शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

न्यु जर्सीमा दुई हेलिकप्टर ठोक्किए, एकको मृत्यु

सोमबार, १४ पुस २०८२, ०९ : ३०
सोमबार, १४ पुस २०८२

सारांश

  • न्यु जर्सीमा दुई हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु र अर्को गम्भीर घाइते भएका छन्।
  • ह्यामिल्टन म्युनिसिपल एयरपोर्टमाथि दुई हेलिकप्टर आपसमा ठोक्किएर जमिनमा खसेका थिए।
  • दुर्घटनापछि आगलागी भएको थियो र घटनाको अनुसन्धान सुरु गरिएको छ।

वासिङटन डीसी । अमेरिकाको न्यु जर्सी राज्यमा आइतबार दुईवटा हेलिकप्टर आकाशमै ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट गम्भीर घाइते भएका छन् ।

संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दक्षिणी न्यु जर्सीको ह्यामिल्टन म्युनिसिपल एयरपोर्टमाथि एन्स्ट्रोम एफ–२८ ए र एन्स्ट्रोम २८० सी मोडेलका दुई हेलिकप्टर आपसमा ठोक्किएका हुन् । दुवै हेलिकप्टरमा पाइलट मात्र सवार थिए ।

ठोक्किएपछि दुवै हेलिकप्टर नियन्त्रणबाहिर गएर घुम्दै जमिनमा खसेका थिए । दुर्घटनालगत्तै आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा दुर्घटनाका दृश्य देखिने भिडियोहरू भाइरल भइरहेका छन् ।

ह्यामिल्टन प्रहरी प्रमुख केभिन फ्रिलका अनुसार आइतबार बिहान करिब ११ः२५ बजे दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका थिए ।

घाइते पाइलटलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) लाई घटनाबारे जानकारी गराइएको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप