तापक्रम खासै घटेको छैन, तर धनगढीबासी महसुस गर्छन् शून्य डिग्रीको चिसो
सारांश
- सुदूरपश्चिम तराईमा बाक्लो हुस्सु र चिसोका कारण जाडो बढेको छ, तर तापक्रम विगतका वर्षको तुलनामा खासै घटेको छैन।
- मौसमविद्का अनुसार, अधिकतम तापक्रम नबढ्नु र घाम नलाग्नुका कारण मानिसहरूले अत्यधिक चिसो महसुस गरिरहेका छन्।
- प्रदूषण र जलवायु परिवर्तनका कारण हुस्सु बढ्नुका साथै न्यूनतम तापक्रम बढ्दै गएको र जाडोको अनुभूति कम नभएको बताइएको छ।
धनगढी । बिहानै उठेर झ्याल बाहिरको दृश्य हेर्दा बाहिर धुम्म देखिन्छ । बाक्लो हुस्सुले नजिकैको घर पनि देखिन मुस्किल पर्छ । दिउँसो पनि घामको दर्शन पाइँदैन । साँझ नपर्दै चिसो सिरेटोले मुटु कमाउँछ । यो सुदूरपश्चिम तराई, खासगरी धनगढी र अत्तरिया क्षेत्रको दुई सातायताको दैनिकी हो ।
चोक–चोकमा बालिएका मुडाको आगोमा वरिपरि झुम्मिएका सर्वसाधारणको मुखबाट एउटै वाक्य सुनिन्छ– ‘यो पालिको जस्तो जाडो त कहिल्यै भएको थिएन ।’ सर्वसाधारणले यति चिसो महसुस गरेको बताइरहँदा यस वर्ष तापक्रमले विगतको रेकर्ड तोडेको हो त ?
हाम्रो शरीरले महसुस गरेको चिसो र मौसम विज्ञान विभागको थर्मामिटरले देखाएको अंकबिच त्यति तालमेल देखिँदैन । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको तथ्याङ्क पल्टाउँदा यो वर्षको चिसो रेकर्ड नै तोड्ने गरी भएको छैन, अघिल्ला वर्षको जाडोयामको जस्तै नै देखिन्छ ।
धनगढी र अत्तरिया क्षेत्रको मौसम मापनका लागि दुईवटा भरपर्दा स्रोत छन् । एउटा अत्तरियामा रहेको म्यानुअल स्टेसन (जुन सन् १९८६ देखि सञ्चालनमा छ) र अर्को धनगढी विमानस्थलमा रहेको स्वचालित मौसम मापन केन्द्र (एडब्लूएस), जुन सन् २०१९ नोभेम्बरबाट सञ्चालनमा छ ।
कार्यालयका प्राविधिक प्रविन खरालका अनुसार अत्तरिया स्टेसनको ऐतिहासिक रेकर्ड हेर्ने हो भने अहिलेसम्मकै सबैभन्दा कम तापक्रम सन् २०१३ जनवरी १० (२०६९ पुस २६/२७ तिर) मा मापन गरिएको थियो । त्यसबेला यहाँको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको थियो । पानी जम्ने बिन्दु नजिक पुगेको त्यो चिसोको तुलनामा अहिलेको तापक्रम निकै माथि छ ।

‘अहिले मानिसहरूले एकदमै चिसो महसुस गरेपनि तथ्याङ्कमा त्यस्तो डरलाग्दो गिरावट छैन,’ खराल भन्छन्, ‘धनगढी विमानस्थलको स्वचालित केन्द्रको रेकर्ड हेर्दा यो वर्षको अहिलेसम्मकै कम तापक्रम पुस १७ गते ४.८ डिग्री सेल्सियस मापन भएको छ ।’
पुस महिनाको दैनिक न्यूनतम तापक्रमको उतारचढावलाई हेर्दा पनि अवस्था स्थिर नै देखिन्छ । पुस १ गते ८.३ डिग्री रहेको न्यूनतम तापक्रम पुस १७ गते ४.८ डिग्रीमा झर्यो । त्यसपछि पुनः बढेर पुस २२ गते (मंगलबार) ९.५ डिग्री सेल्सियस पुगेको छ । यसरी हेर्दा यो सिजनको न्यूनतम तापक्रम औसतमा ५ देखि १२ डिग्री सेल्सियसकै बीचमा घुमिरहेको देखिन्छ, जुन सुदूरपश्चिमको तराईका लागि सामान्य मानिन्छ ।
यदि थर्मामिटरको पारो धेरै तल झरेको छैन भने धनगढीबासीलाई किन यति धेरै जाडो महसुस भइरहेको छ त ? किन ४.८ डिग्रीको चिसो पनि शून्य डिग्री जस्तै अनुभव भइरहेको छ ?
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका मौसम अधिकृत (मौसमविद्) अखिलेश एपी चौरसियाका अनुसार चिसोको मापन न्यूनतम तापक्रमले मात्र निर्धारण गर्दैन । यसमा अधिकतम तापक्रम र घाम लाग्ने अवधिको ठुलो भूमिका हुन्छ ।
‘अहिले न्यूनतम तापक्रम धेरै घटेको छैन, तर अधिकतम तापक्रम बढ्न सकेको छैन,’ मौसमविद् चौरसिया भन्छन्, ‘दिनभरि बाक्लो हुस्सु र कुहिरो लाग्दा घामको किरण पृथ्वीको सतहसम्म आइपुग्दैन । जब अधिकतम तापक्रम र न्यूनतम तापक्रमबिचको अन्तर कम हुन्छ, तब मानव शरीरले अत्यधिक चिसो महसुस गर्छ । यसलाई हामी (वास्तविक अनुभूति) भन्छौं, जुन थर्मामिटरको अंक भन्दा फरक हुन सक्छ ।’
हिउँदमा घाम नलाग्नु र चिसो हावा (सिरेटो) चल्नुले मानिसको छालामा चिसोको प्रभाव बढाउँछ । त्यसैले ०.५ डिग्री पुग्दा घाम लाग्नु भन्दा ५ डिग्री हुँदा दिनभरि हुस्सु लाग्नु बढी कष्टकर हुन्छ । अहिले सुदूरपश्चिम तराईमा भइरहेको यही हो ।
मौसमविद् चौरसियाले सुदूरपश्चिमको तराई क्षेत्रमा लाग्ने बाक्लो कुहिरोको पछाडि भौगोलिक र मानवीय कारणहरू रहेको औंल्याए । भौगोलिक रूपमा यो क्षेत्र ‘इन्डो–ग्यान्जेटिक प्लेन’ (सिन्धु–गंगा समथर मैदान) को हिस्सा हो । भारतको उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएको यो क्षेत्र दक्षिण एसियामै सबैभन्दा बढी कुहिरो लाग्ने क्षेत्रमा पर्छ । यो प्राकृतिक कुहिरो मात्र होइन । यसमा मानवीय क्रियाकलापबाट सिर्जित प्रदूषण पनि मुख्य कारण रहेको चौरसिया बताउँछन् ।

‘कुहिरो र हुस्सु लाग्नका लागि वायुमण्डलमा साना कणहरू चाहिन्छ, जसमा पानीको बाफ टाँसिएर कुहिरो बन्छ,’ उनी भन्छन्, ‘पछिल्लो समय यो क्षेत्रमा वायु प्रदूषण ह्वात्तै बढेको छ ।’
भारतको बाक्लो जनघनत्व भएको क्षेत्रसँग जोडिएको, कृषि कार्य, उद्योग कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ–धुलोले वायुमण्डलमा प्रदूषणका कणहरू बढाएको छ । चिसो मौसममा हावा कम चल्ने हुँदा यी प्रदूषणका कणहरू तल्लो सतहमा थिग्रिएर बस्छन् । यिनै कणहरूले चिसो बाफलाई समातेर राख्दा लामो समयसम्म नहट्ने बाक्लो स्मग (धुवाँ र कुहिरो मिश्रित) बन्छ । यही प्रदुषित कुहिरोको पत्रले ब्ल्यांकेट जस्तै काम गरेर सूर्यको तापलाई जमिनसम्म आउन दिँदैन । जसकारण दिउँसोको समयमा पनि तापक्रम बढ्न पाउँदैन र जाडो लम्बिरहन्छ ।
धेरैले यो अवस्थालाई शीतलहर भन्ने गरेका छन् । तर मौसम विज्ञानको प्राविधिक भाषामा अहिले नै यसलाई पूर्णरूपमा ‘शीतलहर’ घोषणा गर्न मिल्ने अवस्था नरहेको चौरसिया बताउँछन् । ‘शीतलहर हुनका लागि तापक्रमको गिरावट र हावाको गति लगायतका निश्चित मापदण्ड पूरा हुनुपर्छ,’ उनी भन्छन्, ‘अहिलेको अवस्था भनेको बाक्लो हुस्सु र कुहिरोको कारणले सिर्जित चिसो हो । यद्यपि, निरन्तर घाम नलाग्दा यसको असर शीतलहर जस्तै कष्टकर भने पक्कै छ ।’
अत्तरियाको तथ्याङ्कले अर्को एउटा रोचक संकेत पनि गरेको छ । सन् २०१३ मा ०.५ डिग्रीसम्म झरेको न्यूनतम तापक्रम पछिल्ला वर्षहरूमा त्यति तल झरेको देखिँदैन । मौसमविद् चौरसियाका अनुसार यसले कतै न कतै न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको संकेत गर्छ ।
‘विश्वव्यापी रूपमै जलवायु परिवर्तनको असर स्वरूप न्यूनतम तापक्रम बढिरहेको छ,’ उनी भन्छन्, ‘सँगै प्रदूषणका कारण घाम नलाग्ने दिनहरू पनि बढिरहेका छन् । यसले गर्दा तथ्याङ्कमा तापक्रम बढेको देखिएपनि, व्यवहारमा जाडोको अनुभूति कम भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण