शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

सन् २०२६ लोकतन्त्र र संविधान पुनरुत्थानको वर्ष बन्नुपर्छ : अध्यक्ष ओली

शुक्रबार, १८ पुस २०८२, १० : ५१
शुक्रबार, १८ पुस २०८२

सारांश

  • केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष हुनुपर्ने बताए।
  • ओलीले २०२५ मा लोकतन्त्र भत्काएर संविधान मिचिएको र त्यसलाई २०२६ मा उठाउनुपर्ने धारणा राखे।
  • उनले निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुनुपर्नेमा जोड दिँदै एमालेको विजय हासिल गर्ने बताए।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा लोकतन्त्र भत्काएर खण्डित गरिएको तथा मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ । 

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको दाबी गरे ।

‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो’, अध्यक्ष ओलीको भनाइ थियो ।

वर्तमान सरकार असंवैधानिक र अनधिकृत व्यक्तिको सिफारिसमा संसद् विघटन गरिएको भन्दै ओलीले  प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने काम समेत नगरेको बताए । 

‘नेताहरू विरुद्ध झुटा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुनेछ’, ओलीको भनाइ थियो ।

निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुने निर्वाचनमा एमाले सहभागी हुने मात्र नभई  विजय हासिल गर्ने बताए । 

‘निर्वाचन भइहाल्यो भने हामी त्यसका लागि तयार रहनुपर्छ । आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनुस्’, ओलीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप