बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ: मुख्यमन्त्री बानियाँ

शनिबार, १२ पुस २०८२, ०० : ३५
शनिबार, १२ पुस २०८२

सारांश

  • मुख्यमन्त्री बानियाले पर्यटनसँगै प्राणी संरक्षणको आवश्यकता औंल्याए।
  • उनले हात्ती संरक्षण मानवको जिम्मेवारी भएको र प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
  • महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उनले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराए । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताए ।

उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाँले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताए । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो ।

भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको मुख्यमन्त्री बानियाँको धारणा थियो ।

सौराहाको बाघमारा चौरमा शुक्रबारदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सुरु भएको हो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप