नक्कली शाखा अधिकृत : जसले आमालाई नै झुक्याएर लिए २७ लाख
सारांश
- ललितपुरमा जन्मिएका २३ वर्षीय समन श्रेष्ठ नक्कली शाखा अधिकृत बनेर ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
- उनले विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको र आमालाई समेत झुक्याएर पैसा लिएको खुलेको छ।
- प्रहरीले श्रेष्ठको साथबाट नक्कली परिचयपत्र, नियुक्ति पत्र र युनिसेफको नक्कली पत्रसमेत बरामद गरेको छ।
काठमाडौँ । ललितपुरमा जन्मेहुर्केका समन श्रेष्ठ अहिले आमासँग काठमाडौँको झोछेमा बस्दै आएका थिए । २३ वर्षीय श्रेष्ठले बीए पास गरेका छन्, शाखा अधिकृत हुन आवश्यक योग्यता हासिल गरे पनि श्रेष्ठ शाखा अधिकृत हुन सकेनन् । बरु नक्कली शाखा अधिकृत बनेर ‘ठगीधन्दा’ सञ्चालन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पुस ७ मा उनलाई काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट पक्राउ गरेर अनुसन्धान थालिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । कर्मचारीको पोसाक लगाएर बिहान घरबाट निस्किने श्रेष्ठ दैनिक सिंहदरबार जाने गरेका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत ‘अधिकृत हुँ’ भनेर उनले आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धान कार्यालयका एसपी आचार्य भन्छन्, ‘आरोपीले विभिन्न व्यक्तिहरूलाई जागिर लगाइदिन्छु भनेर झुक्यानमा पार्ने गरेको देखिन्छ ।’
प्रहरीले उनको साथबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृतको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्र नक्कली रहेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले जानकारी दिए ।
शाखा अधिकृतमा आफ्नो नाम निस्केको र नियुक्तिपत्र लिनुअघि पैसा बुझाउनुपर्छ भनेर उनले आमासँग २७ लाख रकम मागे । आमाले उनलाई सो रकम दिइन् । आमालाई झुक्याएर रकम लिएपछिको प्रत्येक महिना उनले तलब भनेर ३५ हजार रुपैयाँ आमालाई दिन्थे । समनलाई पक्राउ गरेपछि प्रहरीले आमालाई झिकायो । छोरा नक्कली शाखा अधिकृत रहेको थाहा पाएपछि आमा छक्क परिन् ।
प्रहरीले समनको घरबाट मन्त्रिपरिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अधिकृतमा उनलाई बढुवा गरेको नक्कली पत्रसमेत बरामद गरेको छ ।
अनुसन्धान अधिकृतहरूलाई उनले आफू शाखा अधिकृतको ६७औँ ब्याच भन्थे, तर शाखा अधिकृतको ६७औँ ब्याचको भर्ना नै खुलेको छैन । समन पक्राउ परेको थाहा पाएर दुई जना पीडितहरू प्रहरीको सम्पर्कमा पुगेका छन्, जहाँ उनीहरूले आफूसँग समनले १७ लाख रुपैयाँ ठगेको दाबी गरेका छन् । श्रेष्ठले अर्को समूहसँग मन्त्रालयको सिफारिस बनाइदिने नाममा ७ लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कसरी समातिए ?
समनले एक युवतीसँग आफूलाई युनिसेफको ‘कोअर्डिनेटर हुँ’ भनेर समेत परिचय दिएका थिए, उनीसँग भेटघाट र कफीगफ गरे । युनिसेफको जागिर लगाइदिन्छु भनेर नक्कली नियुक्ति पत्रसमेत उनले ती युवतीलाई दिए । तलबबापत उनले मासिक ३० हजारको दरले ती युवतीको बैंकखातामा आफैंले रकम डिपोजिटसमेत गरिदिए । युवतीसँगको सम्बन्धमा खटपट आएपछि समन प्रहरीकहाँ पुगे । प्रहरीलाई भने, ‘म शाखा अधिकृत हुँ, युवतीले मलाई ठगिन्, रकम फिर्ता गराइदिनुपर्ने भयो ।’
सुरुमा उनलाई सहयोग गर्नेगरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धान गर्दै जाँदा समनकै त्रुटि देखिएपछि उनी आफैं पक्राउ परेका हुन् ।
यो पनि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण