राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेश अन्तर्गतका ३ सिटमा दलहरूको यस्तो छ तयारी
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको निर्वाचन माघ ११ गते हुने भएको छ, जसमा ३ जना सदस्य चयन हुनेछन्।
- निर्वाचनका लागि दलहरूले उम्मेदवार छनोटको आन्तरिक तयारी सुरु गरिसकेका छन्, जसमा कांग्रेस, एमाले र नेकपाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
- लुम्बिनी प्रदेशमा कांग्रेससँगै एमाले र माओवादी केन्द्रको मतभार रहेको छ, साना दलहरूले गठबन्धन गर्ने रणनीति बनाएका छन्।
बुटवल । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको चटारो लुम्बिनी प्रदेशमा पनि देखिएको छ । राष्ट्रिय सभाका एक तिहाइ सिटका लागि हुन गइरहेको निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत ३ जना सदस्य चयन हुनेछन् ।
निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन तालिका घोषणा गरिसकेको छ । जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ । निर्वाचनको मिति नजिकिएसँगै दलहरू उम्मेदवार छनोटमा लागि आन्तरिक तयारीमा जुटिरहेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचनको तयारी सुरु भइसकेको जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत खुला, महिला र आपङ्गता क्लस्टरबाट एक–एक गरी तीन जना चयन हुनेछन् ।
एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, आपङ्गतातर्फ माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । जुन क्लस्टरबाट पद रिक्त हुने हो, सोही क्लस्टरबाट नयाँ सदस्य चयन हुने प्रावधान छ ।
- दलहरूको तयारी के छ ?
लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभामा रिक्त तीन सिटका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच मुख्य प्रतिस्पर्धा देखिन्छ । प्रमुख तीन दलबिचको प्रतिस्पर्धामा अन्य साना दलको भूमिका निर्णायक हुन सक्ने आकलन गरिएको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका अध्यक्ष÷प्रमुख र उपाध्यक्ष÷उपप्रमुख मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमाले बलियो अवस्थामा छन् भने नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धन गरेर आफ्नो उम्मेदवार जिताउने रणनीतिमा देखिन्छ ।
नेकपा एमालेका लागि लुम्बिनीबाट रिक्त हुने आफ्ना दुई सिट जोगाउनु नै चुनौतीको विषय बनेको छ भने साविकको माओवादी केन्द्रका एक सदस्यको पदावधि सकिने भएकाले उक्त पार्टीसहित विभिन्न दलबिच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई पनि लुम्बिनीबाट एक सिट जित्नैपर्ने दबाब छ । अर्कोतिर लुम्बिनीमा तीन सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस भने आफ्नो अंकभारमार्फत अर्काको सिट खोस्ने मनस्थितिमा देखिन्छ ।
साना दलहरू अंकभारमा बलिया प्रमुख दलसँग गठबन्धन गरेर फाइदा लिने दाउमा छन् ।
प्रमुख दलमध्ये नेपाली कांग्रेसले प्रदेश तहबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । कांग्रेसका प्रदेश सभापति अम्मर सिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका १०४ जनाको नाम सिफारिस गरी पठाएको जानकारी दिए । तीमध्ये केन्द्रीय समितिले क्लस्टर मिलाएर उम्मेदवार छनोट गर्ने उनको भनाइ छ ।
साबिक माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी क्लस्टर मिलाएर एउटा सिटका लागि कम्तीमा तीन नाम पठाउन केन्द्रबाट परिपत्र आएको बताए । उनले त्यस अनुसार आन्तरिक रूपमा उम्मेदवार छनोटका लागि छलफल भइरहेको जानकारी दिँदै केही दिनभित्रै केन्द्रमा नाम पठाउने गरी गृहकार्य भइरहेको बताए ।
एमालेले अहिलेसम्म राष्ट्रिय सभा उम्मेदवारको विषयमा औपचारिक रूपमा प्रदेशमा छलफल नगरेको सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । उनले पार्टीको महाधिवेशनले गर्दा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारतिर ध्यान दिन नपाएको बताउँदै अब केही दिनमा छलफल हुने प्रस्ट पारे ।
‘अनौपचारिक रूपमा सामान्य छलफल भए पनि अन्य धेरै विषयमा छलफल तथा निर्णय गर्न बाँकी छ,’ उनले भने, ‘हामी पार्टीको महाधिवेशनतिर केन्द्रित हुँदा यस्तो भएको हो । अब छिटै पार्टीले उम्मेदवारबारे निर्णय गर्नेछ ।’
जनमत पार्टीले गठबन्धन गरेर उम्मेदवार उठाउने गरी तयारी अघि बढाएको छ । सो पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले सकभर गठबन्धन गरेर सोही अनुसार उम्मेदवारी दिने बताए ।
अन्य साना दलले भने अझै राष्ट्रिय सभाको उम्मेदवार छनोट गर्ने विषयमा औपचारिक निर्णय गरेका छैनन् । नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सचेतक प्रज्ञा ढकालले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार छनोट गर्ने विषयमा ठोस निर्णय नभएको बताइन् ।
उनले भनिन्, ‘साना दलहरूको मतको अंकभार नै कम हुन्छ । त्यसैले कसै न कसैसँग गठबन्धन नगरी उम्मेदवारी दिनुको अर्थ हुँदैन । कसलाई समर्थन गर्ने भन्नेबारे पनि छलफल भएको छैन ।’
- कुन दलको मतभार के छ ?
लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८७५३ मतभार छ । विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले वृद्धि गरेर ५३ पु¥याएको छ । यस्तै स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ ।
यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३१७९ रहन्छ । यस्तै, एमालेको २८१० र साविक माओवादीको १३४३ छ । साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको अवस्थामा प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसदको मतभार पनि १३४३ मा थप हुने देखिन्छ ।
साना दलमध्ये राप्रपाको २६९ मतभार छ भने नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण