शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुदूरपश्चिमका महिला जनप्रतिनिधि

अधुरा काम पूरा गर्न दोहोरिएर आउन चाहन्छन् महिला जनप्रतिनिधि

मङ्गलबार, ०८ पुस २०८२, १६ : ००
मङ्गलबार, ०८ पुस २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये दुईवटामा महिलाले नेतृत्व गरिरहेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिकाकुमारी चलाउने छिन् भने कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही ।  

यी दुईबाहेक अन्य पालिकामा भने महिलाहरू उपमेयरमै सीमित भए । हाल विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको जिम्मेवारीमा बसेर नेतृत्व गरिरहेका महिलाहरूले आ-आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गरिरहेका छन् । स्थानीय तहको अर्को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ । आफ्नो कार्यकालका अधुरा काम र योजना पूरा गर्न आगामी निर्वाचनमा दोहोरिएर जिम्मेवारी लिने सोचमा चलाउने र शाही देखिन्छन् । 

लम्कीचुहा नगरपालिकाकी मेयर शाही अधुरा काम पूरा गर्न फेरि नेतृत्वमा आउन चाहेको बताउँछिन् । मेयरको कुर्सीमा बसेपछि नगरको विकासका लागि आफूलाई पूर्णरूपमा समर्पित गरेको उनी दाबी गर्छिन् । 

‘कर्णालीको पानी लम्कीबासीलाई’ भन्ने नाराका साथ करिब ९२ करोड रुपैयाँको लागतमा सुरु भएको खानेपानी आयोजना उनको सबैभन्दा ठुलो प्राथमिकता हो । भविष्यमा २–३ अर्बसम्म पुग्ने यो आयोजनाले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनेछ ।

Sushila Shahi1

यस्तै अर्को काम नगरभित्र सडक कालोपत्रे, नाला निर्माण, पुल–पुलेसा र अन्य संरचना निर्माणले तीव्रता पाएको छ । महिलाहरूका लागि छुट्टै ‘महिलामैत्री पार्क’ निर्माण भएको छ । अतिविपन्न र सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने शववाहन सबैका लागि निःशुल्क छ । नगरवासीको सहजताका लागि नगर बस सञ्चालन गर्ने योजना अन्तिम चरणमा छ ।

लम्कीचुहा नगरपालिकाले हरेक वडामा विद्यालय भवन निर्माण र अस्पतालहरूको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । उनका अनुसार काम गर्न जति सजिलो देखिन्छ, चुनौतीहरू उत्तिकै छन् ।

‘जनताको अपेक्षा धेरै छ, जुन स्वाभाविक हो । कहिलेकाहीँ १००–२०० रुपैयाँमा हुने सानो कामको लागि पनि नगरपालिकालाई नै गुहार्ने प्रवृत्ति छ,’ उनी भन्छिन् । 

राजनीतिक दबाब र स्रोतसाधनको सीमितताबिच काम गर्नुपर्दा अनेकौं कठिनाइ आउने उनी स्विकार्छिन् । हालै भएको जेनजी आन्दोलनमा उनले मध्यरातसम्म बसेर स्थितिलाई सामान्य बनाएकी थिइन्, जसले उनको नेतृत्व क्षमतालाई थप प्रमाणित गरेको छ ।

शाही महिलालाई राजनीतिमा आउन मात्र होइन, आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्न सधैँ प्रेरित गर्छिन् । ‘महिलाहरू सबैभन्दा पहिले आत्मनिर्भर हुनुपर्छ । आर्थिक रूपमा कसैको भर पर्नु हुँदैन । जबसम्म तपाईं आर्थिक रूपमा बलियो हुनुहुन्न, तपाईंको आवाज कमजोर हुन्छ,’ उनी भन्छिन् । 

महिलाले राजनीतिमा टिक्न आफ्नो सिद्धान्तमा अडिग रहनुपर्छ र चरित्रमाथि कसैले औंला उठाउने मौका दिनु हुँदैन । ‘मैले चुनाव हारेको भए मेरो चरित्रमाथि प्रश्न उठ्थ्यो, तर पुरुषले हार्दा उसको क्षमतामाथि मात्र कुरा हुन्छ । यो विभेद हामीले भोगिरहेका छौँ,’ उनी भन्छिन् ।

आफ्नो पाँचवर्षे कार्यकालमा सुरु गरिएका योजनालाई पूर्णता दिन र लम्कीचुहालाई नमुना नगरपालिका बनाउने आफ्नो लक्ष्य रहेको शाही बताउँछिन् । 

‘अधुरा काम पूरा गर्न र जनताको सेवा गर्न म फेरि पनि चुनाव लड्न तयार छु,’ उनी भन्छिन् । मेयर सुशीलाको जस्तै अन्य पालिकामा उपाध्यक्ष भएर नेतृत्व गरिरहेकाहररु पनि आगामी स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने चाहना राखिरहेका छन् ।  

डोटीको आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामीको पालिकामा फेरि दोहोरिएर काम गर्ने इच्छा छ । उपाध्यक्षमा निर्वाचित भएपछि वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको आदर्श गाउँपालिकामा आदर्श बृहत् खानेपानी आयोजना सुरु गरिएको उनी बताउँछिन् । नेपालकै दोस्रो ठुलो मानिएको यो आयोजना आफ्नो पालिकामा सुरु गर्नु आफ्नो टिमको सबैभन्दा ठुलो सफलता भएको धामीको दाबी छ । 

उनको कार्यकालमा सामान्य उपचारका लागि पनि सिलगढी वा धनगढी धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै सुविधासम्पन्न १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाले निजी स्रोतका करिब ५२ जना शिक्षकलाई तलबको व्यवस्था मिलाएर विद्यालयको शैक्षिक सुधारमा उल्लेखनीय काम गरेको छ । किशोरीहरूका लागि आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम र बालविवाह न्यूनीकरण गर्न सबै वडामा बाल क्लब गठन गरिएको छ ।

‘हाम्रो पालिकामा महिला तथा किशोरीको क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम पनि दिने गरेका छौँ, गाउँमा महिला तथा किशोरी आफ्नो नाम भन्न बोल्न पनि डराउने अवस्था छ, उनीहरुलाई अगाडि बढाउन यो काम गरेका हौँ,’ उनी भन्छिन् । 

Doti Adarsha Gaupalika

सीपमूलक तालिममार्फत महिला तथा युवाहरूलाई सिलाइकटाइ, ब्युटिसियन, चप्पल बनाउने, दुनाटपरी उद्योग जस्ता आयआर्जनका काममा संलग्न गराइएको छ । गर्भवती महिला, स्वयंसेविका र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ ।

‘हामीले व्यक्तिगत र टुक्रा योजनाभन्दा पनि सिङ्गो गाउँपालिकाको हितमा देखिने काम गरेका छौँ,’ उनी भन्छिन् । 

दुई सन्तानकी आमाको जिम्मेवारी र गाउँपालिकाको नेतृत्वलाई सँगै कुशलतापूर्वक अगाडि बढाइरहेकी छिन् धामीले । 

डोटीको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुनाकुमारी बोहरा पनि आफूले गरेका कामलाई निरन्तरता दिन अब प्रमुख भएर काम गर्न चाहन्छिन् । यसअघि दुई पटक उपाध्यक्ष भइसकेकी उनी आगामी स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व लिने दाउमा छिन् । 

Jorayal Gaupalika

बोहरा २०७९ सालमा दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएकी हुन् । ‘हामीले भ्रष्टाचार गर्नु हुँदैन, जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छिन् । उनी आफ्नो कार्यकालमा सबै वडालाई सदरमुकामसँग जोड्ने र वडाभित्रका टोलटोलमा सडक पुर्‍याउने कामलाई प्राथमिकता दिइएको बताउँछिन् । 

हरेक वडालाई ‘पकेट क्षेत्र’ घोषणा गरी बाख्रा, भैंसी, तरकारी, मसला र फलफूल खेतीलाई प्रोत्साहन गरिएको पनि उनी बताउँछिन् । यस्तै उनको कार्यकालमा हरेक टोलबस्तीमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । प्रत्येक तीन–तीन महिनामा सार्वजनिक सुनुवाइ र वार्षिक रूपमा सामाजिक परीक्षण गरेर पारदर्शिता कायम गरिएको छ । न्यायिक समितिको संयोजकको रूपमा उनले जिल्लामै उत्कृष्ट काम गरेबापत अवार्ड समेत पाएकी छन् ।

‘कर्मचारीतन्त्रको असहयोग र राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न गाह्रो हुँदो रहेछ,’ उनी आफ्नो अनुभव सुनाउँछिन् । पछिल्लो समय भएको जेनजी आन्दोलनले राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि एउटै डालोमा हालिदिँदा मनोबल घटेको उनी गुनासो गर्छिन् । 

आफ्ना दुई छोरालाई उच्च शिक्षा दिएर सक्षम बनाइसकेकी जमुना अब आफ्नो बाँकी जीवन पूर्णरूपमा समाजसेवा र राजनीतिमा लगाउन चाहन्छिन् । उनी महिलाहरू उपाध्यक्षमा मात्र सीमित नभएर अध्यक्ष र प्रदेश तथा संघको नेतृत्वमा पुग्नुपर्छ भन्ने विश्वास राख्छिन् । ‘अबको मेरो लक्ष्य कार्यकारी पदमा रहेर जनताको सेवा गर्नु हो,’ उनी भन्छिन् । 

डडेलधुराको विकट गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानुकुमारी सेटी आफ्नो साढे तीन वर्षको कार्यकालमा गन्यापधुरा गाउँपालिकामा केही नमुना कामहरूको नेतृत्व गरेको दाबी गरेकी छन् । उनले सोही कामलाई पूरा गर्न फेरि नेतृत्व लिने अडानमा छिन् ।

निर्वाचित भएलगत्तै अध्यक्ष र उपाध्यक्षको पहिलो निर्णय थियो, जनप्रतिनिधिले पाउने सेवासुविधाबाट रकम कटौती गरेर एउटा कोष स्थापना गर्ने । यही निर्णयबाट ‘जनप्रतिनिधि राहत कोष’ स्थापना भयो । यो कोषमार्फत पालिकाभित्रका दीर्घरोगी, गरिब, विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरिन्छ । यो देशका ७५३ पालिकामध्ये गन्यापधुराको नमुनाको काम हो ।

Gyanu Kumari Shetti

वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका गन्यापधुराबासीका लागि ‘एक घर, एक धारा’ अभियानले ठुलो राहत दिएको छ । यो अभियान मार्फत पालिकाका अधिकांश घरधुरीमा सफा खानेपानीको पहुँच पुर्‍याइएको छ । जुन यस कार्यकालको सबैभन्दा ठुलो उपलब्धिका रूपमा लिइएको छ ।

ज्ञानुको नेतृत्वमा महिला उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् । महिलाहरूको नाममा फर्म दर्ता गराई उनीहरूलाई आत्मनिर्भर बनाउन अनुदान र तालिमको व्यवस्था गरिएको छ । पालिकालाई पोषणमैत्री र बालमैत्री घोषणा गरिएको छ ।

‘अध्यक्ष-उपाध्यक्षसँग विशेष कार्यक्रम’ मार्फत सुत्केरी आमा (हजार दिने) र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पोषण र शिक्षामा सहयोग गरिँदै आएको छ । पालिकाले आफ्नै शिक्षा ऐन बनाएर शैक्षिक सुधारका लागि महत्त्वपूर्ण कदम चालेको छ ।

राजनीतिक जीवनमा धेरै काम गरेपनि ज्ञानुको मनमा एउटा सपना अझै बाँकी छ- दीर्घरोगीहरूको निःस्वार्थ सेवा गर्ने । ‘मान्छेलाई रोजगारी दिएर खान–लाउन सहज बनाउन सकिन्छ, तर जब कुनै व्यक्ति गम्भीर रोगले थलिन्छ, उसको जीवन सबैभन्दा कष्टकर हुन्छ । मैले त्यस्ता व्यक्तिहरूको उपचार र जीवन सहज बनाउनका लागि केही गर्न पाएँ भने मेरो आत्माले शान्ति पाउँछ,’ उनी भन्छिन् ।  यही सपना पूरा गर्न उनी भविष्यमा कार्यकारी भूमिकामा रहेर काम गर्न चाहन्छिन् ।

उनी युवाहरूलाई कसैको इशारामा नलागी आफ्नो विवेक प्रयोग गरेर समाज परिवर्तनका लागि एकजुट हुन आग्रह समेत गर्छिन् । परिवर्तनको संवाहक युवा नै भएकाले सकारात्मक सोचका साथ अघि बढेमा देशको भविष्य उज्ज्वल रहेको उनको धारण छ ।

यस्तै बझाङको साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङमा पनि अब प्रमुख भएर नेतृत्व गर्ने चाहना छ । २०७९ सालको निर्वाचनमा जनताको बलियो माग र विश्वासका साथ उनी उपाध्यक्षमा निर्वाचित भइन् ।

उनका अनुसार साइपाल गाउँपालिकाको नेतृत्व गर्नु आफैँमा एउटा ठुलो चुनौती हो । सडक सञ्जालले नछोएको, विकासको पूर्वाधार शून्यप्रायः भएको त्यो ठाउँमा काम गर्नु सजिलो थिएन । साढे तीन वर्षको कार्यकालमा उनले साइपाललाई सडक सञ्जालसँग जोड्नका लागि ट्रयाक खोल्ने काम हुनु प्रमुख उपलब्धिका रूपमा हेरेकी छन् । पालिकाको सीमित बजेटबाट करिब १० किलोमिटर ट्रयाक खोलिएको छ । अब छिमेकी पालिका तलकोट गाउँपालिकासँग जोडिन ४–५ किलोमिटर बाँकी छ ।

Dolma Tamang

यस्तै आफ्नो कार्यकालमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गर्नुपर्ने बाध्यता अन्त्य गर्न १० शय्याको अस्पताल निर्माण कार्य ९० प्रतिशत सकिनु पनि अर्के मुख्य उपलब्धि मानिएको डोल्माको भनाइ छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत महिलाहरूको पाठेघर खस्ने र सेतो पानी बग्ने जस्ता समस्याको उपचारका लागि ठुलो स्वास्थ्य शिविर सञ्चालन गरियो । गम्भीर बिरामी तीन महिलाको कोहलपुरमा निःशुल्क शल्यक्रिया समेत गराइएको उनी बताउँछिन् । 

२० वर्ष पूरा गरेर विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने कार्यक्रमले बालविवाह रोक्न महत्त्वपूर्ण भूमिका खेलेको डोल्माको विश्वास छ । छोरी जन्माउने आमालाई २ हजार पुरस्कार दिएर समाजमा छोरीप्रतिको दृष्टिकोण बदल्ने प्रयास गरिएको उनी बताउँछिन् ।

५० वर्षमाथि एकल पुरुषलाई एकल भत्ता भनेर मासिक २ हजार भत्ता दिने काम पनि गरेको छ । ‘सोचेजति काम गर्न नसकिएला, हामीले हरसम्भव प्रयास गरिरहेका छौँ । यो भूगोलमा एउटा सामानको मूल्य ढुवानीले गर्दा दोब्बर पर्छ, हामीले हिम्मत हारेका छैनौँ,’ उनी भन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप