बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीका १८ वटै क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत, को कहाँ ?

आइतबार, २० पुस २०८२, २० : ५०
आइतबार, २० पुस २०८२

सारांश

  • निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
  • गण्डकी प्रदेशका ११ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन्, जसमा जिल्ला न्यायाधीशहरू मुख्य र अन्य अधिकृतहरू निर्वाचन अधिकृत छन्।
  • गोरखा, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा एकभन्दा बढी निर्वाचन अधिकृत तोकिएका छन्, भने अन्य जिल्लामा मुख्य निर्वाचन अधिकृतले नै जिम्मेवारी सम्हाल्नेछन्।

पोखरा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका हुन् । 

गण्डकीका ११ जिल्लास्थित जिल्ला अदालतका न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका अन्य अधिकृतहरूलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । आयोगले सार्वजनिक गरेको विवरण अनुसार गोरखा, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा एकभन्दा बढी निर्वाचन अधिकृतहरू तोकिएका छन् भने हिमाली र पहाडी अन्य जिल्लाहरूमा मुख्य निर्वाचन अधिकृतले नै जिम्मेवारी सम्हाल्नेछन् ।

कास्की जिल्लामा ३ निर्वाचन क्षेत्र छन् भने गोरखा, तनहुँ, स्याङजा, नवलपुर र बागलुङमा २/२ वटा निर्वाचन क्षेत्र छन् । बाँकी ५ जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छन् । गोरखाको क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतका रूपमा सर्वोच्च अदालतका इजलास अधिकृत मोहनप्रसाद बेल्वासेलाई तोकिएको छ । 

लमजुङको निर्वाचन जिल्ला न्यायाधीश शिशिरराज ढकालले सम्हाल्नेछन् । तनहुँ क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र २ को निर्वाचन गराउन सर्वोच्च अदालतकै इजलास अधिकृत भेषराज पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । 

कास्कीमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्लाका १ नम्बर न्यायाधीश हिमलाल बेल्वासेलाई दिइएको छ । उनले क्षेत्र नम्बर ३ को निर्वाचन गराउनेछन् । क्षेत्र नम्बर १ मा सर्वोच्चका इजलास अधिकृत सीता रेग्मी र २ मा निर्मलाकुमारी खड्का निर्वाचन अधिकृतका रूपमा तोकिएका छन् । 

मनाङमा जिल्ला न्यायाधीश रामप्रसाद पौडेलले निर्वाचन सम्पन्न गराउनेछन् भने मुस्ताङमा विद्याराज पौडेल तोकिएका छन् । यस्तै पर्वतमा बासुदेव पौडेल र म्याग्दीमा सूर्यबहादुर थापालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । दुवै जना जिल्ला न्यायाधीश हुन् । 

स्याङ्जामा जिल्ला न्यायाधीश उपेन्द्र प्रसाद गौतमले १ नम्बर क्षेत्रको निर्वाचन गराउनेछन्, उनी मुख्य निर्वाचन अधिकृत बन्दा २ नम्बर क्षेत्रको निर्वाचन गराउन विद्युत् विकास विभागका कानुन उपसचिव ऋषि पौडेललाई निर्वाचन अधिकृत बनाइएको छ ।

बागलुङमा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीले मुख्य निर्वाचन अधिकृतको भूमिकाबाट क्षेत्र नम्बर १ को निर्वाचन गराउनेछिन् भने २ नम्बरमा सर्वोच्चका इजलास अधिकृत भीमप्रसाद सुवेदी निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी पाएका छन् । 

नवलपुरको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवाली छन् । उनले क्षेत्र नम्बर १ कै निर्वाचन गराउने छन् । २ मा सर्वोच्चका उपरजिष्ट्रार सीता अधिकारी निर्वाचन अधिकृत बनेकी छन् ।

यसैगरी आयोगले कास्की जिल्ला अदालतका अन्य न्यायाधीशहरूलाई जगेडा मुख्य निर्वाचन अधिकृतका रूपमा सूचीकृत गरेको छ । भैपरी आउने अवस्थाका लागि उनीहरूलाई तयारी अवस्थामा राखिएको हो ।
कास्कीका न्यायाधीश शंकरबहादुर राई, रमेशप्रसाद रिजाल र कृष्णजंग शाह तथा जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले जगेडाका रूपमा राखिएको छ ।

निर्वाचन अधिकृतहरूको नियुक्तिसँगै चुनावी सरगर्मी सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप