विश्वकप फाइनलमा पराजित भएपछि आफू र सम्पूर्ण टोली गहिरो पीडामा रहेको बताएका छन् । उनले यो हारको घाउ निको हुन समय लाग्ने स्वीकार गर्दै समर्थकहरूलाई निरन्तर साथ र विश्वासका लागि हृदयदेखि धन्यवाद दिएका छन् ।

अमेरिकाको न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा आइतबार भएको फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो । यो खेल मेस्सीको विश्वकप करियरको अन्तिम खेल हुन सक्ने व्यापक चर्चा भइरहेको छ, यद्यपि उनले आफ्नो अन्तर्राष्ट्रिय भविष्यबारे कुनै औपचारिक घोषणा गरेका छैनन् ।

फाइनलको समाप्तिपछि मैदानमै भावुक देखिएका ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत स्पेनलाई उपाधिको बधाई दिँदै अर्जेन्टिनाका समर्थकप्रति आभार व्यक्त गरे ।

रजत पदक हातमा लिएको आफ्नो तस्बिरसँगै उनले लेखेका छन्, 'पीडा असह्य छ र यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले सिर्जना गरेका सुन्दर सम्झनाहरू, अन्तिमसम्म लडेर जितेका खेलहरू र सिंगो देशबाट पाएको साथ सधैं सम्झनामा रहनेछन् ।'ु

मेस्सीले कठिन परिस्थितिमा पनि टोलीले लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेर ठुलो उपलब्धि हासिल गरेको उल्लेख गरे । अहिले पराजयको पीडाका कारण त्यसको महत्त्व पूर्ण रूपमा महसुस गर्न नसकिए पनि भविष्यमा त्यसको मूल्य अझ स्पष्ट हुने उनको विश्वास छ ।

उनले भने, 'अहिले हाम्रो उपलब्धिको वास्तविक महत्त्व महसुस गर्न गाह्रो छ । तर यो टोलीले लगातार दोस्रो विश्वकप फाइनल खेलेको छ, जुन आफैंमा गर्वको विषय हो ।'ु

अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । त्यस उपाधिले मेस्सीको लामो फुटबल यात्रामा बाँकी रहेको सबैभन्दा ठुलो सपना पूरा गरेको थियो ।

उत्तर अमेरिकामा आयोजित २०२६ विश्वकपमा पनि अर्जेन्टिना उत्कृष्ट टोलीमध्ये एक रह्यो । सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल पुगेको अर्जेन्टिना भने स्पेनको बलियो रक्षापङ्क्तिविरुद्ध संघर्षरत देखियो । स्पेनले अर्जेन्टिनालाई पूरै खेलभर गोलतर्फ एकपटक पनि प्रभावकारी प्रहार गर्न दिएन ।

विश्वकपकै क्रममा ३९ वर्ष पुगेका मेस्सी सन् २०३० को विश्वकप आयोजना हुँदा ४३ वर्षका हुनेछन् । त्यस विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ । उनले भविष्यबारे केही नबोलेकाले उनले अर्को विश्वकप खेल्ने वा नखेल्ने विषय अझै खुला नै रहेको छ ।

मेस्सीले आफ्नो सन्देशमा समर्थकहरूको समर्थनलाई विशेष रूपमा स्मरण गरे ।

उनले लेखे, 'प्रत्येक शुभकामना र सन्देशका लागि हृदयदेखि धन्यवाद । फेरि एकपटक हामी सबै अर्जेन्टिनी एउटै भावनामा एकजुट भयौं र आफ्नो देशप्रति गर्व गर्ने अवसर पायौं । उनले नयाँ विश्वविजेता स्पेनलाई पनि बधाई दिँदै उपाधि जित्न सफल भएकोमा शुभकामना व्यक्त गरेका छन् ।

यस विश्वकपमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको विश्वकप कीर्तिमान तोड्दै आफ्नो कुल गोलसंख्या २१ पुर्‍याएका थिए । तर फ्रान्सका किलियन एमबाप्पेले २२ गोल गर्दै उनलाई उछिने । गोल्डेन बुटको दौडमा पनि एमबाप्पे १० गोलसहित शीर्ष स्थानमा रहे भने मेस्सीले आठ गोल गरे ।

यसैबिच अमेरिकी सञ्चारमाध्यम ईएसपीएनका अनुसार विश्वकपको थकानबाट पुनःस्वास्थ्य लाभ गर्न मेस्सी र अर्जेन्टिनी तथा इन्टर मियामीका उनका सहकर्मी रोड्रिगो डे पाउलले मेजर लिग सकरका आगामी दुई नियमित खेल तथा एमएलएस अल–स्टार खेल गुमाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप