अर्थमन्त्री र मधेसका मुख्यमन्त्रीबिच भेटवार्ता
जनकपुरधाम । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित प्रदेश सरकारका मन्त्री तथा नेताहरूसँग औपचारिक भेटघाट गरेका छन् ।
भेटमा मधेस प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम वृद्धि, प्रदेश सरकारको राजश्व स्वायत्तता तथा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन माग राखेको छ।
मुख्यमन्त्री यादव र प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले मधेस प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कमजोर रहेको उल्लेख गर्दै सो आधारमा थप अनुदान आवश्यक भएको बताएका थिए । उनीहरूले प्रदेशलाई दिइने अनुदान रकम बढाउन सङ्घीय सरकारसँग आग्रह गरेका हुन् ।
प्रदेशका अर्थमन्त्री यादवका अनुसार हाल मधेस प्रदेश सरकारले सञ्चालन गरिरहेको एमबिबिएस कार्यक्रमका लागि सङ्घीय सरकारले अपेक्षित आर्थिक सहयोग नगरेको विषयमा पनि अर्थमन्त्री खनालको ध्यानाकर्षण गराइएको छ । सो कार्यक्रममा प्रदेश सरकारले वार्षिक करिब २० करोड रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गर्दै आएको छ ।
यसका साथै बैठकमा प्रदेश सरकारअन्तर्गतका राजश्व कार्यालयहरू यथावत् राख्नुपर्ने र राजश्वका केही क्षेत्रमा प्रदेशलाई थप स्वायत्तता प्रदान गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको थियो ।
अर्थमन्त्री खनालले मधेस प्रदेश सरकारका मागप्रति सकारात्मक धारणा व्यक्त गर्दै सङ्घीय सरकारले ती विषयमा गम्भीरतापूर्वक विचार गर्ने आश्वासन दिएका छन्। “प्रदेश सरकारले उठाएका चिन्ताप्रति सङ्घीय सरकार सकारात्मक छ, आवश्यक कदम चाल्ने प्रयास गरिनेछ,” उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण