शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शान मसूदको कीर्तिमानी ब्याटिङ: सहवागको १९ वर्ष पुरानो रेकर्ड तोडियो

मङ्गलबार, १५ पुस २०८२, ०९ : ५६
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • पाकिस्तानका टेस्ट कप्तान शान मसूदले घरेलु क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउँदै कीर्तिमान बनाए।
  • उनले १७७ बलमा दोहोरो शतक बनाएर वीरेन्द्र सहवागको १९ वर्ष पुरानो रेकर्ड तोडे।
  • मसूदले ३९० रनको साझेदारी गरे र २१२ रनमा अविजित रहे, जसले गर्दा उनको टिमले ४६० रन बनायो।

कराँची । पाकिस्तानका टेस्ट कप्तान शान मसूदले घरेलु क्रिकेटमा एक ऐतिहासिक कीर्तिमान आफ्नो नाममा गरेका छन्। उनले पाकिस्तानी भूमिमा प्रथम श्रेणी क्रिकेटको सबैभन्दा तीव्र दोहोरो शतक प्रहार गर्दै भारतीय पूर्वओपनर वीरेन्द्र सहवागको १९ वर्ष पुरानो रेकर्ड ध्वस्त पारेका हुन्।

कराँचीमा जारी प्रेसिडेन्ट्स ट्रफी ग्रेड–१ अन्तर्गत साहिर एसोसिएट्स विरुद्धको खेलमा सुई नर्दन ग्यास पाइपलाइन्स लिमिटेडबाट खेल्दै मसूदले यो उपलब्धि हासिल गरे। उनले मात्र १७७ बलमा आफ्नो दोहोरो शतक पूरा गरे। यसअघि सन् २००६ मा लाहोरमा पाकिस्तान विरुद्धको टेस्ट खेलमा सहवागले १८२ बलमा दोहोरो शतक बनाएका थिए, जुन पाकिस्तानी भूमिमा अहिलेसम्मकै तीव्र थियो।

मसूदले सहवागको मात्र नभई आफ्नै देशका पूर्व कप्तान इन्जमाम–उल–हकको कीर्तिमान समेत तोडेका छन्। इन्जमामले सन् १९९२ मा १८८ बलमा दोहोरो शतक बनाएका थिए। खेलको पहिलो दिन मसूद र अली जरयाबले दोस्रो विकेटका लागि ३९० रनको विशाल साझेदारी गरे, जुन पाकिस्तानको घरेलु क्रिकेट इतिहासकै नवौँ ठूलो साझेदारी हो। जरयाब १९२ रन बनाएर आउट भए पनि मसूद २१२ रनमा अविजित रहे।

सन् २०२५ मा मसूदको यो दोस्रो प्रथम श्रेणी दोहोरो शतक हो। यसअघि उनले कराँची ब्लुजबाट खेल्दै २५० रन बनाएका थिए। ३५ वर्षीय मसूदको करियरमा अब कूल पाँचवटा प्रथम श्रेणी दोहोरो शतक पुगेका छन्। उनको यो विस्फोटक ब्याटिङको मद्दतले पाइपलाइन्स लिमिटेडले पहिलो दिनको समाप्तिमा २ विकेट गुमाएर ४६० रन बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप