शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

सोमबार, १४ पुस २०८२, १२ : ३७
सोमबार, १४ पुस २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ ।

दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् ।

लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी समन्वय समिति बनाउने र निर्वाचनसम्म त्यो समन्वय समितिले नै पार्टीको सम्पूर्ण जिम्मेवारी लिने सहमति भएको छ ।

समानुपातिक उम्मेदवार पनि त्यही समन्वय समितिले छान्ने जानकारी दिँदै उनले दुवै पार्टीबाट आएका सूची निर्वाचन आयोगमा बुझाउने र २६ गते समन्वय समितिको निर्देशन अनुसार उक्त सूचीमा आवश्यक ‘करेक्सन’ गरिने बताए ।

एकीकृत पार्टीको नाम, चुनाव चिह्न, अध्यक्ष, पदाधिकारी लगायतको चरणमा प्रवेश नै नगरिएको शुक्लाको भनाइ छ । यसबिचमा अरु पार्टी पनि एकतामा आउन लागेको जानकारी दिँदै उनले यसबारे त्यही समन्वय समितिले आवश्यक निर्णय गर्ने उनले प्रस्ट पारे ।

‘हामी एउटै चुनावचिह्न लिएर चुनावमा जाने हो, त्यसका लागि हामी एउटा निर्णयमा पुग्छौँ,’ शुक्लाले रातोपाटीसँग भने, ‘त्यसलाई दुई अध्यक्ष बसेर फाइनल गर्नुहुन्छ । त्यसलाई नै मानेर जाने भन्ने सहमति भइसकेको छ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज र भोलि जनकपुरमा व्यस्त भएकाले उनी फर्किएपछि मात्र अन्य विषयमा छलफल अघि बढ्ने शुक्लाले जानकारी दिए ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले दुई पार्टीबिच एकीकरण भइसकेको जानकारी दिँदै एकीकृत पार्टीकै तर्फबाट समानुपातिक उम्मेदवारको सूची बुझाइने बताए । यद्यपि, एकीकृत पार्टीको नाम फाइनल गर्न बाँकी रहेको उनको भनाइ छ । ‘बेलुकासम्म हामी पार्टीको नाम र उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी तयारी गरिरहेका छौँ,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप