जसपा नेपाल र लोसपाबिचको एकताबाट मधेसमा उत्साह
सारांश
- जसपा र लोसपाबीचको एकताले मधेसमा उत्साह बढाएको छ र प्रदेशको राजनीतिमा हलचल ल्याएको छ।
- पार्टी एकताले मधेसको राजनीतिक समीकरण परिवर्तन गरेको छ, जसले मधेस प्रदेशमा ठूलो शक्ति बन्न मद्दत गरेको छ।
- विभिन्न मधेसवादी दलका नेताहरूले पनि यस एकतालाई सकारात्मक रूपमा लिएका छन् र यसले मुद्दाहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबिचको एकताबाट मधेसमा उत्साह बढाएको छ । प्रतिनिधि सभा निर्वाचनकै सम्मुख मधेसवादी दुई ठुला दलबिचको एकताले प्रदेशकै राजनीतिमा हलचल बढाएको हो ।
पछिल्लो पार्टी एकताले मधेसको राजनीतिक समीकरण नै बदलिदिएको छ । दुवै पार्टी मिल्दा मधेस प्रदेशको सबैभन्दा ठुलो राजनीतिक शक्ति बन्न सफल भएको भन्दै कार्यकर्तापङ्क्ति उत्साहित भएका छन् ।
जसपा नेपालसँग एकता गर्नुअघि लोसपा नेपालसँग बृशेषचन्द्र लाल नेतृत्वको तमलोपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले एकता गरेका थिए । अहिले जसपा नेपाल र लोसपा नेपालबिच एकता भएपछि जनता समाजवादी पार्टी नेपाल मधेसमा एक मजबुत राजनीतिक शक्तिका रूपमा उभिएको छ ।
मधेसवादी राजनीतिक दलमा जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी एकता प्रक्रियामा सामेल भएका छैनन् । यद्यपि यी दलका नेता पनि जसपा नेपाल र लोसपा नेपालबिचको एकतालाई सकारात्मक भनेर टिप्पणी गरिरहेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष राजीव झाले मधेसवादी दलहरूको एकता निकै सकारात्मक भएको बताए । उनले भने, ‘मैले पटक–पटक भन्दै आएको छु, मधेसवादी दलहरू एकीकृत हुनैपर्छ । एकता भएमा आफ्ना मुद्दा र माग सम्बोधन गराउन अझ सशक्त भूमिका निर्वाह गर्न सकिन्छ ।’
उनले राष्ट्रिय मुक्ति पार्टी पनि मधेसवादी दलहरूसँग एकताका पक्षमा रहेको उल्लेख गर्दै सम्मानजनक ढंगले प्रयास गरिए एकता सम्भव हुने अवस्था रहेको बताए ।
यता नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसवादी शक्तिहरूले गरेको एकता सकारात्मक रहेको बताए । विगतका अनुभवबाट टुटफुटले केही पनि हासिल नहुने प्रस्ट भइसकेको जिकिर गर्दै उनले मधेसवादी दलहरू एकजुट भएर संसदमा पुगे मधेसका आवाज अझ बुलन्द हुने र यही नै मधेसी जनताको चाहना रहेको दाबी गरे ।
‘मेरो नजरमा मधेसवादी दलहरूको एकता सकारात्मक छ,’ अध्यक्ष झाले भने । उनले आफूहरू पार्टी एकता नभए पनि चुनावमा मधेसवादी दलसँगै सहकार्य गर्न तयार रहेको प्रस्ट पारे । मधेसका माग र मुद्दाका बारेमा सहकार्य गर्न सकिने उनको भनाइ छ ।
‘हामी एकताबाट भागेको होइन,’ अध्यक्ष झाले भने, ‘मधेस र मधेसीको अधिकार तथा गजेन्द्र नारायण सिंहको नीतिलाई अंगीकार गर्न तयार भएमा एकताको विषयमा सोच्न सकिन्छ । वर्तमान अवस्थामा भने सहकार्य गर्न म तयार छु ।’
जनमत पार्टीका केन्द्रीय नेता चन्दन सिंहले मधेसवादी दलहरूको एकता हुनु राम्रो र सकारात्मक कुरा भएको बताए ।
उनले आफ्नो पार्टीले पनि एकता चाहेको उल्लेख गर्दै भने, ‘एकता गर्ने हाम्रो चाहना छ, तर प्रक्रियागत रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अझै अलमल छ । त्यस विषयमा गम्भीर विचार गरेर अगाडि बढ्ने हाम्रो धारणा हो ।’
उनका अनुसार पहिचानवादी र मधेसवादी शक्तिहरू एक भएर बृहत् मोर्चा निर्माण गर्नुपर्ने जनमत पार्टीको स्पष्ट धारणा छ ।
युवा राजनीतिक विश्लेषक रन्धिर चौधरीले टुक्रिएर बस्नुभन्दा गोलबद्ध भएर बस्नु उपयुक्त रहेको बताउँदै जसपा नेपाल र लोसपा नेपालबिचको पार्टी एकतालाई सकारात्मक रूपमा लिनुपर्ने बताए । यद्यपि यस्ता एकता विगतमा पटक–पटक भए पनि दिगो हुन नसकेको स्मरण गराउँदै उनले अहिलेको एकता कति टिक्छ भन्नेमा आशंका स्वाभाविक रूपमा उब्जिएको बताए ।
उनले भने, ‘हाल बाध्यतामा एकीकरण भएको हो । मधेस आश्रित दलहरू अस्तित्वको संकटमा परेपछि एकता गर्न बाध्य भएका हुन् । राजनीतिमा संख्याको ठुलो महत्त्व हुन्छ र त्यो संख्या स्थापित गर्नका लागि दलहरू एकतामा गएका देखिन्छन् ।’
यो एकता दिगो हुने हो भने मधेसवाद र मधेसवादी राजनीतिक शक्ति अझ मजबुत हुने चौधरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण