मोरङ–२ मा फेरिँदो राजनीतिक समीकरणः एमालेका बलिया दाबेदार, कांग्रेसको नयाँ रणनीति
सारांश
- मोरङ-२ मा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
- एमालेले ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र नैनकला ओझालाई उम्मेदवार सिफारिस गरेको छ।
- कांग्रेसले यसपटक सुजाता कोइरालालाई सिफारिस नगरेर डा. मीनेन्द्र रिजाललाई अघि सारेको छ।
मोरङ । प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलका उम्मेदवार सिफारिस सूचीले यस क्षेत्रको राजनीतिक समीकरण नयाँ मोडतर्फ उन्मुख भएको सङ्केत गरेको छ ।
नेकपा एमालेले मोरङ–२ बाट तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । सिफारिस सूचीमा निवर्तमान प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका वर्तमान नगरप्रमुख दिलीप अग्रवाल र पूर्वराष्ट्रियसभा सदस्य नैनकला ओझा छन् ।
विघटित प्रतिनिधि सभाका सदस्यदेखि वर्तमान मेयर र पूर्वराष्ट्रियसभा सदस्यसम्मको उपस्थिति रहेको सिफारिस सूचीले एमाले यो क्षेत्रमा जित दोहोर्याउने तयारीमा जुटेको देखिन्छ ।
गत संसदीय निर्वाचनमा प्रतिनिधि सभातर्फ मोरङमा एमालेले जित हात पारेको एकमात्र क्षेत्र यही मोरङ–२ हो । यसपटक पनि एमालेले यही आधारमा बलिया र परिचित अनुहार अघि सारेको देखिन्छ ।
हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पोखरेल र अग्रवाल दुवै मुख्य आकांक्षीका रूपमा अगाडि आएका छन् ।
रंगेली नगरप्रमुख दिलीप अग्रवाल स्थानीय तहमा बलियो जनाधार बनाएका नेता मानिन्छन् । उनी २०७४ र २०७९ गरी दुई कार्यकाल रंगेलीको मेयरमा निर्वाचित भइसकेका छन् ।
पहिलो कार्यकालमा अग्रवाल तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछि एमाले–माओवादी एकताबाट बनेको नेकपा विभाजन हुँदा अग्रवाल एमालेमै रहे । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका अग्रवालले शानदार जित निकालेका थिए । कुल ९ वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ को वडा सदस्य पदबाहेक मेयर, उपमेयरसहित सबै स्थानमा जित हात पारेको थियो ।
आफ्नो उम्मेदवारी आकांक्षाबारे अग्रवालले रातोपाटीसँग भने, ‘यहाँको समग्र जनताको इच्छा र आकाङ्क्षा बुझेरै मैले पनि आकाङ्क्षा व्यक्त गरेको हुँ, पार्टी कार्यकर्ता र जनताको भावना अनुरूप नै मैले इच्छा व्यक्त गरेँ । पार्टीले विश्वास गरेमा चुनावमा जान्छु, नत्र अहिलेको आफ्नो जिम्मेवारी पूरा गर्छु ।’
अर्कातर्फ, ऋषिकेश पोखरेल मोरङ–२ का परिचित र अनुभवी नेता हुन् । उनी एमाले मोरङका पूर्व जिल्ला अध्यक्षसमेत हुन् र पार्टी अध्यक्षका विश्वासपात्रका रूपमा चिनिन्छन् । पोखरेलले २०७४ को निर्वाचनमा कांग्रेसका डा. मीनेन्द्र रिजालसँग पराजय व्यहोरेका थिए । तर २०७९ को निर्वाचनमा उनले कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे ।
यता, ‘कोइरालाको गढ’ भनेर चिनिने मोरङ–२ मा नेपाली कांग्रेसले पनि महत्त्वपूर्ण रणनीतिक परिवर्तन गरेको देखिन्छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले यसपटक पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई प्रत्यक्षतर्फको सिफारिस सूचीमै नराखी डा. मीनेन्द्र रिजाल, पूर्वप्रदेश सांसद शिवनारायण सिंह र नारायणी पण्डितलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । लगातार तीन पटक यही क्षेत्रबाट विजयी हुँदै स्वर्गीय गिरिजाप्रसाद कोइरालाले राजनीतिक गढ बनाएको क्षेत्रमा कांग्रेसले कोइराला परिवारभन्दा बाहिर गएर नयाँ शक्ति–समीकरणतर्फ कदम चालेको विश्लेषण हुन थालेको छ ।
हालको मोरङ–२ स्व. गिरिजाप्रसाद कोइरालाको ऐतिहासिक निर्वाचन क्षेत्र हो । उनले २०४८ देखि २०५६ का तीन वटा संसदीय निर्वाचनमा लगातार यहीँबाट जित निकाल्दै प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका थिए । २०५६ मा मोरङ र सुनसरी–५ दुवै क्षेत्रमा विजयी भएपछि उनले मोरङ छाडे पनि आमोदप्रसाद उपाध्यायले पहिलो संविधान सभा निर्वाचनसम्म कांग्रेसको पकड जोगाइराखेका थिए ।
तर दोस्रो संविधान सभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल उदाउँदै उपाध्यायलाई पराजित गरेपछि यहाँको राजनीतिक समीकरण फेरिएको थियो । त्यसपछि २०७४ मा डा. मीनेन्द्र रिजालले पोखरेललाई पराजित गर्दै यो क्षेत्र पुनः कांग्रेसतर्फ फर्काएका थिए । २०७९ मा भने गठबन्धनको तर्फबाट कांग्रेसले सुजाता कोइरालालाई उम्मेदवार बनाए पनि पोखरेलले पुनः जित दोहोर्याए ।
यसरी एमालेले पोखरेल र अग्रवालजस्ता बलिया उम्मेदवार अघि सार्नु र कांग्रेसले कोइराला परिवारभन्दा बाहिर गएर नयाँ रणनीति अपनाउनुले मोरङ–२ को निर्वाचन कडा र निर्णायक प्रतिस्पर्धातर्फ जाने सङ्केत दिएको छ ।
हालको मोरङ–२ मा रतुवामाई, सुनवर्षी, रंगेलीका १, २, ३, ८ र ९ नम्बर वडा, पथरी शनिश्चरेका वडा ५, ६, ७ तथा कानेपोखरीका वडा १, २, ३ गरी कुल २९ वडा समेटिएका छन् ।
- यस्तो छ वडागत मत
जम्मा २९ वटा वडा रहेको यो क्षेत्रमा समग्रमा एमाले बलियो देखिएको छ । ०७९ सालका स्थानीय तह निर्वाचनमा २९ वडाको मत परिणाम हेर्दा नेकपा एमालेले १६ वडा जितेको छ भने कांग्रेसले ११ वडामा जित हात पारेको छ । बाँकी २ वडामा तत्कालीन माओवादी विजयी भएको छ ।
क्षेत्र नम्बर २ मा पर्ने ५ स्थानीय तहका २९ वडाको गत निर्वाचनको मत परिणाम हेर्दा कांग्रेसले रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा ४–४ वडामा जित हात पारेको छ भने कानेपोखरीमा एउटा वडा र पथरी शनिश्चरेमा दुई वडामा जित हात पारेको छ । रंगेलीमा कांग्रेस शून्य छ ।
एमालेले रतुवामाईका ५ वडा, सुनवर्षीका चार, कानेपोखरीका २ र रंगेलीका ५ वडामा जित हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण