बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मादुरोमाथि बाजी राख्नेले कमाए साढे चार लाख डलर मुनाफा

मङ्गलबार, २२ पुस २०८२, ०९ : ४१
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • भेनेजुएलाका राष्ट्रपति मादुरो सत्ताच्युत हुनुअघि एक सट्टेबाजले ठूलो मुनाफा कमाए, जसले अमेरिकी कारबाहीको जानकारी चुहावटको आशंका जन्माएको छ।
  • क्रिप्टो प्लेटफर्ममा मादुरो सत्ताबाट बाहिरिने पक्षमा बाजी लगाउने क्रम बढेपछि एक अज्ञात खाताले लाखौं डलर कमाएको देखिन्छ।
  • अमेरिकी सांसदहरूले यस विषयमा चासो देखाउँदै गोप्य सूचनाको आधारमा सट्टेबाजी गर्न प्रतिबन्ध लगाउने विधेयक पेश गरेका छन्।

वासिङ्टन डिसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएको औपचारिक घोषणा हुनुभन्दा ठीक अघि एक सट्टेबाजले करिब साढे चार लाख डलर मुनाफा कमाएका छन्। यस घटनाले अमेरिकी कारबाहीको भित्री जानकारीका आधारमा कसैले ठुलो आर्थिक लाभ उठाएको त होइन भन्ने गम्भीर प्रश्न उब्जाएको छ।

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो पक्राउ परेको घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्र क्रिप्टो-आधारित ‘पोलिमार्केट’ प्लेटफर्ममा मादुरो जनवरी अन्त्यसम्ममा सत्ता बाहिर हुने पक्षमा बाजी लगाउने क्रम ह्वात्तै बढेको थियो। गत महिना मात्र सो प्लेटफर्ममा आबद्ध भएको एउटा बेनामी खाताले भेनेजुएलाको राजनीतिक भविष्यसँग सम्बन्धित चारवटा विषयमा करिब ३२ हजार डलर दाउ लगाएको थियो। उक्त खाताले केही समयभित्रै ४ लाख ३६ हजार डलरभन्दा बढी आम्दानी गर्‍यो।

ब्लकचेनमा आधारित सो खाता कसले सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट छैन। तथ्यांकअनुसार शुक्रबार दिउँसोसम्म मादुरो बाहिरिने सम्भावना केवल ६.५ प्रतिशत मात्र देखाइएको थियो। तर मध्यरातसम्ममा यो सम्भावना ११ प्रतिशत पुग्यो र शनिबार बिहान ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत जानकारी सार्वजनिक गर्नुअघि नै यो दरमा तीव्र वृद्धि भएको थियो। यसले सूचना सार्वजनिक हुनुअघि नै कतिपय मानिसलाई घटनाबारे जानकारी भएको संकेत गर्छ।

polymarket

वित्तीय सुधारको पक्षमा वकालत गर्ने संस्था ‘बेटर मार्केट्स’ का प्रमुख डेनिस केलेहरले यो सट्टेबाजीमा भित्री सूचना (इन्साइडर ट्रेडिङ) को स्पष्ट लक्षण देखिएको बताएका छन्। यसैगरी अन्य केही प्रयोगकर्ताले पनि सोही समयमा हजारौँ डलर मुनाफा कमाएका छन्।

यो विवाद सतहमा आएपछि अमेरिकी सांसदहरूले समेत चासो देखाएका छन्। न्युयोर्कका डेमोक्र्याट सांसद रिची टोरेसले सरकारी कर्मचारीहरूलाई गोप्य सरकारी सूचनाका आधारमा यस्ता बजारमा सट्टेबाजी गर्न प्रतिबन्ध लगाउने विधेयक पेस गरेका छन्। पछिल्लो समय अमेरिकामा राजनीति र खेलकुदका घटनामा बाजी लगाउने प्रचलन बढेको छ।

विशेष गरी २०२४ को अमेरिकी चुनावमा पोलिमार्केट र काल्सी जस्ता कम्पनीहरूले करोडौँ डलरको कारोबार गरेका थिए। बाइडेन प्रशासनको समयमा यस्ता प्लेटफर्ममाथि नियामक निकायले कडा निगरानी राखेका थिए भने ट्रम्प प्रशासनले यसप्रति नरम नीति लिएको देखिन्छ। 

राष्ट्रपतिका छोरा डोनाल्ड ट्रम्प जुनियर आफैँ यी प्रमुख सट्टेबाजी कम्पनीहरूको सल्लाहकार भूमिकामा छन्। सेयर बजारमा भित्री सूचनाको प्रयोग गरी व्यापार गर्नु गैरकानुनी मानिए पनि सट्टेबाजी बजारमा यस्ता गतिविधि रोक्ने बलियो कानुनको अझै अभाव छ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप