बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
न्यायालय

प्रतिनिधिसभा पुनर्स्थापनाकाे मागसहित ६८ सांसदको पूरक रिटमा आज पेसी

बुधबार, ०९ पुस २०८२, ०७ : ३१
बुधबार, ०९ पुस २०८२

सारांश

  • प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कांग्रेससहितका ६८ सांसदले हस्ताक्षरसहितको पूरक रिट दायर गरेका छन्।
  • सांसदहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा हस्ताक्षर गरेका हुन्, जसमा जसपा, जनमत पार्टी र एक स्वतन्त्र सांसदको पनि समर्थन छ।
  • यसअघि एमालेका ७५ सांसदले पनि पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन्, जसले बहुमत पुर्‍याउँछ।

काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको छ । 

हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । आज त्यसमा थप ६० सांसद हस्ताक्षर दर्ता गरिएको खातीले बताए ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् । 

उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।

एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले  रिट दायर गरिसकेका छन् । एमालेले मङ्सिर १० गते र कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए ।

अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १४३ हुन्छ ।

एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो । 

बहुमत सांसदले माग गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना गर्न सहज हुने कांग्रेस–एमालेको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप