क्यानभित्र संस्थागत विचलन, नियामककै तजबिजी निर्णायक
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा व्यक्तिको तजबिजी निर्णय हावी भएको आरोप लागेको छ।
- प्राविधिक परीक्षणलाई बेवास्ता गर्दै पहुँचको आधारमा उडानसम्बन्धी निर्णय हुने गरेको बताइएको छ।
- अडिट प्रतिवेदनलाई सुधारको औजारको रूपमा प्रयोग नगरी बेवास्ता गर्ने प्रवृत्ति मौलाएको छ।
काठमाडौँ । नेपालको उडान सुरक्षाको सर्वोच्च नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) भित्रै नियम र प्रक्रिया होइन, व्यक्तिको तजबिजी निर्णायक बन्न थालेको गम्भीर आरोप बाहिर आएको छ।
प्राधिकरणका प्राविधिक विभाग र युनिटहरूले गरेको परीक्षण, निरीक्षण र मूल्यांकनलाई औपचारिक मान्यता नदिई निर्देशनालय वा विभागीय प्रमुखको व्यक्तिगत आग्रह, दबाब वा पूर्वाग्रहका आधारमा उडानसम्बन्धी निर्णय हुने गरेको स्रोतहरूको दाबी छ।
क्यानका एक उच्च तहका अधिकारीका अनुसार स्पष्ट प्रक्रिया, मार्गदर्शन र प्राविधिक मापदण्ड हुँदाहुँदै पनि ती पालना नगरी ‘को बोल्ने, को दबाब दिने’ भन्ने आधारमा निर्णय हुने प्रवृत्ति संस्थागत रूपमै मौलाएको छ। “उडान अनुमति जस्तो अत्यन्त संवेदनशील विषयमा पनि लिखित प्रक्रिया होइन, पहुँच निर्णायक बनेको छ,” ती अधिकारी भन्छन्।
नियमित अडिटबाट तथ्यसहित आएका प्रतिवेदन र सुधारका सिफारिसहरू व्यवस्थापनको चाहनासँग मेल खाए मात्र ग्रहण हुने गरेको आरोप छ। व्यवस्थापनको निर्णयसँग नमिल्ने अडिट रिपोर्टलाई विशेषाधिकार प्रयोग गरी बेवास्ता गर्दै उडान अनुमति दिइने गरेको स्रोतको भनाइ छ। यसले अडिट प्रणालीलाई सुधारको औजार होइन, आवश्यक पर्दा मात्र प्रयोग गर्ने ‘हातियार’ मा सीमित बनाएको देखिन्छ।
सौर्य एयरलाइन्सको दुर्घटनापछि गठन गरिएको आन्तरिक छानबिन समितिको प्रतिवेदन पनि यही प्रवृत्तिको उदाहरणका रूपमा लिइएको छ। समितिले के निष्कर्ष निकाल्यो, के कमजोरी औंल्यायो, कसको भूमिका के थियो भन्ने विषय आजसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदनको सारसमेत सीमित व्यक्तिको पहुँचमा मात्र सीमित राखिएको स्रोतको दाबी छ। यसले दुर्घटनाबाट पाठ सिक्ने, दोषी पहिचान गर्ने र प्रणाली सुधार गर्ने अवसर नियामकले आफैं गुमाएको आरोप लागिरहेको छ।
केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक अडिट गर्न आएको क्यान प्रधान कार्यालयको टोलीका प्रमुख तथा लाइसेन्स विभागका प्रमुख सुरेशप्रसाद साहले सार्वजनिक रूपमै “एयर ट्राफिक कन्ट्रोलरहरुको अक्षमताले जहाज चढ्नसमेत डर लाग्ने अवस्था छ” भन्ने अभिव्यक्ति दिएका थिए। तर यति गम्भीर अभिव्यक्ति आएपछि न त कुनै एटीसीमाथि कारबाही भयो, न त यस्तो अभिव्यक्ति दिने अधिकारीको जिम्मेवारी र जवाफदेहिता खोजियो। यसले नियामक अराजकता कसरी संस्थागत हुँदै गएको छ भन्ने गम्भीर उदाहरण प्रस्तुत गरेको जानकारहरू बताउँछन्।
स्रोतहरूका अनुसार यस्तो नियामक असक्षमताको साक्षी वर्तमान निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णा स्वयं हुन्। उनी यसअघि हवाई तथा उडान सुरक्षा निर्देशनालयका उप–महानिर्देशक थिए।
उडान सुरक्षा निर्देशनालयअन्तर्गतका प्राविधिक निकायहरूलाई व्यवस्थापनले स्वतन्त्र नियामक अंगको रूपमा होइन, आवश्यक पर्दा प्रयोग गर्ने प्रशासनिक उपकरणका रूपमा व्यवहार गर्नु अत्यन्त गम्भीर विषय भएको विमान क्षेत्रका जानकारहरू बताउँछन्। “नियामक संस्था स्वयं उडान सुरक्षाप्रति संवेदनशील नदेखिनु भनेको यात्रुको ज्यान जोखिममा पर्नु हो,” एक अधिकारीको टिप्पणी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण