बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नौ प्रश्न

म मनको आगो निभाउन लेख्छु : शिवराज शाही

शनिबार, १९ पुस २०८२, १५ : ००
शनिबार, १९ पुस २०८२

सारांश

  • शिवराज शाही, कथा र कविता लेखनमा रुचि राख्ने लेखक हुन्, जसका अडियो कथा चर्चित छन्।
  • शाही 'बुकीफूल' कथासंग्रह र 'शाश्वत' उपन्यास अडियो बुकका रूपमा सार्वजनिक भएका छन्, उनले कथा लेखन प्रतियोगिता जितेका छन्।
  • लेखक शाहीसँगको कुराकानीमा कथा लेखन, साहित्य र सिनेमाप्रतिको उनको दृष्टिकोणबारे चर्चा गरिएको छ।

जाजरकोटको कुशे गाउँपालिकामा जन्मिएका शिवराज शाही कथाका साथै कविता लेखनमा रुचि राख्छन् । उनका कथाहरू अडियोका माध्यमबाट विभिन्न च्यानलहरूमा प्रसारण हुँदै आएका छन् ।

अध्ययनका क्रममा हाल हेटौंडा बसोबास गर्दै आएका शाहीको ‘बुकीफूल’ कथासंग्रह र ‘शाश्वत’ उपन्यास अडियो बुकका रूपमा सार्वजनिक भएका छन् । शाही चक्रपाणि राष्ट्रव्यापी कथा लेखन प्रतियोगिता– २०८१ र बाह्रखरी कथा लेखन प्रतियोगिता– २०८२ का विजेता हुन् ।

उनै शाहीसँग रातोपाटीको ‘नौ प्रश्न’ श्रृंखलाका लागि रमा सुवेदीले गरेको कुराकानीः

१. बाह्रखरी कथा लेखन प्रतियोगितामा दुई लाख राशिको प्रथम पुरस्कार जित्नुभएकोमा सबैभन्दा पहिला त तपाईंलाई धेरै–धेरै बधाई छ । आफ्नो कथाले पहिलो पुरस्कार पाउँला भन्ने सोच्नुभएको थियो ?

धन्यवाद । मेरो कथा उत्कृष्ट २५ भित्र पर्नु नै मेरा लागि खुसीको कुरा थियो । मैले पात्रहरूप्रति न्याय नै गरेको रहेछु भन्ने लाग्यो । कथाले प्रथम पुरस्कार नै पाउँछ भन्नेचाहिँ लागेको थिएन । तर, कता–कता अनौठो महसुस भइरहेको थियो । प्रथम कथाको थिममा उत्कृष्ट कथाको बुक कभर डिजाइन गरिएको हुँदोरहेछ । त्यो कुरा मैले अन्तिममा थाहा पाएँ । प्रथम कथाको नाम घोषणा गर्ने बेला एकाएक ज्यान चिसो भयो ।

२. यो कथालाई ३८ पटक सम्पादन गरेँ भन्नुभएको छ, प्रतियोगितामा भाग लिने भनेर यति धेरै पटक सम्पादन गर्नुभएको वा अन्य कथाहरू पनि यसरी नै सम्पादन गर्नुहुन्छ ?

यो कथा मात्रै होइन, कुनै पनि रचना म कुनै प्रयोजनका लागि लेख्दिनँ । प्रयोजनसँग स्वार्थ जोडिएर आउँछ । त्यसले लेखनमा दबाब हुन्छ । प्रतियोगिता हुनुभन्दा धेरै पहिला यो कथा फाइनल गरिसकेको थिएँ । जहाँसम्म सम्पादन र पुनर्लेखनको कुरा छ– मेरा सबै रचनामा समय लाग्छ । ड्राफ्ट धेरै बन्छन् । महिनौँ लाग्छ । धेरैपटक सम्पादन, पुनर्लेखन गरेको कथा प्रतियोगिताको होइन । म नितान्त मनको आगो निभाउन लेख्ने कथाकार हुँ । कथा लेखनमा ढुक्क भएर काम गर्न मन लाग्छ ।

३. अघिल्लो वर्ष लगभग यही समयतिर तपाईंमा लेखनप्रति वितृष्णा थियो । केही पाण्डुलिपि फ्याँकेको कुरा गर्नुभएको थियो । तपाईंलाई पुनः के विषयले लेखनको संसारमा डोर्‍याई ल्यायो ?

मलाई थाहा छ, म सन्कहा मान्छे हुँ र असन्तुष्ट पनि । त्यतिबेला म चक्रपाणि राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम भएको थिएँ । राम्रो लेख्नुपर्छ भन्ने प्रेसर थियो सायद । आफ्ना कथाहरू हेर्छु त मनै पर्दैन । कता–कता पात्रहरूसँग विछोड भएको भान हुन्थ्यो । कुनै कथा लेखिरहँदा जब–जब पात्रहरूसँग टाढा भएको महसुस हुन्छ, त्यतिबेला मलाई एकदमै दुःख लाग्छ । त्यतिबेला मैले धेरै पात्रहरूप्रति इमानदार हुन सकिनँ कि भन्ने लागेर पाण्डुलिपि राप्ती खोलामा बगाइदिएँ ।

तर, त्यसले पनि मलाई सन्तुष्टि दिएन । पात्रहरूले सताइरहे । कहिले सपनामा आएर सताए । कहिले विपनामै पनि विभिन्न स्वरूपमा उपस्थित भएर पात्रहरूले मसँग विद्रोह गरे । कि सुरु नगर्नुपर्ने ! सुरु गरेपछि अलपत्र नछोड्नुपर्ने भन्ने कुराले फेरि दुःखाउन थाल्यो । त्यसपछि हो, मैले खोलामा बगाएको पाण्डुलिपि खोजेको ।

४. कुनै पनि प्रतियोगिताबाट साहित्यको मापन हुन सक्छ ?

प्रतियोगिताहरू लेखनका लागि प्रोत्साहन हुन्, हौसला हुन् । लेखनको मूल्यांकन धैर्य र साधनाले गर्छ । इमानदारिताले गर्छ । लेखकले इमानदार भएर लेखेपछि, ढिलोचाँडोको कुरा हो, मूल्यांकन हुन्छ नै ।

५. तपाईंको लेखनको संसार कस्तो छ भनिदिनु न ।

मेरी हजुरआमा गाउँकै प्रख्यात धामी हुनुहुन्छ । कहिलेकाहीँ म उहाँको देउतालाई अविश्वास गरेर उहाँसँग सोध्छु, ‘ज्यानमा देउता आउँदा कस्तो हुन्छ ?’ उहाँ भन्नुहुन्छ, ‘ज्यानमा देउता चढेपछि केही थाहै हुँदैन । जे बोल्छ देउताले बोल्छ ।’ मेरो कथा लेखन पनि त्यस्तै छ । पात्रहरूले नसताएसम्म म लेख्न बस्दिनँ । जब लेख्न बस्छु, म बोल्दिनँ– पात्रहरू बोल्छन् । मलाई म अर्कै संसारमा पुगेजस्तो अनुभूत हुन्छ ।

कुनै समय म कथा लेखिरहेको छु भन्ने थाहा भयो भने म लेख्नै छाडिदिन्छु । बरू पात्रहरूसँग हिमचिम बढाउँछु । त्यसै कारण पनि हो, मेरो कथा लेखनमा समय लाग्ने । मेरो लेखन संसार रमाइलो छ, फन्नी छ । पागलखाना जस्तो छ । जब म लेखनमा मग्न हुन्छु– म बिर्सिन्छु सांसारिक जगत् ।

घरपरिवारसँग सम्पर्क टुट्छ । थोरै भए पनि पात्रहरूले बाँचेको जीवन अनुभूत गरेर लेख्न मन लाग्छ । उनीहरूसँग गहिरो भावनात्मक सम्बन्ध बनाउन मन लाग्छ । जब म नयाँ कथामा सिफ्ट हुनुपर्ने समय आउँछ, अनि हुन्छ– ब्रेकअप । यस्तो बेला कि गीत सुन्ने हो, कि फनफनी सहर घुमिबस्ने हो । केही गर्दा पनि मन शान्त भएन भने सहरमा भएका प्रिय मान्छे भेटेर मनलाग्दी बोल्ने हो । मेरो बकवास सुनिबस्ने प्रमुख पात्रहरू हेटौंडाका कवि, लेखकहरू हुन् ।

६. पछिल्लो समय कुन कृति पढ्नुभयो ?

म धेरै पढ्ने मान्छे होइन । एउटै कृति धेरैपल्ट पढ्ने मान्छेचाहिँ पक्कै हो । सप्तरीबाट आईएस्सी सकाएर जब हेटौंडा आएँ, त्यसैबखत हेटौंडामा भर्खरै सञ्चालनमा आएको ‘किताबघर’ सँग सम्पर्क भयो । त्यसपछि भने केही समय पढेरै बसेँ– दुई वर्ष जस्तो । बीएस्सी पढ्न आएको म साहित्य र सिनेमामा हराएँ । परिवारसँग विद्रोह गरिबसेँ ।

पछिल्लो समय मैले पढेको कृति ‘तोरकिन’ हो । क्षितिज समर्पणद्वारा लिखित यो कृति मुस्ताङको एक गाउँ चराङको कथा हो । त्यसमा त्यही गाउँका एकजना युवाको कथा समेटिएको छ । त्यसको क्राफ्ट र भाषाशैलीले मलाई निकै प्रभावित पार्‍यो ।

७. आफूलाई झकझकाएको कृति सम्झनुपर्दा कुन–कुनलाई सम्झिनुहुन्छ र किन ?

मलाई मन परेका कृति थुप्रै छन् । कुनै नेपाली छन् त कुनै विदेशी । अहिले दिमागमा किताबभन्दा पनि सिनेमाको याद आयो, जसमा आन्द्रेई तारकोभ्स्कीका थुप्रै सिनेमा पर्छन् । त्यस्तै सत्यजित रेका सिनेमाहरूले पनि दिमागमा डेरा जमाएकै छन् । त्यस्तै काली कर्णालीका देउडा, मागलहरू आउँछन्, जो आमाहरूले बचाएका छन्, पुस्तान्तरण गरेका छन् । मलाई यी कृतिहरू मन पर्नुको कारण के हो भनेर म भन्न सक्दिनँ । मेरो रुचि त्यस्तै भएर होला सायद ।

८. सिनेमाको कुरा निकाल्नुभयो । सिनेमाको ‘स्क्रिप्ट’मा पनि काम गरिरहनुभएको थियो होइन ? कहाँ पुग्यो त्यो सिनेमा ?

हो, म सानैदेखि सिनेमामा निकै रुचि राख्ने व्यक्ति हुँ । साहित्यभन्दा पहिला म सिनेमासँग जोडिएको हुँ । केही समयअघि एउटा सिनेमाको स्क्रिप्ट पनि लेखेँ । त्यसमा धेरै काम गर्न बाँकी छ । आगामी दिनमा शुभ समाचार आउला । यो बीचमा मैले ‘ब्लु मुन’ नामको लघु वृत्तचित्र बनाएँ ।

सिनेमासँग धेरै ठुलो प्रेम छ । यद्यपि म कथाकार नै भइरहन चाहन्छु । कविता पनि लेख्छु कहिलेकाहीँ, तर पनि म कथाकार नै भइरहन चाहन्छु । फिल्म मेरो साधन हो, तर साध्य होइन । मन त कथा भन्ने नै हो ।

९. सिनेमा हेर्नु, पुस्तक पढ्नु र लेख्नुबीच के भिन्नता रहेछ ?

बनावटका दृष्टिकोणले साहित्य र सिनेमामा केही भिन्नता देखिन्छन् । यद्यपि दुइटै विधाले भन्ने कथा नै हो । प्राविधिक दृष्टिकोण, भाषागत दृष्टिकोण फरक भए पनि दुवैको काम मूलतः एकै हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप