शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

पूर्वकार्यकारी निर्देशक पौडेललाई बैंक खाताकाे विस्तृत विवरण पेस गर्न अदालतको आदेश

सोमबार, १४ पुस २०८२, १६ : १७
सोमबार, १४ पुस २०८२

सारांश

  • विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा थुनामा रहेका विकल पौडेललाई बैंक खाता र आयव्यय विवरण पेस गर्न आदेश दिएको छ।
  • अख्तियारले पौडेलमाथि ६२ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ, जसमा सिंगापुर र अमेरिकामा रकम लुकाएको पनि उल्लेख छ।
  • अदालतले पौडेललाई एक महिनाभित्र आयव्ययको विवरण र प्रमाणसहित लिखित बहस नोट पेस गर्न भनेको छ, भने उनले विभिन्न व्यक्ति र कम्पनीहरूसँग घुस लिएको आरोप लागेको छ।

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा थुनामा रहेका सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई आफ्नो र परिवारको बैंक खाता तथा आयव्ययको विस्तृत विवरण पेस गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले पौडेललाई एक महिनाभित्र ती विवरणहरू पेस गर्न आदेश जारी गरेको हो । 

पौडेलले यसअघि अदालतमा बयान दिने क्रममा आफ्नो र परिवारका सदस्यहरूको आम्दानी, खर्च र बैंक खाताको विस्तृत विवरण पछि पेस गर्ने बताएका थिए । हाल उनी मुद्दा पुर्पक्षका लागि थुनामा रहेको हुनाले उक्त विवरण र सोलाई पुष्टि गर्ने आवश्यक कागजातहरू थुनामा रहेको कारागार कार्यालयमार्फत एक महिनाभित्र पेस गर्न अदालतले आदेश दिएको छ ।

त्यसैगरी, पौडेलका कानुन व्यवसायीले पक्षबाट आवश्यक कागजात प्राप्त हुन नसकेको कारण देखाउँदै हालसम्म लिखित बहस नोट पेस गरेका थिएनन् । अदालतले पौडेलको आय(व्ययको विवरण र सोलाई पुष्टि गर्ने आधार तथा प्रमाणसहित एक महिनाभित्र लिखित बहस नोट र त्यसको विद्युतीय प्रति (Electronic Copy) पेस गर्न भनेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ । अख्तियारले पौडेलले पत्नी एलिना बस्नेतको नाममा समेत सिंगापुर र अमेरिकामा रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । आपूर्तिकर्ताबाट कमिसन लिएको देखिएको, त्यो रकम विभिन्न व्यक्तिको नाममा परिचालन भएको अख्तियारको दाबी छ ।

आयोगले नेपालबाहेक सिंगापुरको युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकाको खातामा जम्मा भएको पौडेलको रकम पनि भ्रष्टाचारबाट आर्जित भएको दाबी गरेको छ । पौडेलले करिब ५ वर्ष सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका थिए । त्यसअघि उनी राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इन्जिनियरको रूपमा कार्यरत थिए ।

सुरक्षण मुद्रण केन्द्रले ठेक्का सम्झौता गरेका विभिन्न कम्पनीहरूसँग कारोबारमा संलग्न विदेशी कम्पनीहरूसँग पौडेलले घुस लिएको अख्तियारको आरोप छ । अख्तियारले सिंगापुरमा मात्रै विकल पौडेलको नाममा २८ करोड ९५ लाख रुपैयाँ सङ्कलन भएको दाबी गरेको छ । त्यतिबेला उनी सिंगापुरको बैंकोटेक र इन्स्टासेफ नामक कम्पनीमा परामर्शदाताको रूपमा नियुक्ति लिएको कागजात तयार पारेका थिए ।

उनले ताहिर साह, अकबर हुसेन, मनोज कार्की र ऋचा खनालको नाममा मात्रै २ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको भेटिएको छ । उनले प्रसान्थ जी नामक व्यक्तिसँगको डिल गरी २ करोड १४ लाख डलर अमेरिकाको बैंकमा लुकाएको अख्तियारको दाबी छ । उनले अमेरिकामा मात्रै १३ करोड लुकाएको अख्तियारको दाबी छ ।

उनले बाबुआमासँग अंशबन्डा गरेको देखाइ परिवारका सदस्यहरूसँग महांकाल, छालिङ लगायतका ठाउँमा जग्गा किनेको अख्तियारको आरोप छ । उनले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको न्यूयोर्कमा ५ लाख १५ हजार डलरमा घर खरिद गरेका थिए । 

अख्तियारले विकल पौडेलका साथै उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शितल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ । विदेशी बैंकमा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

विकल पौडेलमाथि अनुसन्धान हुँदा उनले ६२ करोड १९ लाख भ्रष्टाचार गरेको खुलेको, तर खोजबिन गर्दा ४४ करोड ५२ लाख मात्रै भेटिएको भन्दै उसले लुकाइएको १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप