तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो
मुस्ताङ । मुस्ताङस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दशवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताए । भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरलानाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ ।
यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो सङ्ख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भइसकेको छ । कोरलानाकाबाट हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको र नेपालबाट रु १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।
सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरलानाकाबाट दुई हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरलानाकाबाट नेपाल भित्र्याएको छ । कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो ।
प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात–निर्यात कारोबार शून्य नहुने दाबी गरे । उनले भने “रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात–निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरलानाकाबाटै आयातनिर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।”
यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेँसी झरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण