रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को, हर्क साम्पाङ भने उम्मेदवार खोज्दै
विराटनगर । विराटनगरका उद्योगी, व्यवसायी तेजलाल कर्णले आफू मोरङ–४ बाट प्रत्यक्षमा चुनाव लड्ने भन्दै फेसबुकमा प्रचार सुरु गरेका छन् । उनले चुनाव लड्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ हजार शुल्क तिरेर निवेदन पनि दिइसकेका छन् ।
सोही क्षेत्रमा अरु दुई जनाले पनि निवेदन दिएको कर्ण बताउँछन् । २०७९ सालको निर्वाचनबाट उदाएको रास्वपाबाट निर्वाचन लड्नेहरू उत्साहित देखिन्छन् । मोरङका सबै क्षेत्रबाट उम्मेदवारी परिसकेको रास्वपाका मोरङ जिल्ला कोषाध्यक्ष सन्तोष सिंह बताउँछन् ।
उनका अनुसार मोरङको क्षेत्र नम्बर १ र २ बाट ३–३ जना, क्षेत्र नम्बर ३ बाट सुनिलदत्त अधिकारीलगायत ३ जनाले निवेदन दिइसकेको र अरु तीन जना निवेदन दिने प्रक्रियामा रहेको, क्षेत्र नम्बर ४ बाट तेजलाल कर्णसहित ३ जनाले निवेदन दिएको र २ जना प्रक्रियामा रहेको, क्षेत्र नम्बर ५ बाट २ जनाले निवेदन दिएको र ६ नम्बर क्षेत्रबाट यादव प्रधान र गुनानन्द महतो गरी दुई जनाले निवेदन दिएका छन् । ‘निवेदन आउने क्रम जारी छ,’ उनले भने, ‘आकाङ्क्षी उम्मेदवारको संख्या बढ्न सक्छ । निवेदन दिनका लागि अझै दुई दिनको समय छ ।’
रास्वपा कोशी प्रदेश संयोजक सरिन तामाङले ‘प्राइमरी’ निर्वाचनपछि मात्रै उम्मेदवार फाइनल हुने बताए । उनले भने, ‘हाम्रोचाहिँ अब यो पुरानो दलले जस्तै गरेर तिमी यहाँको उम्मेदवार, तिमी फलाना ठाउँको उम्मेदवार भनेर तोक्ने अवस्था छैन । हाम्रोचाहिँ अनलाइन फर्म भरिसकेपछि यदि निर्विरोध एक जनामात्र भयो भने उसले कुनै पनि प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मा भाग लिनु परेन, दुई जना तीन जना भयो भनेचाहिँ प्राइमरीमा भाग लिनैपर्ने पार्टीको कार्यविधि छ ।’
समानुपातिक उम्मेदवारका लागि ५० हजार निवेदनको दर्ता शुल्क तोकेको रास्वपाले प्रत्यक्षका लागि २५ हजार तोकेको छ । ‘हाम्रो समानुपातिकमा दर्ता शुल्क ५० हजार छ, प्रत्यक्षमा २५ हजार छ । यदि कुनै उम्मेदवार सक्षम छन्, उनले समाज र देशलाई योगदान दिएका छन् र उनी राजनीतिमा आउन चाहन्छन् तर पैसा छैन भने पार्टीले नगर तह वा वडा कार्यालयबाट सिफारिस लिएर आएमा दर्ता शुल्क निःशुल्क गर्ने प्रावधान पनि राखेको छ,’ उनले भने ।
पार्टीको हालै भएको त्रिपक्षीय (बालेन–कुलमान–रास्वपा) एकताका कारण केही प्राविधिक काम बाँकी रहेको र ती काम सकिएलगत्तै प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने तामाङले जानकारी दिए । ‘अहिले तीन पक्षको मिलन भएको अवस्थामा केही कार्यगत त्रुटि भएको छ, हामी परीक्षणकालमै भएकाले सिस्टम मिलाउन लागेका छौँ । त्यो सच्याएर आएपछि प्रत्यक्षका सूचनाहरू सार्वजनिक हुन्छन्,’ उनले भने ।
उता, कोशी प्रदेशमा जुर्मुराउँदै गएको धरानका प्रमुख हर्क साम्पाङको श्रम संस्कृति पार्टीले भने उम्मेदवारको खोजी जारी राखेको छ । सो पार्टीका प्रवक्ता सत्य घलेले प्रत्यक्षतर्फका उम्मेदवारहरूको खोजी र छनोटलाई तीव्रता दिएको बताए । ‘म त प्रत्यक्ष उम्मेदवार खोज्दै हिँडेको छु, प्रत्यक्ष भेटघाट गर्दैछु । प्रत्यक्ष उम्मेदवारको लिस्ट आउनेछ, प्रत्यक्षको सूची हामी फटाफट गरिहाल्छौँ अब,’ घलेले भने ।
उनले मोरङ क्षेत्र नम्बर १ मा उम्मेदवार टुङ्गिएको जानकारी दिए । सो क्षेत्रमा शान्ति गुरुङ पाख्रिनको नाम फाइनल गरिएको उनले बताए । ‘टुङ्गिएको चाहिँ मोरङ १ कोमात्रै हो । त्यहाँ शान्ति गुरुङ पाख्रिन हुनुहुन्छ । उहाँको मात्रै फिक्स भएको छ अहिलेसम्म, अरू सबै छलफलकै क्रममा छ,’ घलेले भने ।
श्रम संस्कृति पार्टीले अहिलेसम्म समानुपातिकतर्फको बन्द सूचीसमेत सार्वजनिक गरेको छैन । त्यसबारे सामाजिक सञ्जालमा भने विभिन्न नाम सार्वजनिक भएको भन्दै घलेले त्यो सत्य नभएको बताए । ‘फेसबुकतिर एउटा लिस्ट प्रचार भइरहेको छ, त्योचाहिँ फेक (नक्कली) हो । हाम्रो महासचिवज्यूले हिजो एउटा विज्ञप्ति पनि फाल्नुभएको छ । त्यस्तो त कहाँ हुन्छ र ? क्लस्टर मिलाएर हाल्नुपर्छ, भौगोलिक मिलाउनुपर्छ । त्योविना त निर्वाचन आयोगले लिँदैन,’ उनले भने, ‘निर्वाचन आयोगका अनुसार २८ गतेतिर मात्र आधिकारिक नामावली आउन सक्ने भनेको छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण