पोखरा र भैरहवा विमानस्थल सञ्चालनको ठोस योजना नहुँदा मन्त्री सिन्हा असन्तुष्ट
सारांश
- मन्त्री अनिल सिन्हाले क्यानको कार्यशैली र विमानस्थल सञ्चालनप्रति असन्तुष्टि जनाए।
- पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा प्रभावकारिता नभएकोमा चिन्ता व्यक्त गर्दै उनले ठोस कदम चाल्न आग्रह गरे।
- उनले लेखा प्रणाली सुदृढ बनाउन र युरोपेली युनियनको सुरक्षा चासो समाधान गर्न निर्देशन दिए।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यशैली र नयाँ विमानस्थलहरूको सञ्चालन व्यवस्थापनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्राधिकरणको २७ औँ वार्षिक उत्सवमा बोल्दै मन्त्री सिन्हाले अर्बौँको लगानीमा बनेका पोखरा र भैरहवा जस्ता अन्तर्राष्ट्रिय विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकोमा चिन्ता प्रकट गरे ।
हालै लासाबाट पोखरामा हिमालयन एयरलाइन्सको विमान ओर्लँदा ताली बजाइएको प्रसङ्ग निकाल्दै उनले भने , 'एउटा विमान ओर्लँदा ताली बजाउने मात्र होइन, विमानस्थलको दिगो सञ्चालनको स्पष्ट खाका नहुँदा अहिले रुन मन लाग्ने अवस्था छ ।' उनले घोषणा र भाषणहरूमा विमानस्थल सञ्चालनका कुरा सुनिने गरे तापनि व्यवहारमा ठोस कदमहरू अझै देखिन नसकेको टिप्पणी गरे ।
मन्त्री सिन्हाले प्राधिकरणको आन्तरिक लेखा प्रणालीलाई सुदृढ र पारदर्शी बनाउन निर्देशन दिँदै कमजोर प्रणालीले गरिएका राम्रा कामहरूलाई पनि ओझेलमा पार्न सक्ने चेतावनी दिए । उनले युरोपेली युनियन को सुरक्षा चासो र ईएसा सँग सम्बन्धित समस्याहरूको समाधान खोज्दै नेपाली आकाशलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिए । यसका साथै, भद्रपुर र चन्द्रगढी जस्ता सीमावर्ती विमानस्थलहरू मार्फत भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने योजना ल्याउन र काठमाडौँ बाहिरका उडानहरूलाई कसरी व्यवस्थित र अन्तर-आबद्ध गर्ने भन्ने विषयमा गम्भीर हुन उनले आग्रह गरे ।
प्राधिकरणको आगामी सफलतालाई विमानस्थलहरूमा भएको लगानी, गुणस्तरीय सेवा र त्यसबाट प्राप्त हुने राजस्वले मात्र मापन गर्ने मन्त्री सिन्हाको भनाइ थियो । विशेषगरी नेपालगन्ज र विराटनगर जस्ता विमानस्थलहरूको स्तरोन्नति र लगानीको प्रतिफल सुनिश्चित गर्नुपर्ने चुनौती प्राधिकरण सामु रहेको उनले बताए । भाषण र प्रक्रियामा मात्र नअल्झिई परिणाममुखी काम गर्न नेतृत्वलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण