बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाली महिला टोली विश्वकपमा छनोट हुने बलियो सम्भावना: मुख्य प्रशिक्षक पाठक

मङ्गलबार, ०८ पुस २०८२, १६ : ४६
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नवनियुक्त प्रशिक्षक हर्षल पाठकले नेपाल विश्वकपमा छनोट हुने सम्भावना रहेको बताए।
  • उनले खेलाडीको मनोबल उच्च रहेको र योजना सफल भए नतिजा राम्रो आउने धारणा राखे।
  • नेपालले जनवरीमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ, जसमा बलिया टोलीसँग प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाल विश्वकपमा छनोट हुने राम्रो सम्भावना रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार मूलपानी मैदानमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै पाठकले नेपाली टोलीको पछिल्लो प्रदर्शन र क्षमतालाई हेर्दा विश्वकपको यात्रा तय गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् । 

नेपाल आएपछि यहाँको क्रिकेट वातावरण निकै उत्साहपूर्ण पाएको भन्दै उनले खेलाडीहरूको मनोबल उच्च रहेको उल्लेख गरे। मुख्य प्रशिक्षक पाठकले टोलीको योजनालाई प्रभावकारी रूपमा मैदानमा उतार्न सके उत्कृष्ट नतिजा निकाल्न कठिन नरहेको धारणा राखेका छन्। 

harshal pathak (3)

प्रशिक्षणका क्रममा खेलाडीहरूको फिल्डिङमा केही सुधार गर्नुपर्ने देखिए पनि समग्र टोलीको अवस्था सन्तोषजनक रहेको र छिट्टै सुधार आउने उनले बताए। क्यानले पाठकलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो र उनको प्रमुख लक्ष्य आगामी ग्लोबल छनोटमा नेपाललाई सफल बनाउनु रहेको छ।

नेपाली महिला टोलीले आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। नेपाल रहेको समूह 'बी' मा थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया टोलीहरू छन् भने समूह 'ए' मा बंगलादेश र आयरल्यान्ड लगायतका देश रहेका छन्। 

harshal pathak (1)

दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् भने छनोटको अन्तिम नतिजामा शीर्ष ४ भित्र पर्न सके नेपालले अर्को वर्ष हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप