शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसलाई पत्र

मङ्गलबार, २२ पुस २०८२, ०९ : ३२

सारांश

  • कांग्रेस पार्टीमा ज्ञान र त्यागको कमीले देश, जनता र पार्टीले दुःख पाइरहेका छन्।
  • पार्टीभित्रका समस्या समाधान गर्न नेताहरूले चासो नदेखाएको र गुटबन्दीमा समय बिताएको कुरा उल्लेख छ।
  • सही समयमा सही निर्णय लिन नसके कांग्रेसको भविष्य संकटमा पर्न सक्ने चेतावनी दिइएको छ।

पार्टी सञ्चालन र राजनीति गर्न ज्ञान र अध्ययनभन्दा ठुलो केही छैन। ज्ञानको कमी नै समस्याको जड हो। यदि समस्यालाई समयमै वार्ताबाट समाधान गरिएन भने त्यो प्रतिष्ठाको लडाइँ हुँदै प्रतिशोध र विद्रोहमा परिवर्तन हुनसक्छ। विद्रोहको समाधान वार्ता हो भने शान्ति हरेक व्यक्ति, समाज, देश र विश्व समुदायको अन्तिम चाहना हो। लडाइँ अन्तिम विकल्प होइन, किनकि यसको परिणाम कसैको हितमा हुँदैन। यो ज्ञान कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राख्नु जरुरी छ किनकि आज पार्टी असहज स्थितिबाट गुज्रिरहेको छ।

एकजना भगवान्‌को पूजा गर्दै गरेको मानिसलाई एक नास्तिकले प्रश्न गरेछन् कि ‘तिमी भगवान्‌का भक्त हौ? तिमीलाई सधैँ मन्दिर गएको र पूजापाठ, भजन गरेको देखेको छु।’ त्यस व्यक्तिको ‘होइन’ भन्ने जवाफमा नास्तिकले फेरि सोधे, ‘अरू के गर्दा भक्त भनिन्छ त?’ त्यस व्यक्तिले भने, ‘मलाई आफूलाई भगवान्‌को भक्त भन्न अप्ठ्यारो लाग्दछ किनकि भगवान्‌ले जीवन सुन्दर, सरल र राम्रो बनाउन दिएका धेरै राम्रा–राम्रा उपदेशहरू मैले पालना गर्न सकेको छैन। त्यसैले मलाई भक्त भन्न लाज लाग्छ।’

ठिक त्यसैगरी नेपाली कांग्रेस प्रजातन्त्रको मूल्य र मान्यता बोकेको पार्टी हो, जसलाई जस्तोसुकै परिस्थिति आइलागे पनि पद र सत्ताको लागि गलत निर्णय लिने अधिकार छैन। यसका आदर्शलाई पालना नगर्ने हो भने 'प्रजातन्त्रको भक्त र रक्षक हुँ' भनेर भन्न मिल्दैन। बरु त्यसको विपरीत यिनीहरू प्रजातन्त्रको खोल ओढेका, देश र जनतालाई ठगी खाने पार्टीभित्रको जमात हुन् भन्दा फरक पर्दैन। स्वतन्त्र रूपले समाजमा बाँच्न चाहने, निर्धक्क भएर आफ्नो विचार राख्ने, अरूको आवाज र विचारलाई सम्मान गर्ने, नागरिक स्वतन्त्रताको आदर्श पालना गर्ने र प्रतिस्पर्धामा विश्वास गर्ने व्यक्ति नै ‘कांग्रेस’ हुन्।

महाभारत युद्ध चलिरहेको बेला भगवान् कृष्ण अर्जुनका सारथि हुनुहुन्थ्यो। एकातिरबाट कर्णको बाणको वर्षा भइरहेको थियो, अर्कोतिर जवाफमा अर्जुनले पनि बाणको वर्षा गरिरहेका थिए। कर्णको बाणले अर्जुनको रथलाई १० मिटर पछाडि धकेलिदिँदा भगवान् कृष्णले ‘वाह ! महावीर कर्ण’ भनेर प्रशंसा गर्नुहुन्थ्यो। तर अर्जुनको बाणले कर्णको रथलाई सय मिटर पछाडि धकेलिदिँदा पनि भगवान् कृष्णबाट अर्जुनले प्रशंसा पाउँदैनथे।

यी अदृश्य शक्तिहरू त्यागेपछि भने अहिले कांग्रेस नङ्ग्राविहीन बुढो बाघ जस्तो भएको छ।

अर्जुनलाई जिज्ञासा जाग्यो कि ‘मैले कर्णको रथ सय मिटर पछाडि धकेल्दिँदा प्रशंसा नपाउने तर कर्णले मेरो रथ १० मिटर पछाडि धकेल्दा भने प्रशंसा पाउनुको कारण के हो?’ लडाइँको बिचमा आफ्नो धनुष रथमा राख्दै, हात जोडेर उनले भगवान् कृष्णलाई सोधे। भगवान् कृष्णले मुस्कुराउँदै अर्जुनलाई जवाफ नदिएर धनुषतिर इशारा गर्दै लडाइँ लड्नको लागि सङ्केत गर्नुभयो। अर्जुन धनुष लिएर बाण प्रहार गर्ने तयारीमा थिए, उताबाट कर्णको बाणले अर्जुनको रथ हजारौँ मिटर पछाडि धकेलिदियो। भगवान् कृष्णले रथमा लगाएको आफ्नो अदृश्य शक्ति केही समयको लागि निकालिदिँदा आफ्नो रथको यो हालत भएको बुझेपछि अर्जुनले हात जोड्दै भगवान् कृष्णसँग माफी मागे।

यस्तै किसिमको अवस्था अहिले नेपाली कांग्रेसको देखिन्छ। हिन्दू राज्य, राजसंस्था र समाजवाद नेपाली कांग्रेसको अदृश्य शक्ति थियो। यी शक्तिहरूले गर्दा विगतमा कांग्रेस राष्ट्रिय राजनीतिमा शक्तिशाली पार्टी रहँदै आएको थियो। कांग्रेसले त्यसबेला कम्युनिस्टलाई देखाएर राजतन्त्रलाई सन्तुलनमा राख्दथ्यो र राजालाई देखाएर कम्युनिस्टमाथि भय सिर्जना गरी सत्ता चलाउँथ्यो। यी अदृश्य शक्तिहरू त्यागेपछि भने अहिले कांग्रेस नङ्ग्राविहीन बुढो बाघ जस्तो भएको छ।

त्यतिमात्र कहाँ हो र, कांग्रेस अहिले कम्युनिस्टहरूको सहारा बिना हिँड्न नसक्ने र बाँच्न नसक्ने अवस्थामा पुगेको जस्तो देखिन्छ। अस्तित्व बचाउनको लागि राजनैतिक सिद्धान्त र विचारलाई तिलाञ्जली दिँदै विश्वको कुनै पनि प्रजातान्त्रिक मुलुकमा नभएको अभ्यास स्वरूप कांग्रेस–कम्युनिस्टहरू मिलेर चुनावमा जाने तयारी हुँदैछ रे, लोकतन्त्रको रक्षाको लागि भनेर ! गणतन्त्र ल्याउनुभन्दा पहिले गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो– ‘लोकतन्त्रको लागि अब कसैले लड्नु र मर्नुपर्ने छैन।’ तर सत्ताको खेलमा जेनजी पुस्ताको दमन र हत्या भयो।

अहिलेका कांग्रेसका प्रमुख नेताहरूमा त्याग र ज्ञानको कमीले गर्दा देश, जनता र पार्टीले दुःख पाइरहेका छन्।

नेपाली कांग्रेसका प्रमुख नेताहरूमा बुद्धि पलाओस् भनेर शुभेच्छुक राजनीतिक विश्लेषक, लेखक, सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कांग्रेसभित्रका समस्याहरू, सुझाव, सल्लाह र समाधानका उपायहरू दिइरहेका छन्। विडम्बना के छ भने धेरै कार्यकर्ताहरूलाई यी कुराहरूको बोध छ। तर प्रमुख नेताहरू, जो दलको नेतृत्व गर्दैछन्, उनीहरूलाई यसको ज्ञान छैन र ज्ञान प्राप्त गर्ने सोच र समय दुवै छैन। उनीहरूको अधिकतम समय गुट–उपगुटमा विभाजित कार्यकर्ताहरूसँग भेटघाट, पार्टीभित्र र सरकारमा कसरी सत्तामा बसिरहने, नियुक्तिको भागबण्डा कसरी मिलाउने र भ्रष्टाचार मुद्दाबाट कसरी बच्ने आदिमै बितिरहेको देखिन्छ।

कांग्रेसका महान् नेता बीपी कोइराला राष्ट्र र जनताप्रति इमान्दार, उच्च ज्ञान र विचारले भरिपूर्ण, कुशल नेतृत्व भएका नेता हुनुहुन्थ्यो। उहाँका थुप्रै प्रकाशित लेख–रचना तथा पुस्तकहरू कांग्रेसीहरूले पढेका भए आज पार्टीभित्र यो स्थितिको सिर्जना हुने थिएन। अहिलेका कांग्रेसका प्रमुख नेताहरूमा त्याग र ज्ञानको कमीले गर्दा देश, जनता र पार्टीले दुःख पाइरहेका छन्।

राजनीति, शक्ति र सत्ता प्राप्तिको लागि नै गरिन्छ, जोगी बन्न होइन। तर कांग्रेस पार्टीका केही नेताहरू आफ्नो कुर्सी जोगाउनमा मात्रै केन्द्रित रही सत्ताको भागबण्डामा थोरै शक्तिमा चित्त बुझाएर बाँकी राज्यशक्ति कम्युनिस्टहरूलाई सुम्पिएर ऐतिहासिक गौरवमय पार्टी मास्नतिर लागेको देखिन्छ। यदि आज सिद्धान्तमा अडेको भए यो दुर्दशा देख्नुपर्ने थिएन।

सही समयमा सही नेता वा कार्यकर्ताले सही निर्णय लिन सकेनन् भने कांग्रेसका शुभचिन्तकहरूको लागि ‘राम राम’ भन्नुबाहेक केही बाँकी रहने छैन।

कांग्रेस बुढो पार्टी हो। त्यसैले ‘मानिस बुढो भए निहुँ खोज्छ, गोरु बुढो भए भिर खोज्छ’ भन्ने उखान पार्टीमा पनि लागू हुनसक्छ, यदि समयमा बुद्धि पुर्‍याएन भने। ‘मानिस बुढो भए मुख मात्र चल्छ, दिमाग चल्दैन’ भनेजस्तै अहिले कांग्रेसी नेताहरू त्यही स्थितिमा पुगेका देखिन्छन्। प्रजातन्त्र, समाजवाद र आन्दोलनको ठूला–ठूला कुरा मात्र गर्छन् तर दिमागले सही निर्णय लिन सकिरहेका छैनन्। इतिहास बनाउने हो, रट्ने होइन; इतिहासबाट पाठ सिक्ने हो। तर कांग्रेसीहरू इतिहास मात्र रटिरहेका छन्।

राजतन्त्रमा कांग्रेसका बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण आदि जस्ता नेताहरू व्यवस्था विरोधी भए तापनि उनीहरूको देशभित्र उच्च सम्मान थियो। तर आफैँले ल्याएको गणतन्त्रमा कांग्रेसको सभापतिदेखि नेताहरूको घर जल्यो, सभापतिका दम्पतीमाथि भौतिक आक्रमण भयो। यसको समीक्षा नगरी, पार्टीमा कसरी कब्जा जमाउन सकिन्छ भनेर नियमित अधिवेशन र विशेष अधिवेशनको नाममा भाँडभैलो गरिरहेका छन्। यसले के देखाउँछ भने कांग्रेसीहरू आफू सिद्धिन तयार छन् तर सच्चिन तयार छैनन्।

गलत, गलत नै हुन्छ बहुमतले त्यसलाई सही भने पनि; सही, सही नै हुन्छ बहुमतले गलत भने पनि। त्यसैले गलत निर्णयलाई बहुमतको आधारमा सही बनाउने कोसिस गरियो भने त्यहाँ विद्रोह हुन्छ; जुन कुरा अहिले कांग्रेस पार्टीभित्र हुन गइरहेको छ।

हाम्रा धार्मिक ग्रन्थमा समयलाई राम्रोसँग व्याख्या गरिएको छ। जीवन र जगतमा सबैभन्दा बलवान् समय नै हो। त्यसैले सही समयमा सही नेता वा कार्यकर्ताले सही निर्णय लिन सकेनन् भने कांग्रेसका शुभचिन्तकहरूको लागि ‘राम राम’ भन्नुबाहेक केही बाँकी रहने छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप