रास्वपामा मिसिन बालेन कसरी तयार भए ?
सारांश
- रास्वपा र मेयर बालेनबीच ७ बुँदे सहमति भयो, जसमा भूपदेव शाह मुख्य स्टेकहोल्डर थिए।
- बालेन आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ, र उनले केही हप्तामै महानगरको मेयर पदबाट राजीनामा दिनेछन्।
- कुलमान घिसिङ, सीके राउत र रेशम चौधरीसँगको सहकार्य हुन सकेन, तर आगामी दिनमा प्रयास जारी रहनेछ।
आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच ७ बुँदे सहमति भयो। पछिल्लो एक सातादेखि दुई पक्षबिच भएको सघन वार्तालाई पूर्णता दिँदै भएको उक्त सहमतिका एक प्रमुख स्टेकहोल्डर थिए, भूपदेव शाह।
बालेनको पक्षबाट औपचारिक तथा अनौपचारिक वार्ताका प्रमुख सदस्य रहेर सक्रिय सहभागिता जनाएका शाहसँग सहमतिको अन्तर्वस्तु लगायतका विषयमा गरिएको कुराकानी:
- आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबिच सहमति भयो। तपाईँ आफैँ वार्ता टोलीको प्रमुख सदस्य हुनुहुन्थ्यो । यो सहमति कसरी सम्भव भयो र यसको मुख्य आधार के हो?
मुख्य कुरा के हो भने, ‘जेन्जी’ आन्दोलनपछि नेपाली राजनीतिमा एउटा नयाँ म्यान्डेट प्राप्त भएको थियो। त्यो आन्दोलनले के देखायो भने आम जनता, विशेष गरी युवा पुस्ता, अब परम्परागत राजनीतिको विकल्प खोजिरहेका छन्। जेन्जी आन्दोलनको जुन म्यान्डेट थियो, त्यसलाई अगाडि बढाउन सबै स्वतन्त्रहरू, नयाँ शक्तिहरू र विचार मिल्ने दलहरू एक ठाउँमा उभिनु आवश्यक थियो।
यो पूर्णतः परिस्थितिले सिर्जना गरेको कुरा हो। उहाँले ५ वर्ष महानगरको सेवा गर्छु भन्नुभएको कुरा साँचो हो, तर राजनीति स्थिर रहँदैन।
देशको नेतृत्व गर्न एउटा ‘रिफर्म्ड’ र बलियो शक्ति निर्माण गर्नुपर्ने आवश्यकता हामीले महसुस गर्यौँ। यसका लागि विगत केही महिनादेखि विभिन्न चरणमा वार्ताहरू भइरहेका थिए। अन्ततः जनताको चाहना पनि त्यही थियो, मेयर बालेन र रास्वपा एक ठाउँमा उभिनुपर्छ भन्ने। पटक–पटकको संवादपछि दुवै पक्षमा एउटा समझदारी बन्यो। देशलाई परिवर्तन गर्ने साझा उद्देश्यमा मेयर बालेन र रवि लामिछाने दुवै लचिलो भएर प्रस्तुत भएपछि यो असम्भव देखिने सहकार्य सम्भव भएको हो।
- मेयर बालेनले यसअघि पटक–पटक आफू ५ वर्षको म्यान्डेट लिएर महानगर आएको र ५ वर्षसम्म राजनीतिमा नआउने बताउनुहुन्थ्यो। अहिले एकाएक उहाँ राष्ट्रिय राजनीतिमा आउनुभयो। यो पहिलेकै तयारी हो कि परिस्थितिले सिर्जना गरेको मोड हो?
यो पूर्णतः परिस्थितिले सिर्जना गरेको कुरा हो। उहाँले ५ वर्ष महानगरको सेवा गर्छु भन्नुभएको कुरा साँचो हो, तर राजनीति स्थिर रहँदैन। पछिल्लो समय जनताको तर्फबाट जुन प्रकारको दबाब र सुझावहरू आए, त्यसलाई उहाँले नकार्न सक्नुभएन। उहाँले विभिन्न क्षेत्रका मानिसहरूसँग संवाद गरिरहनुभएको थियो। ती संवादहरूबाट के निष्कर्ष निस्कियो भने, काठमाडौँ महानगरलाई मात्र सुधारेर हुँदैन, देशकै नेतृत्वमा परिवर्तन नआएसम्म स्थानीय तहका प्रयासहरू पनि ओझेलमा पर्ने रहेछन्। जनताको यही चाहना र देशको आवश्यकतालाई बुझेर उहाँले राजनीतिक रूपमा होमिने निर्णय लिनुभएको हो। यो कुनै रातारात भएको निर्णय भन्दा पनि बदलिँदो राजनीतिक परिस्थिति र जनभावनाको परिणाम हो।
- अबको सहमति अनुसार बालेनको रास्वपामा पोजिसन के हुन्छ? रास्वपा र बालेन समूहको शक्तिलाई कसरी समायोजन गरिँदैछ?
यसमा धेरै स्पष्ट कुरा छ। वार्ताका क्रममा धेरै विषयमा छलफल भयो। पार्टीको सांगठनिक नेतृत्व अहिलेकै सभापति रवि लामिछानेजीले नै गर्नुहुनेछ। तर हामीले के कुरामा जोड दियौँ भने हामी परम्परागत पार्टी जस्तो मात्र हुनुहुँदैन। यो सुधारिएको शक्तिले आगामी निर्वाचनका लागि स्पष्ट रूपमा ‘प्रधानमन्त्रीको क्यान्डिडेट’ तोकेर जानुपर्छ भन्ने हाम्रो मान्यता रह्यो।
रक्षा बम, सुदन गुरुङ लगायतका साथीहरूसँग मेयर बालेनको प्रत्यक्ष भेटघाट र वैचारिक छलफल भइसकेको छ। हामी सबै एउटै उद्देश्यका लागि जुटेका हौँ।
नेपाली राजनीतिमा यो एउटा नयाँ परम्परा हुनेछ। मेयर बालेनजी अहिले जनतामाझ अत्यन्तै लोकप्रिय र सर्वमान्य हुनुहुन्छ। त्यसैले बालेनजीलाई आगामी निर्वाचनमा ‘प्रधानमन्त्रीको उम्मेदवार’ का रूपमा अगाडि सार्ने सहमति भएको छ। बालेनजीले त आफूलाई सामान्य सदस्य मात्र राख्दा पनि हुन्छ भन्नुभएको थियो, तर वार्ता समिति र रास्वपाको नेतृत्वले उहाँको व्यक्तित्व र आवश्यकतालाई बुझेर यो विशेष जिम्मेवारीसहितको प्रस्ताव गरेको हो।
- यो नयाँ शक्तिमा ‘जेन्जी’ आन्दोलनका अगुवाहरू जस्तै रक्षा बम, सुदन गुरुङ लगायतको व्यवस्थापन कसरी हुन्छ?
अवश्य पनि, उहाँहरूको सम्मानजनक उपस्थितिको सुनिश्चितता गरेर नै हामी अगाडि बढ्छौँ। जेन्जी आन्दोलनको मर्म भनेकै निर्वाचनमार्फत लोकतान्त्रिक निकास, सुशासन र विकास हो। हाम्रो र रास्वपाको मूल नारा पनि यही नै हो। रक्षा बम, सुदन गुरुङ लगायतका साथीहरूसँग मेयर बालेनको प्रत्यक्ष भेटघाट र वैचारिक छलफल भइसकेको छ। हामी सबै एउटै उद्देश्यका लागि जुटेका हौँ। उहाँहरूको उपस्थिति यो अभियानमा अत्यन्तै सुन्दर र प्रभावकारी देखिनेछ, यसको ग्यारेन्टी हामीले गरेका छौँ।
- कुलमान घिसिङ पनि वार्तामा हुनुहुन्थ्यो, तर अन्तिममा उहाँसँग कुरा मिलेन नि? वास्तविकता के हो?
कुलमान घिसिङजीसँग मेयर बालेनले व्यक्तिगत रूपमै धेरै प्रयास गर्नुभएको हो। हामीले उहाँलाई ‘सँगै जाऔँ, धेरै समय संवादमा बसिसक्यौँ’ भनेर आग्रह गरेका थियौँ। हाम्रा प्रमुख सल्लाहकार कुमार बेन्जनकारजीले पनि धेरै मिहिनेत गर्नुभएको थियो। हिजो राति पनि तीनै जना (बालेन, रवि र कुलमान) बसेर टुङ्ग्याउने र वार्ता समितिलाई म्यान्डेट दिने योजना थियो। तर कुलमानजी हिँडेपछि अन्तिम समयमा उहाँसँग सम्पर्क हुन सकेन। समयको अभाव र देशको आवश्यकतालाई ध्यानमा राख्दै हामीले पहिलो चरणमा बालेन, रास्वपा र जेन्जीहरूबीचको सहमतिलाई अगाडि बढायौँ। तर वार्ताको ढोका अझै पनि खुला छ। कुलमानजी लगायत अन्य योग्य व्यक्तिहरूका लागि आज पनि, भोलि पनि ढोका खुला रहन्छ।
महानगरको जिम्मेवारीप्रति उहाँ सचेत हुनुहुन्छ। केही कामहरू ‘क्लोजिङ’ गर्नुपर्ने अवस्थामा छन्।
- तपाईँहरूले सीके राउत र रेशम चौधरीहरूसँग पनि छलफल गर्नुभएको थियो, उहाँहरू यो मोर्चामा किन अटाउनुभएन?
हामीले कसैलाई पनि छुटाउन खोजेका होइनौँ। सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने हाम्रो इमानदार प्रयास थियो। वार्ताका आफ्नै सीमाहरू हुन्छन् र कहिलेकाहीँ परिस्थिति परिपक्व भइसकेको हुँदैन। यो एउटा नौलो खालको बृहत् एकता हो। सीके राउत र रेशम चौधरीजीहरूसँग पनि आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा हामी अझै प्रयासरत छौँ।
- अब बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि काठमाडौँ महानगरपालिकाको मेयर पद के हुन्छ? उहाँले कहिले राजीनामा दिनुहुन्छ?
महानगरको जिम्मेवारीप्रति उहाँ सचेत हुनुहुन्छ। केही कामहरू ‘क्लोजिङ’ गर्नुपर्ने अवस्थामा छन्। ती प्राविधिक र प्रशासनिक कामहरू टुङ्ग्याउन केही समय लाग्छ। मोटामोटी रूपमा भन्नुपर्दा, अबको दुई हप्ता जतिमा उहाँले उपयुक्त समय हेरेर यसबारे निर्णय लिनुहुनेछ। उम्मेदवारी दिने बेलामा वा त्योभन्दा केही अगाडि नै उहाँले पदबाट अलग भएर पूर्ण रूपमा देशको चुनावी अभियानमा लाग्ने सोच्नुभएको छ।
- बजारमा एउटा चर्चा छ, बालेन र रास्वपाबिच ७०/३० को अनुपातमा सिट बाँडफाँड गर्ने वा केन्द्रीय समितिमा भागबन्डा गर्ने सहमति भयो रे। यसमा कति सत्यता छ?
यो पूर्णतः गलत हल्ला हो। हाम्रो बिचमा त्यस्तो कुनै प्रतिशत वा भागबन्डाको सहमति भएको छैन। हाम्रो प्राथमिकता भागबन्डा होइन, योग्यता हो। जुनसुकै पक्षबाट सिफारिस भएर आए पनि यदि व्यक्ति योग्य छ र उसले परिवर्तनको एजेन्डा बोक्न सक्छ भने उसलाई रोकिँदैन। राम्रा मान्छेहरूलाई समेट्ने कुरामा हामी उदार छौँ, कुनै ‘कोटा’ तोकिएको छैन।
- यो वार्तामा दुवै तर्फबाट को–को खटिनुभएको थियो?
वार्ता टोलीमा निकै गम्भीर छलफलहरू भए। रास्वपाको तर्फबाट डा. स्वर्णिम वाग्लेजी, शिशिर खनालजी र पछिल्लो समय उपसभापति डीपी अर्यालजी पनि थपिनुभएको थियो। हाम्रो तर्फबाट कुमार बेन्जनकार दाइ, म आफैँ र सुदीप ढकालजी थियौँ। यस्तै सुनिल लम्सालजी (पूर्वाधार सल्लाहकार) पनि संवादमा सहभागी हुनुहुन्थ्यो।
मेयर बालेनजीले महानगरमा एउटा सिस्टम बसाल्नुभएको छ। उहाँले पद छोड्दै गर्दा पनि महानगरका योजनाहरू नरोकिने गरी संयन्त्र तयार पारिनेछ।
यसका साथै, असिम शाह र आशिफ शाहजीहरूले ‘फेसिलिटेसन’ (सहजीकरण) को धेरै राम्रो काम गर्नुभयो। उहाँहरूकै स्टुडियोमा धेरै छलफलहरू भए। निश्चल बस्नेतजी र केपी खनाल भाइको पनि यसमा सकारात्मक सहयोग रहेको छ। उहाँहरू सबैको सामूहिक प्रयासले यो वातावरण बनेको हो।
- बालेन अब चुनावी अभियानमा निस्कँदा महानगरको काम प्रभावित हुने त होइन? जनताले यसलाई कसरी बुझ्ने?
मेयर बालेनजीले महानगरमा एउटा सिस्टम बसाल्नुभएको छ। उहाँले पद छोड्दै गर्दा पनि महानगरका योजनाहरू नरोकिने गरी संयन्त्र तयार पारिनेछ। उहाँले महानगर छोड्नु भनेको ठुलो लक्ष्यका लागि सानो ठाउँ खाली गर्नु हो। देशैभरि सुशासन र विकासको लहर ल्याउनका लागि यो कदम अनिवार्य थियो। जनताले यसलाई सकारात्मक रूपमा बुझ्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। अबको हाम्रो ध्यान देशव्यापी अभियानमा हुनेछ र चाँडै हामी ठोस कार्ययोजनासहित जनताको घरदैलोमा पुग्नेछौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण