बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल भूराजनीतिको शिकार भएको छ : एमाले उपाध्यक्ष थापा

मङ्गलबार, १५ पुस २०८२, १५ : १६
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाल अहिले भूराजनीतिको शिकार भएको बताएका छन् । 

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष थापाले बङ्गलादेश र श्रीलङ्काको उदाहरण दिँदै यस्तो बताएका हुन् । 

‘त्यहाँका निर्वाचित सरकार अपदस्थ गरियो’, उनले भने, ‘अरब र खाडी मुलुकमा पनि श्रृखलाबद्ध सदन विघटन गरियो र पछिल्लो कडीका रूपमा नेपालमा भदौ २३ र २४ गते कलर रिभोलेसन सम्पन्न गरियो ।’

उनले निर्वाचित सरकारमा दुई तिहाइको समर्थन रहँदा रहँदै सरकार अपदस्थ गरिएको र सदन विघटन गरिएको भन्दै त्यो अधिकार कसैलाई पनि नभएको दाबी गरे । 

त्यस्तै षड्यन्त्र अन्तर्गत नै ५० सालमा मदनआश्रितको हत्या भएको भन्दै त्यसको तीन दशकपछि भदौ २३ र २४ मा भएको घटना घटाइएको बादलको भनाई छ ।

उनले उक्त घटना सामान्य घटना नभई असाधारण घटना भएको भन्दै बादलले ती घटना जेनजीको आवरणमा गरिएको विद्रोह थियो वा प्रतिगमन थियो भन्ने प्रश्न उठेको बताए । 

‘भदौ २३ र २४ को घटना क्रान्ति थियो वा प्रतिक्रान्ति थियो ?’, प्रश्न गर्दै थापाले यसको जवाफ दिनुपर्ने बताए । उनले उक्त घटना प्रतिक्रान्ति भएको भन्दै यसले असाधारण सङ्कट थपेको बताए ।

‘नेपाल कुनै पनि देशको गुलाम भएन, शासन गर्न पाएन’, थापाले भने, ‘आज प्रश्न उठेको छ नेपाल कतै युक्रेन र सिक्किम त हुने होइन ?यसमा सोच्न जरुरी छ ।’ 

उनले निर्वाचित सरकार अपदस्त हुनु र संसद् विघटन गरेर लोकतन्त्र अपहरण र अपदस्थ भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप