शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समानुपातिक बन्दसूची रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म

आइतबार, २० पुस २०८२, १७ : ०१
आइतबार, २० पुस २०८२

काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए । कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेस गर्न पाउनेछन् ।

अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘१६ गतेदखि २० गतेसम्म दलहरुको दर्ता भएको समानुपातिकतर्फको बन्दसूचीमा रहेको डकुमेन्टहरु रुजु गयौँ । रुजू गर्दा देखिएका कैफियतहरु हामी सबै कोट गरेर सम्बन्धित दलहरुलाई आज साँझसम्म पत्र पठाउँछौँ । त्यसमा डकुमेन्ट नपुगेका, उमेर नपुगेका लगायत सबै छुट्याएर हामी पठाउँछौ । त्यसको आधारमा भोलि २१ गतेदेखि २७ गतेसम्म दलहरुले ती कुरा सच्याएर ल्याउनुहुन्छ । र हामीले दलको तर्फवाट आएको बन्दसूचीलाई २७ गते फाइनल गर्छौ ।’

उनले थप भने, ‘त्यसपछि सम्बन्धित उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन पाउनुहुन्छ । समानुपातिकमा बस्न चाहन्न भन्नेले २८ गते उम्मेवारी फिर्ता दिन पाउँछन्, हामीले त्यो पनि सम्बन्धित दललाई जानकारी दिन्छौँ । र दलको विवरण आइसकेपछि दलले खाली ठाउँमा नयाँ मान्छे सिफारिस गरेपछि दलको तर्फबाट अन्तिम बन्दसूची तयार पारेपछि हामीले त्यसलाई सार्वजनिक गर्छौं ।’

फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेस गरेका थिए । – न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप