बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अमेरिका भेनेजुएला तनाव

भेनेजुएलामा अमेरिकी आक्रमण : विश्वभरबाट के आयो प्रतिक्रिया ?

शनिबार, १९ पुस २०८२, १७ : ४७
शनिबार, १९ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको दाबी गरे, मादुरोलाई नियन्त्रणमा लिएको बताए।
  • भेनेजुएला सरकारले यसलाई गम्भीर सैन्य आक्रमण भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
  • कोलम्बिया, क्युबा, रुस र इरान लगायतका देशहरूले अमेरिकी कार्यको निन्दा गर्दै शान्ति र वार्ताको आह्वान गरेका छन्।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो परिमाणमा आक्रमण गरेको बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले यो अपरेसनपछि मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरेका छन्। 

उनले यो कारबाही अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायसँगको समन्वयमा भएको बताए पनि यसको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। शनिबार बिहानै अमेरिकाले भेनेजुएला भित्र आक्रमण गरेको थियो, जसको डर त्यहाँका नागरिकमा हप्तौँदेखि थियो। 

फक्स न्युज र सीबीएस न्युजजस्ता अमेरिकी मिडियाले पनि दक्षिण अमेरिकी मुलुकमा आक्रमण भएको पुष्टि गरेका थिए। अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले सामाजिक सञ्जाल एक्समा लेख्दै यसलाई भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को संज्ञा दिएका छन्। उनले तानाशाह सत्ताबाट हटेको र अब उसले आफ्ना अपराधको सजाय भोग्ने बताएका छन्। 

उता मादुरो सरकारले भने यसलाई अमेरिकी सरकारको ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ भन्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष यसको कडा भर्त्सना गरेको छ।

अमेरिकी आक्रमणपछि छिमेकी मुलुक र विश्व समुदायबाट तीव्र प्रतिक्रिया आउन थालेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको भन्दै विश्वलाई सचेत गराएका छन्। उनले कुनै पनि प्रकारको सशस्त्र मुठभेडभन्दा शान्ति र अन्तर्राष्ट्रिय कानुनको सम्मान ठूलो हुने भन्दै भेनेजुएलाको सार्वभौमसत्तामाथिको आक्रमण अस्वीकार्य रहेको बताए। पेट्रोले लगत्तै भेनेजुएलाको सीमानाकामा सेना परिचालनको घोषणा गरेका छन्। 

क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले पनि यसलाई ‘आपराधिक आक्रमण’ र ‘राज्य आतंक’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

रुस र इरानले पनि अमेरिकी कदमको विरोध गरेका छन्। रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले गरेको ‘सशस्त्र आक्रमण’ को भर्त्सना गरेको छ र यसले गम्भीर चिन्ता बढाएको जनाएको छ। मस्कोले थप द्वन्द्व बढ्न नदिन र वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै भेनेजुएलाका जनतालाई आफ्नो भाग्य आफैँ निर्णय गर्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ। इरानले पनि यसलाई राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको ठाडो उल्लंघन भनेको छ।

युरोपेली युनियन (ईयू) ले भने स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ। ईयूकी विदेश नीति प्रमुख काजा लासले मादुरोको वैधानिकता नभए पनि शान्तिपूर्ण संक्रमणको पक्षमा ईयू रहेको र जुनसुकै परिस्थितिमा अन्तर्राष्ट्रिय कानुनको पालना हुनुपर्ने बताएकी छन्। स्पेनले संयमता अपनाउन र तनाव कम गर्न आग्रह गर्दै मध्यस्थताको प्रस्ताव गरेको छ भने इटालीले भेनेजुएलामा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति चासो व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप