विपद्बाट क्षति पुगेको इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति
सारांश
- इलाममा भारी वर्षाका कारण क्षति भएका सडक मर्मतका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड स्रोत सहमति दिएको छ।
- मेची राजमार्ग लगायतका विभिन्न सडक तथा पुलहरूको पुनर्निर्माण गरिने, जसका लागि ५४ करोड रुपैयाँ तत्काल निकासा दिइएको छ।
- मन्त्री घिसिङले सडक विभागलाई टेन्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्, भने इलामलाई विपद् संकटग्रस्त घोषणा गरिएको थियो।
काठमाडौं । गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो ।
क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ ।
मन्त्रालयले चालू आवका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ । स्रोत सहमति प्राप्त भएकाले अव सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेण्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विपद्बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेन्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गरिनेछ ।
३९ जनाको मृत्यु र ठुलो भौतिक संरचनामा क्षति पुग्नेगरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो ।
२५ असोजमा मन्त्री घिसिङ, सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशराज भट्टको टोलीले इलाम पुगेर विपद्को क्षति निरीक्षण गरेको थियो ।
टोलीले विपद्बाट प्रभावितका भएका घरपरिवारका लागि तत्काल राहत उपलब्ध गराउने, क्षति पुगेका संरचनाको तत्काल मर्मत सम्भार गरी जनजीवन सामान्य बनाउने र आवश्यक तत्कालीन तथा दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो ।
सबैभन्दा बढी रकम मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । मेची राजमार्गअन्तर्गतकै माइखोला मोटरेवल स्थायी पुल राजदुवालीका लागि २० करोड, मेची करिडोरको माइखोलामा मोटरेवल स्थायी पुल वेलासेका लागि २५ करोड, पुवाखोला र जोगमाईखोला पुलमा बेली ब्रिज निर्माण गर्न ५/५ करोड र मेची राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको मेची कोरिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चितता प्रदान गरिएको छ ।
यसमध्ये, मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली तथा माइखोला पुल वेलासेका लागि क्रमशः ५ तथा १० करोड र मेची कोरिडोरका लागि ४ करोड रुपैयाँ चालु आवमा तत्काल आवश्यक रकम निकासा दिइएको छ । दुई वटा बेली ब्रिजका लागि आवश्यक सम्पूर्ण रकम निकासा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण